नेपालीहरु नुन धेरै खान्छन् : अध्ययन
News Desk
Oct-01 , 2020 तारिख 12:47 बेलुका

काठमाडौँ — आश्विन १५, २०७७। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले एक सर्वेक्षण सार्वजनिक गर्दे नेपालीहरुले नुन बढी खाने गरेको देखाएकाे छ ।
सर्वेक्षणले नुन सेवनमा खाना खानुअघि वा खाइरहँदा खानामा नुन वा थपेर खाने बानी ९.२ प्रतिशतमा पाइएको देखाएको छ । त्यसैगरी औसत नुन सेवन प्रतिदिन(ग्राममा) ९.१ प्रतिशतले खाने गरेको सर्वेक्षण देखाउँछ ।

नुन बढी मात्रामा हालिएको तयारी खानेकुरा(जंक फुड) सधैँ वा प्रायजसो खानेको प्रतिशत १९.५ प्रतिशत रहेको छ ।

परिषदले फेब्रुअरीदेखि मे २०१९ सम्म गरेको नेपाल स्टेप्स सर्वेक्षण, २०१९ को नतिजा सार्वजनिकरण गरेको छ ।

जनसांख्यिक र बानीबेहाेरा सम्बन्धी( सूर्तिजन्य पदार्थ , मदिरा, आहार, शारीरिक क्रियाकलाप) लगायतका नेपालमा नसर्ने रोग सम्बन्धी जोखिम तत्त्वको सर्वेक्षण गरिएको हो । यो सर्वेक्षण १५–६९ वर्ष उमेर समूहका वयस्कहरुको जनसंख्यामा आधारित रहेको परिषदको अध्ययनमा उल्लेख छ । यस सर्वेक्षणमा ५ हजार ५९३ जना वयस्कहरु सहभागी थिए ।

के के छ अध्ययनमा?
सर्वेक्षणले १५–६९ वर्ष उमेरका मानिसहरुमा सुर्तिजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेको देखाएको छ । १७.१ प्रतिशतले भने धुमपान गर्छन् । नेपालमा बढी देखिने प्रमुख क्यान्सरको रुपमा रहेको पाठेघरको मुखको क्यान्सर परीक्षण ८.२ महिलाले मात्र परीक्षण गराउने देखिएको छ । पाठेघर परीक्षणको नतिजाका आएपछि स्वास्थ्य उपचार लिने महिला ६३.५ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।

त्यसैगरी मुख स्वास्थ्यको कुरा गर्दा दिनमा एक पटक वा सो भन्दा बढी दाँत सफा गर्ने ८९.९ प्रतिशत रहेका छन् । अध्ययनमा ९० प्रतिशत पुरुष र ८९.९ प्रतिशत महिलाले दाँत माझ्ने गरेको बताउँछ ।

मानसिक सर्वेक्षणको कुरा गर्दा काम तथा व्यवसाय सम्बन्धी तनाव हुनेको प्रतिशत ६१.५ प्रतिशत रहेको छ भने केही वा धेरै मात्रामा घरमा हुने समान्य तनाव ६२.३ प्रतिशत मानिसमा हुने गरेको पाइएको छ ।

त्यसैगरी २४.५ प्रतिशतमा रक्तचाप उच्च देखिएको छ जसमा २९.८ प्रतिशत पुरुष रहेका छन् भने १९.७ प्रतिशत महिला रहेका छन् । अधिक वजन र मोटोपन हुनेको प्रतिशत २४.३ प्रतिशत रहेको जसमा २३.४ प्रतिशत पुरुष रहेका छन् भने २५.१ प्रतिशत महिला रहेका छन् ।

(कान्तिपुर दैनिक)