फौजीको दसैं : बिदा न जोखिम भत्ता
News Desk
Oct-18 , 2020 तारिख 12:31 बेलुका

विगतका दसैं/तिहारमा काममा असर नपुग्ने गरी फौजीले आलोपालो बिदा पाउँथे तर यसपटक समय र परिस्थिति बदलिएको छ ।
संक्रमणको जोखिम रहने भएकाले यसपटक तीनवटै सुरक्षा निकायले ब्यारेकमा कार्यरत सबैलाई घरबिदा जान रोक लगाएका छन् ।

काठमाडौं —  कार्तिक २, २०७७।

किन आउँछ दसैं/तिहार
किन बिदा बार
फौजीलाई कुन हो दसैं
कुन हो चाड तिहार ?

सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी निरीक्षक दीपक कोइरालाको शब्द, अर्का डीएसपी गैरे सुरेशको संगीत र जगदीश समालको स्वर रहेको यो गीत दसैंको छेकोमा सशस्त्र प्रहरी बल श्रव्यदृश्य शाखाले एक दशकअघि उत्पादन गरेको थियो । ब्यारेकमा दसैं मनाउने फौजीका लागि गीत रेकर्डिङ गरिएको थियो तर गीतको उचाइ सशस्त्रका ब्यारेकमा मात्र सीमित रहेन ।

देश/विदेशमा रहेका नेपाली सबैले गीत उत्तिकै मन पराइदिए । चाडपर्वमा घर जान नपाएका फौजीको मर्म पनि यस गीतमा झल्किन्छ । खासगरी सशस्त्रसहित सेना र प्रहरीले बर्सेनि आलोपालो मिलाएर आफ्ना अधिकृत तथा जवानलाई दसैं/तिहारमा बिदा छोड्ने गर्थे । बिदा जान नपाएका फौजलाई कार्यालय प्रमुखले नै टीका लगाएर दसैं मान्ने चलन थियो । गीतमा पनि पर्वमा समेत घरपरिवार र आफन्तलाई भेट्न नपाएका फौजीलाई देश र जनताको सेवामा केन्द्रित हुनुपर्ने उल्लेख गरिएको छ । सशस्त्र प्रहरीले त यो गीत हरेक वर्षको दसैंमा ब्यारेकमा आयोजना हुने ‘बडा भोज’ मा अनिवार्य बजाउँछ ।

विगतका दसैं/तिहारमा काममा असर नपुग्ने गरी फौजीले आलोपालो बिदा पाउँथे तर यसपटक समय र परिस्थिति दुवै बदलिएको छ । विश्वव्यापी कोरोना महामारीको असर के सुरक्षा निकाय, के अरू सरकारी कार्यालय, के ठूला, के वृद्ध/बालक, सबै उमेर समूहका मानिस आक्रान्त छन् । बिनासावधानी घरबाहिर निस्कने अवस्था छैन । महामारीबीच नेपालीको प्रमुख चाड दसैं शनिबारबाट प्रवेश गरेको छ । परदेसिएकाहरू दसैं मनाउन महामारीकै बीच जन्मथलो फर्कन थालिसकेका छन् । प्रहरीको तथ्यांकअनुसार राजधानीबाट मात्रै हिजोआज दैनिक १५ देखि २० हजार जना बाहिरिने गरेका छन् । सरकारी कार्यालय दसैं बिदाका मुखमा छन् ।

महामारीकै बीच पनि परदेसिएका आफन्त घर फर्कने बाटो बनेको छ दसैं/तिहार । फौजीका लागि भने यो सुविधा छैन । यसपटक तीनवटै सुरक्षा निकायले ब्यारेकमा कार्यरत सबैलाई पनि घरबिदा जान रोक लगाएका छन् ।

महामारी नियन्त्रण र नियमित शान्तिसुरक्षा व्यवस्थापन गर्न भन्दै २०७६ चैत ११ बाटै सुरक्षा निकायमा अत्यावश्यक (काजकिरिया, सुत्केरी र बिरामी) बाहेक कसैलाई पनि घर जान रोक लगाइएको छ ।

तीनवटै सुरक्षा निकायका १० हजारभन्दा बढी सुरक्षाकर्मीमा संक्रमण देखिइसकेको छ । त्यसमध्ये ३ हजारभन्दा बढी अहिले पनि उपचाररत छन् । पर्वका बेला बिदा छोड्दा संक्रमणको जोखिममा ब्यारेकदेखि फौजीका घरसमेत पर्ने भएकाले यस पटक कडाइ गरिएका तीनवटै सुरक्षा निकायका अधिकारी बताउँछन् ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालले चाडपर्वमा अत्यावश्यकबाहेक कसैलाई पनि बिदा नछाड्न मातहत युनिटहरूमा निर्देशन दिइएको बताए । उनले दसैंको टीकाका दिन घरपायक कोही भए घरमा टीका लगाएर काममा आउन भने लचकता अपनाइएको बताए । महामारी त छँदै छ, दसैंले झनै फौजलाई परिवारबाट टाढा हुँदा निराशा पैदा हुन सक्छ । त्यति मात्र होइन, कोरोना महामारीमा अग्रभागमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने भनिएको थियो ।

मन्त्रिपरिषद् बैठकले नै गरेको निर्णय भने अझै कार्यान्वयन भएको छैन । सुरक्षाकर्मी मात्र होइन, स्वास्थ्यकर्मीले पनि संक्रमण रोकथाम तथा न्यूनीकरण र उपचारमा खटिँदा पाउने भनिएको जोखिम भत्ता पाएका छैनन् । यसबाट महामारी र अपराध रोकथाम तथा नियन्त्रणमा खटिनेमा निराशा र सरकारप्रतिको अविश्वास थप बढ्न सक्छ ।

१३ वर्षअघि गायक तथा संगीतकार सुरेश अधिकारी, गीतकारसमेत रहेका सशस्त्र प्रहरी निरीक्षक दीपक कोइराला र सशस्त्र प्रहरीको ब्यान्ड शाखाका देव कोइमीको स्वर रहेको ‘राइफलको सिरानी’ गीत दसैंमा घर जान नपाएका फौजको दुरुस्तै भावना उतारेको थियो । जुन गीत हरेक वर्ष दसैंमा रेडियो/टेलिभिजनमा अधिक मात्रामा प्रसारण हुने गर्छ ।

‘वर्ष दिनको रमाइलो बडादसैं पर्व

हाम्रो रीति हाम्रो थिति नेपालीको गर्व

यो दसैंको गीत सारा नेपालीले गाउँछ

गाउँमा मात्रै होइन दसैं यहीं (ब्यारेक) पनि आउँछ

घन्काइदेउ मादलु तानी

फौजी छोरो रमाउँछ जतानी’

गीतमा शब्द संकलनदेखि स्वरसमेत दिएका निरीक्षक कोइराला भन्छन्, ‘यो गीत दसैंमा घर जान नपाएका सशस्त्रका फौजलाई ब्यारेकमै रमाउनुपर्छ भन्ने भावनाले उत्पादन गरिएको

थियो तर हामीले पनि सोच्दै नसोचेको हिट भइदियो । अन्य सुरक्षा निकाय मात्रै होइन, लाहुर गएकादेखि रोजगारमा परदेसिएका सबैका मनमा गीत बस्न सफल भइदियो । करिब डेढ दशकपछि पनि यो गीतले भनेजस्तै भएको छ हाम्रो ब्यारेकको जिन्दगी ।’

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायत अत्यावश्यक कामबाहेक दसैं/तिहारमा प्रहरी कर्मचारीलाई घरबिदा जान रोक लगाइएको बताउँछन् । उनले जो–जहाँ छन्, त्यहीं मनाउन र फिल्डमा खटिएकालाई शान्तिसुरक्षा व्यवस्थापनमा केन्द्रित हुन निर्देशन दिइएको बताए । ‘एकातिर कोरोना महामारीविरुद्ध चालिएका प्रतिकार्य योजना लागू गर्नुपर्ने त छँदै छ, सँगसँगै पर्व सुरक्षामा थप जनशक्ति फिल्डमा खटाउनुपर्ने अवस्था छ,’ कडायत भन्छन्, ‘त्यसैले विगतमा नियमित ड्युटीलाई असर नपुग्ने गरी आलोपालो बिदा मिलाउने गरिए पनि यसपटक यो सुविधा छैन । कडायतले महामारीमा घर बिदा जाँदा संक्रमणको जोखिम सँगसँगै मापदण्ड पालना गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने, पीसीआर परीक्षण, अनि फर्किंदा थप क्वारेन्टाइनको बसाइलगायतले पनि समय बढी लाग्ने बताए ।

१०–४ कार्यालय भएका युनिटमा भने बिदा अवधिभर फौजीले घर बस्न पाउँछन् । यो सुविधा नियमित शान्तिसुरक्षा र ब्यारेकीकृत संरचनामा भने लागू छैन । कडायतले कोरोना महामारीमा खटिनेलाई उपलब्ध गराउने भनिएको जोखिम भत्ता अझै नपाएको बताए । ‘खै, अन्त के छ तर हामीले जोखिम भत्ता पाएका छैनौं ।’ सेनाले पनि दसैंमा फौजलाई घरबिदा जान कडाइ गरेको छ । सेना विशेष परिस्थितिबाहेक फिल्डमा नखटिए पनि ब्यारेकबाट जाँदा–आउँदा संक्रमणको जोखिम बढ्ने भन्दै विगतमा जस्तो बिदालाई निरुत्साहित गरिएको सेनाका एक अधिकारीले बताए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको