काठमाडौं आइपुग्यो टोयोटा ‘कोरोला क्रस’, ५ दिनपछि बिक्री सुरु हुने
News Desk
Sep-26 , 2020 तारिख 12:45 बेलुका

काठमाडौं । टोयोटाले नयाँ एसयूभी अक्टोबर १ तारिख अर्थात् असोज १५ गते बिहिबारबाट नेपालमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले ५ दिनपछि ‘कोरोला क्रस’ एसयूभीको बिक्री सुरु गर्न लागेको हो ।

यूनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ एसयूभी कोरोला क्रस चाडपर्वको अवशर पारेर नेपाली बजारमा बिक्री सुरु गर्न लागेको हो । आज शुक्रबार नै कोरोला क्रस काठमाडौं आइपुगेको हो । पछिल्ला दिनमा विश्व बजारमा कोरोला क्रसले निकै राम्रो सफलता पाइरहेको छ ।

कम्पनीले यसअघि नै बुकिङ लिइरहेको कोरोला क्रसको सुरुवाति भेरियन्टको मूल्य १ करोड १२ लाख र टप भेरियन्टको मूल्य १ करोड ३३ लाख रुपैयाँ तोकिएको छ । कोरोला क्रस दुई भेरियन्टमा नेपाल आएको हो ।

कोरोला सेडानको प्ल्याटफर्ममा तयार भएको यो क्रसओभरलाई टोयोटाले आफ्नो चर्चित प्ल्याटफर्म टिएनजीएमा तयार गरेको हो । टोयोटा क्रसको लम्बाई ४४६० एमएम रहेको छ भने, चौडाई १८२५ एमएम र उचाई १६२० एमएम रहेको छ । यो टोयोटा र्‍याभ फोरभन्दा थोरै छोटो रहेको छ ।

यसको क्याविन निकै आकर्षक रहेको छ भने र्‍याभ फोरको जस्तै आकर्षक इन्टेरियर, ड्यास बोर्डमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टमसहितको उत्कृष्ट इन्टेरियरले जो कोहीलाई लोभ्याउँछ ।

सार्प हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, व्ल्याक ग्रिल र बम्पर, साइड स्कृट र ह्वील आर्कले गाडीलाई निकै स्पोर्टी देखाएको छ ।

कम्पनीले अन्तर्राष्ट्रि बजारमा यसलाई हाइब्रिड इन्जिनमा बिक्री गर्दै आएको छ । तर, नेपाल ल्याइएको कोरोला क्रसमा कुन इन्जिन दिइएको छ भन्ने विषय कम्पनीले खुलाएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोल हाइब्रिड इन्जिनमा यो मोडल उपलब्ध रहेको छ । यसमा रहेको १.८ लिटर २ जेड एफबीई इन्जिनले १४० हर्सपावर र १७५ एनएम टर्क प्रदान गर्छ ।

साथै, यसमा रहेको हाइब्रिड इन्जिनले ९८ हर्सपावर प्रदान गर्छ । हाइब्रिड इन्जिनमा ईसिभिटी गियरबक्स उपलब्ध रहेको छ ।