सबैले दुई छाक खान पाउनुपर्छ भनेर यस्तो अभियान चलाएको हुँ’- समाजसेवी ताराबहादुर कुँवर
News Desk
Oct-17 , 2020 तारिख 03:57 बेलुका

सबैले दुई छाक खान पाउनुपर्छ भनेर यस्तो अभियान चलाएको हुँ’-   समाजसेवी ताराबहादुर कुँवर 
काठमाडौं । वाफल काठमाडौंका समाजसेवी ताराबहादुर कुँवरले शनिबार २४ औं चरणको राहत वितरण गरेका छन् । उनले अहिलेसम्म १५ सय जनालाई राहत बाँडेका छन् ।
बडादशैं, शुभ दिपावली , नेपाल सम्वत, छठसहित अन्य पर्वको शुभकामना दिँदै राहत पनि वितरण गरिएको कुँवरले जनाए । उनले अझै पनि मानिसलाई दैनिकी चलाउन समस्या भइरहेकाले केही सहयोग गरिएको स्पष्ट पारेका छन् । उनले अप्ठ्यारो परेका सबैलाई आउन समेत सार्वजनिक रुपमै सामाजिक सञ्जालमार्फत आव्हान गरेका छन् । उनले कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेदेखि नै हरेक साता राहत वितरण गर्दै आएका छन् । उनले अघिल्लो शनिबार पनि नौमती बाजा बजाउनेसहित ५० जनालाई राहतस्वरुप चामल, दाल, नुन, तेललगायतका सामग्री वितरण गरेका थिए । उनी कहिल्यै पनि अरुको दुःख हेर्न नसक्ने बताउँछन् । ‘राहत वितरण गर्न पाए स्वर्गमै पुगेजस्तो लाग्छ’ उनले भने ‘ मानिसको मन हो, मन भएपछि सबै कुरा भगवानले जुराउँछन्, कहिलेकाहीँ त मलाई समाजसेवा गर्न नै पठाएजस्तो लाग्छ ।’
शनिबारको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका मकवानपुरका नेता जयराम लामिछाने प्रमुख अतिथिका रुपमा थिए । कुँवरलेले राहत वितरणसँगै रक्तदान अभियान पनि चलाएका छन् । पाँच पटकमा गरी १ सय ६३ जनाले रक्तदान गरेका छन् । उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायीका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका पनि सञ्चालक हुन् । 
कुँवरले अप्ठेरो अवस्थामा परेकालाई अझै पनि सहयोग गर्ने जनाएका छन् । ‘कोरोनाको त्रासले सबै पेशा व्यवसाय संकटमा परेको छ, मेरो पनि व्यवसाय बन्दजस्तै छ तर पनि सबैले दुई छाक खान पाउनुपर्छ भनेर यस्तो अभियान चलाएको हुँ’ उनले भने ‘सुरुका दिनमा आफैं खर्च गरें तर पछिल्ला दिनमा भने केही व्यक्ति र संघसंस्थाले पनि सहयोग गरेका छन्, सहयोगी सबैलाई र अभियानमा जोडिनेलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’