crimenews
||Rajyadainik||

आजको समाचार

युरोप पठाउने भन्दै अवैध रुपमा पैसा उठाउने मुनलाइट म्यानपावर सिल

अपराध


काठमाडौँ — मंसिर १०, २०७७। 

वैदेशिक रोजगार विभागले ललितपुरस्थित म्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा सिलबन्दी गरेको छ । उक्त म्यानपावरले विभागबाट स्वीकृतिबिना युरोपलगायतका विभिन्न मुलुक पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा असुलेको विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अवैध रुपमा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाइरहेको भन्ने सूचना पाएपछि विभागको टोली कात्तिक ४ गते आकस्मिक अनुगमनमा गएको थियो । अनुगमनमा जाँदा कार्यालय बन्द रहेको र सञ्चालकलाई बारम्बार सम्पर्क गर्दा पनि विभागमा उपस्थित नभएकाले मंगलबार मुनलाइट म्यानपावरको कार्यालय सिल गरिएको विभागले बताएको छ ।

साथै वैदेशिक रोजगारीमा जान भनी रकम बुझाएका व्यक्तिलाई १५ दिनभित्र विभाग वा श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पनि आग्रह गरिएको छ ।

विभागले मुनलाइट म्यानपावरको सम्पूर्ण कारोबार रोक्का गरिएको र अर्को सूचना प्रकाशित नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानका लागि पैसा र राहदानी नबुझाउनसमेत विभागले आग्रह गरेको छ ।

(कान्तिपुर दैनिक)

भ्रष्टाचार बढेको बताउनेमा नेपालीहरू अगाडि : सर्वेक्षण

अपराध


ट्रान्स्परेन्सी इन्टरनेसनलले एसियाली १७ मुलुकमा गरेको सर्वेक्षणका सहभागीमध्ये ५८ प्रतिशत नेपालीले देशमा भ्रष्टाचार बढेको जनाएका छन् ।  

काठमाडौँ — मंसिर १०, २०७७। 

आफ्नो मुलुकमा भ्रष्टाचार बढेको बताउनेमा नेपालीहरू अग्रपंक्तिमा देखिएका छन् । ‘ट्रान्सपरेन्सी इन्टरनेसनल’ले सार्वजनिक गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर’ प्रतिवेदनले यस्तो औंल्याएको हो ।

उक्त संस्थाले सन् २०२० का लागि एसियाका १७ देशमाथि सर्वेक्षण गरेको थियो । सर्वेक्षणका सहभागीलाई ‘तपाईंलाई पछिल्लो एक वर्षमा मुलुकमा भ्रष्टाचारको स्थिति कस्तो छ भन्ने लाग्छ ?’ भनी सोधिएको थियो । सहभागीमध्ये ५८ प्रतिशत नेपालीले पछिल्लो एक वर्षमा भ्रष्टाचार बढ्दो क्रममा रहेको जवाफ दिएका छन् । जुन उक्त प्रश्नमा यस्तै जवाफ दिने अन्य मुलुकका सहभागीको तुलनामा सबैभन्दा बढी हो ।

सर्वेक्षणको नतिजाअनुसार थाइल्यान्ड, माल्दिभ्स र श्रीलंकामा पनि भ्रष्टाचार बढेको भनी ती मुलुकका नागरिकले चिन्ता जनाएका छन् । भारतमा यो दर ४७ प्रतिशत मात्रै छ । सबैभन्दा कम कम्बोडियामा १२ प्रतिशतले मुलुकमा भ्रष्टाचार बढ्दो रहेको उल्लेख गरेका छन् । १७ मुलुकका औसतमा ३८ प्रतिशत नागरिकले भ्रष्टाचार बढेको महसुस गरे पनि नेपालमा यो दर सबैभन्दा बढी देखिएको हो ।

नेपालमा खास गरी सार्वजनिक खरिदमा हुने भ्रष्टाचारलाई समस्याका रूपमा औंल्याइएको छ । सहभागीले राजनीतिज्ञ र प्रशासकहरूको संलग्नतामै यस्तो भ्रष्टाचार फैलँदो क्रममा रहेको जनाएका छन् । प्रतिवेदनअनुसार सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचार अर्को समस्या हो । नेपालीहरूले संघीयदेखि स्थानीय सरकारसम्मै भ्रष्टाचार रहेको प्रतिक्रिया दिएका छन् । सार्वजनिक जग्गाको दोहन, मन्त्रिपरिषद्मै विवादास्पद व्यक्तिहरूको सहभागितालाई समस्याका रूपमा औंल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भ्रष्टाचार नियन्त्रणका भाषण गरे पनि व्यवहारमा त्यो नदेखिएको प्रतिवेदनमा उल्लेख छ । अख्तियारमाथि ठूला भ्रष्टाचारका उजुरीमा छानबिन गर्न र मुद्दा चलाउन नसकेको आरोप छ । अभियन्ता गोविन्द केसी र इनफ इज इनफ अभियानको उदाहरण दिँदै प्रतिवेदनमा भ्रष्टाचारविरुद्धको अभियानलाई सरकारले नै सम्बोधन नगरेको जनाइएको छ ।

सर्वेक्षणका सहभागी नेपालीमध्ये ८४ प्रतिशतले सरकार नै भ्रष्ट रहेको ठानेका छन् । १७ मुलुकमध्ये यो दर पनि सबैभन्दा बढी हो । उनीहरूका अनुसार नेपालमा सरकारमा हुने भ्रष्टाचार नै मुख्य समस्या हो । सहभागी नेपालीमध्ये १२ प्रतिशतले पछिल्लो एक वर्षमा कुनै न कुनै काममा घुस बुझाएको जनाएका छन् । भारतमा यो दर ३९ प्रतिशत छ ।

सहभागी नेपालीमध्ये २८ प्रतिशतले प्रहरीमा र २४ प्रतिशतले न्यायालयमा पनि भ्रष्टाचार व्यापक रहेको उल्लेख गरेका छन् । नातावाद र प्रभाव चल्ने निकायमा पनि सुरक्षा निकाय र अदालत अग्रपंक्तिमा छन् । प्रतिवेदनअनुसार नेपालका सहभागीमध्ये २९ प्रतिशतले सरकारी काम लिँदा नातावाद र पहुँचलाई प्रयोग गरेको जनाएका छन् ।

एसियाली मुलुकहरूको मूल्यांकन गर्दै ट्रान्स्परेन्सीले सरकारमा संलग्नबाटै हुने भ्रष्टाचारलाई मुलुकको प्रमुख समस्याका रूपमा औंल्याएको छ । करिब ७४ प्रतिशत सहभागी उनीहरूका मुलुकमा सरकार भ्रष्टाचारको प्रमुख कारक हो भन्ने ठान्छन् । उनीहरूमध्ये एक तिहाइले सांसदलाई पनि भ्रष्ट मानेका छन् । प्रतिवेदनअनुसार यस्ता मुलुकमा राजनीतिक नैतिकताको अभाव छ । निर्वाचनका दौरान त्यो समस्या अझै ह्वात्तै बढ्न पुग्छ ।

ट्रान्सपरेन्सीले नागरिकको सशक्तीकरण, सूचनाको हकको प्रयोग, राजनीतिक लोकतान्त्रिक प्रक्रियामा नैतिकताको प्रयोग, घुस र नातावाद नियन्त्रणबाट भ्रष्टाचार नियन्त्रण गर्न सकिने सुझाएको छ । सर्वेक्षणमा १७ मुलुकका २० हजार जना नागरिक सहभागी थिए । नेपालबाट एक हजार जना सहभागी भएको प्रतिवेदनमा उल्लेख छ ।

(कान्तिपुर दैनिक)

बालिकाको हत्या : प्रदर्शन रोक्न बर्दिबासमा निषेधाज्ञा

अपराध


काठमाडौँ — मंसिर १०, २०७७। 

बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको हो ।

पूर्वमा बर्दिवास नगरपालिका–१ रातुखोला, पश्चिममा वडा नम्बर ५ माईस्थान, उत्तरमा वडा नं ३ पाटुचोक र दक्षिणमा वडा नं ८ क्वाटर चोकलाई चार किल्ला कायम गरी निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा जारी निषेधाज्ञामा आदेश पालना नगर्नेलाई कारबाही गरिने उल्लेख छ ।निषेधाज्ञा भए पनि पूर्व–पश्चिम राजमार्गमा भने गाडी चल्न दिइने प्रशासनले जनाएको छ ।

मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृत्यु भएको हो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै न्यौपानेको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बासिन्दा बिस्नु बम्जनले जानकारी दिए । बालिकाको हत्या गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।

(कान्तिपुर दैनिक)

कोरोनाको नाममा ब्रम्हलुट

अपराध


जनकपुरधाम— मंसिर १०, २०७७। 

कोरोनाले नियन्त्रणका नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गर्न थालेका छन् । यसको पछिल्लो उदाहरण बनेका छन्, सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरपालिका । यी दुई नगरपालिकाकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा व्यापक अनियमितता पाइएको हो ।

बोदेबरसाइन नगरपालिकाले सार्वजनिक गरेको कोरोना संक्रमण नियन्त्रण खर्च विवरणअनुसार लाइफबोय साबुनको प्रतिगोटा मूल्य तीन हजार उल्लेख गरेको छ । यस नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनका नाममा खरिद गरिएका सामग्रीको मूल्य बढाएर खर्च उल्लेख गरेको पाइएको छ ।

गत्त बुद्यबार यस नगरपालिकाले कुल दुई करोड २१ लाख रुपैयाँको कोरोना संक्रमण नियन्त्रण खर्च विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । ९५ पिस लाइफबोय साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । यो खर्च विवरणमाथि सर्वसाधारणले अलोचना गरेपछि नगरप्रमुख आतेशकुमार सिंह यादवले प्रस्टीकरण दिँदै ९५ थान होइन, ९५ कार्टुन साबुनको विवरण हुनुपर्नेमा प्रिन्ट मिस्टेक भएको बताए ।

यादवकै भनाइ मान्ने हो भने पनि एक कार्टुनमा एक सय ४४ थान साबुन हुन्छ । नगरपालिकाले ९५ कार्टुन साबुन किनेको हो भने एक थान साबुनको २६ रुपैयाँ तिरेको छ । तर, नगरपालिकाले चैत २६ पुनः १० कार्टुन ९१,४४० थान० साबुन किन्दा चार लाख ३१ हजार नौ सय ५५ रुपैयाँ भुक्तान गरेको विवरण प्रस्तुत गरेको छ । यो हिसाबले नगरपालिकाले एक थान साबुनमा दुई सय ९९ रुपैयाँ भुक्तान गरेको विवरण तयार पारेको छ ।

नगरपालिकाले चैत ३१ गते ६ हजार नौ सय १२ थान साबुन खरिद गर्दा दुई लाख ३८ हजार ६ रुपैयाँको बिल बनाएको छ । यो हिसाबले भने एक थान साबुनको २९ रुपैयाँ पर्न जान्छ । अनियमितता लुकाउन गोलमाल हिसाब सार्वजनिक गर्ने बोदेबरसाईन नगरपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको अनुसन्धानमा परेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोली यस नगरपालिकामा छापा मारेर कोरोना नियन्त्रणको नाममा भएको अनियमित खर्चको कागजात जफत गरेर लगेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

बर्दिबास प्रदर्शनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

अपराध


महोत्तरी — मंसिर १०, २०७७। 

बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृत्यु भएको हो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

उनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बासिन्दा बिस्नु बम्जनले जानकारी दिए ।

बालिकाको हत्या गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।

(कान्तिपुर दैनिक)

बालिका हत्या प्रकरण : प्रहरीले बल प्रयोग गरेर खुलायो राजमार्ग

अपराध


काठमाडौँ — मंसिर ९, २०७७। 

महोत्तरीको बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै भएको तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिएर प्रहरीले राजमार्ग खुलाएको छ ।

लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको थियो ।

प्रहरीको गोली लागि बर्दिवास–१ का ४५ वर्षीय सञ्जय न्यौपाने गम्भीर घाइते भएका छन् । उनलाई प्रहरीले चलाएको २ राउण्ड गोली लागेको छ ।

उनको बर्दिवासस्थित पिनाकल अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडाैं लैजाने तयारी भइरहेको बर्दिवास नगरपालिका-१ का अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए ।

(कान्तिपुर दैनिक)

बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन, प्रहरीको गोलीले एक घाइते

अपराध


महोत्तरी — मंसिर ९, २०७७। 

बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले मंगलबार शव सडकमा राखेर राजमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।

स्थानीय सञ्जय न्यौपाने गोली लागेर घाइते भएका हुन् । बर्दिवास–१४ का सहिद अन्सारीकी ६ वर्षीया छोरी गुलबसा खातुनको मंगलबार बिहान बोरामा राखेर फालिएको शव फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको आफन्तले बताएका छन् ।

बालिकाको हत्या गरेको आशंकामा प्रहरीले गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । साहले बालिकाको हत्या गरेको स्विकारिसकेको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईंले बताए ।

प्रदर्शनकारीले दोषीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका छन् । प्रदर्शनकै कारण पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्गको उक्त खण्डमा बिहानैदेखि सवारी अवरुद्ध छ । टायर बालेर नाराबाजी गरिरहेका स्थानीयले पक्राउ परेका साहको घरमा आगजनीसमेत गरेका छन् ।

प्रदर्शन नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले २२ सेल अश्रुग्याससमेत प्रहार गरेको छ । अहिले सडकमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

(कान्तिपुर दैनिक)

हराएकी ६ वर्षीया बालिका मृत फेला

अपराध


हत्याको आशंकामा एक जना पक्राउ

महोत्तरी —मंसिर ९, २०७७। 
 
महोत्तरीमा आइतबार साँझ हराएकी बालिकाको शव फेला परेको छ । बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागाईंले बताए ।

प्रहरीले शव परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाईंले बताए ।

(कान्तिपुर दैनिक)

बलात्कारका घटना मिलापत्र गराए तीन वर्ष कैद

अपराध


काठमाडौँ — मंसिर ८, २०७७। 

जबर्जस्ती करणीका कसुर मिलापत्र गराएमा अब तीन वर्षसम्म कैद हुने भएको छ । कसुरदारलाई ३० हजार रुपियाँसम्म जरिवाना पनि हुनेछ । पछिल्लो समय जनप्रतिनिधिकै संलग्नतामा बलात्कारका घटना मिलापत्र गराइएको पाइएपछि सरकारले सो व्यवस्थालाई कसुर परिभाषित गर्दै कैद र जरिवानाको व्यवस्था गरेको हो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मौजुदा तीन ऐन संशोधन गर्न यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको अध्यादेश सिफारिस गरेको छ । यसअघि बलात्कारका घटना मिलापत्रको हकमा कुनै पनि कानुनी व्यवस्था थिएन । अध्यादेश आइतबार नै राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले तत्काल कानुन पुनरवलोकन गरेर हिंसा पीडितलाई शीघ्र न्यायको आवश्यक रहेकाले अध्यादेश ल्याउनुपरेको बताईन् । उनले भनिन्, ‘‘कानुन समय अनुसार सुधार गर्दै लाने नै उद्देश्य हुन्छ । तत्काल पीडित पक्षको मागलाई सम्बोधन गर्नुपर्छ भनेर हामीले अध्यादेश सिफारिस गरेका हौँ ।’’

पछिल्लो समय जनप्रतिनिधिकै संलग्नतामा मिलापत्र गराइएको आरोप लाग्ने गरेको थियो । अध्यादेशले सार्वजनिक पद धारण गरेको व्यक्तिले मिलापत्र गराएको अवस्थामा थप ६ महिना कैद सजायको व्यवस्था गरेको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई साढे तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ ।

मिलापत्रका लागि आर्थिक लेनदेन गरेर वा नगरी दबाब दिने, प्रभावमा पार्ने, उजुरी लगायतका प्रक्रिया अवरुद्ध गर्ने कार्यलाई कसुरका रूपमा विधेयकले परिभाषित गरेको छ ।

अध्यादेशले उमेर समूह अनुसार हुने सजायको व्यवस्था बढाएको छ । १४ वर्षदेखि १६ वर्ष उमेर समूहका व्यक्तिविरुद्ध हुने बलात्कारका घटनामा कसुरदारलाई अब १२ वर्षदेखि १६ वर्षसम्म कैद हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।

पक्राउ परेकालाई छुटाउन गाउँलेले भत्काए निकुञ्जको गेट

अपराध


नवलपरासी — मंसिर ७, २०७७।

माछा मर्न गएका ३२ जनालाई निकुञ्जले पक्राउ गरेको भन्दै चितवन निकुञ्ज पश्चिम सेक्टर कार्यालय अमलटारी घेर्न गएका स्थानीयले कार्यालयकाे गेट भत्काएर उनीहरूलाई छुटाएका छन् ।

शनिबार राति नारायणीमा माछा मार्न गएका अमलटारी गाउँका स्थानीयलाई निकुञ्जले मध्यरातमा घरघर गएर पक्राउ गरेको थियो । कावासोती नगरपालिका–१५ अमलटारी गाउँका स्थानीयलाई निकुञ्जले पक्राउ गरेको हो । पक्राउ परेका स्थानीय गुन्द्रही ढकाहा मध्यवर्ती क्षेत्रका बासिन्दा हुन् ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान गर्न र कारबाही गर्न कसरा पठाउने भएपछि यहाँका बोटे माझीले निकुञ्ज कार्यालय घेराउ गरेर उनीहरुलाई बाहिर निकालेका हुन् ।

कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले माछा मार्न गएका गाउँलेलाई तस्करको आरोप लगाएर पक्राउ गरेको विरोधमा स्थानीयहरुले निकुञ्ज कार्यालय घेराउ गरेर सबैलाई मुक्त गरेको जानकारी दिए ।

‘उनीहरुको जिविकोपार्जन भनेकै माछा मार्ने हो ।’, मर्दनियाले भने । जरिवाना गरेर छोडिदिन निकुञ्ज कार्यालयलाई आग्रह गर्दा नमानेपछि गाउँलले कार्यालय गएर सबैलाई छुटाएर लगेको जानकारी दिए ।

निकुन्ज कार्यालय पश्चिम सेक्टर कार्यालयले उनीहरुलाई निकुन्जभित्रैबाट पक्राउ गरिएको जानकारी दियो । माछा मार्ने बहानामा निकुञ्जभित्र प्रवेश गरेका र त्यहीँ रात बिताएको अवस्थामा उनीहरुलाई गस्ती टोलीले पक्राउ गरेको निकुञ्ज कार्यालयको भनाइ छ ।

पक्राउ परेका स्थानीय छुटाउन अमलटारीका गाउँलेले कार्यालयको गेट फोरेर सबैलाई निकालेर आइतबार बिहान घरघर पठाएका छन् ।

(कान्तिपुर दैनिक)