शिव र ब्रह्मा आए पनि तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन सकिन्‍न : मन्त्री भुसाल



काठमाडौँ — आश्विन ३०, २०७७। 

कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा 'भगवान शिव र ब्रम्हा' आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताएका छन् ।

४० औँ विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ५ लाख मेट्रिक टन मल अहिलेको व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका छन् । भुसालले तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन 'भगवान शिव वा ब्रम्हा आए पनि नसक्ने' टिप्पणी गरेका हुन् ।

कलकत्ताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए । उनले भने, 'अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने हामीले ल्याउन खोजेको ५ लाख मेट्रिक टन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रम्हाजी आए भने पनि सक्दैनन् । कलकत्ताकै पोस्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टन ल्याउन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ । जो दिनदिनै आउनेछ ।’

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको बताए । अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनले बताए । कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको बताए ।

किसानले मल नपाएर कोरोना भाइरसको संक्रमण फैलिइरहेको बेलामा लामो लाइन लाग्नुपरेको थियो । जहाँ केही किलो मात्र मल प्राप्त भएको थियो । त्यस्तो बेलामा सरकारले बंगलादेशबाट मल ऋण माग्ने प्रक्रिया अगाडि बढाएको थियो । तर, अहिले विभागीय मन्त्रीको यो अभिव्यक्ति आएको हो ।

कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर 'इन्पुट' (योगदान)मा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए । तर त्यसमा पनि धेरै काम गर्न नसकेको उनले स्वीकार गरेका छन् । किसानलाई बैंकको ब्याजदरमा अनुदान दिने बाहेक केही गर्न नसकेको उनको भनाइ छ ।

(कान्तिपुर दैनिक)