ओली भारतसँग सम्बन्ध सुदृढ बनाउँदै
News Desk
Oct-22 , 2020 तारिख 08:31 बिहान

काठमाडौं, ६ कात्तिक । दुई दिन नेपाल भ्रमणमा आएका भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनेलिसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल बुधबार काठमाडौं आएलगत्तै खैलाबैला मच्चिएको थियो । उनी विशेष विमानमा किन नेपाल आए ? यो आम चासोको विषय बन्यो ।

देशका प्रधानमन्त्रीको स्वीकृति विना उनी आउने सम्भव नभएको नेकपा विदेश विभागका विष्णु रिजालले रेडियो एनआरएनसँग भनेका छन् । उनको भनाईलाई आधार मान्ने हो भने ओलीकै अनौपचारिक निम्तोमा गोयल नेपाल आए ।

गोयलले एक रातको नेपाल बसाईंमा महत्वपूर्ण भेटवार्ता गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुसँग भेटेका छन् । उनको यो भेट आफैमा अर्थपूर्ण छ ।

ओलीको भारतसँग सम्बन्ध चिसिएको अवस्थाबीच गोयल नेपाल आए । यसलाई ओली र भारतीय पक्ष दुवैको सम्बन्ध सुधार्ने पहलका रुपमा हेरिएको छ । कालापानीको सीमा समस्यालगायतमा नेपाल र भारतबीच सम्बन्ध चिसिएको थियो । यसलाई थाती राखेर दुई देशबीच सम्बन्ध अगाडि बढाउने पहल भइरहेको थियो । यसबीच गोयल नेपाल आए ।

नेपालमा चिनियाँ प्रभाव बढेको विषयले भारत निकै गम्भीर भएको थियो । ओलीसँग जति सम्बन्ध चिसियो उति अर्को शक्तिले ठाउँ बलियो बनाउँदै गएको निष्कर्षपछि भारत पनि गम्भीर भएको बताइन्छ । अहिले ओलीसँगै सम्बन्ध सुदृढ बनाएर जाने पक्षमा भारत देखिएको छ । ओली पनि भारतसँगको विगतको तिक्तता मेटेर सम्बन्ध सुधारेर जाने पक्षमा देखिएका छन् । यसलाई दृष्टिगत गरी उनले गोयललाई अनौपचारिक तरिकाले नेपाल बोलाएर महत्वपूर्ण कुराकानी गरे ।-फाइल तस्वीर

धेरै पढिएको