सामान्य अवस्थामा फर्कंदै अदालतहरु
News Desk
Nov-20 , 2020 तारिख 11:01 बिहान

काठमाडौँ — मंसिर ५, २०७७। 

कोरोना भाइरसको संक्रमण बढेपछि मुद्दाको सुनुवाइमा कमी गरेको सर्वोच्च अदालतले दशैं–तिहारको बिदापछि पूर्णरुपमा कारबाही थालेको छ ।

सर्वोच्च अदालतका एक अधिकृतले तिहारको बिदापछि मुद्दाको कारबाही पूर्णरुपमा थालेको जानकारी दिए । हिजो बिहीबार मात्र सर्वोच्च अदालतमा १ सय २० थान मुद्दा पेसीमा चढेका थिए । तीमध्ये १८ थान मुद्दा फैसला भए भने ३७ वटामा आदेश भएको सर्वोच्च अदालतबाट थाहा भएको छ ।

पेसीमा चढेका मुद्दामध्ये २३ थान स्थगित भएका थिए । बाँकी ४१ वटा मुद्दामा समयाभावका कारण हेर्न नभ्याइने भनी जनाइएको छ । कोरोना भाइरसको संक्रमण भएसँगै सर्वोच्च अदालतको गत चैत ७ गतेको बसेको पूर्ण बैठकले सीमितरुपमा मात्र मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

सुनुवाइ गर्ने मुद्दामध्ये बन्दीप्रत्यक्षीकरण र कोभिड–१९ सँग सम्बन्धित विषयवस्तु रहेका थिए । त्यसपछि बीचबीचमा सर्वोच्चले सूचना जारी गरी कहिले मुद्दाको सुनुवाइ गर्ने क्रम बढाउने गरेको थियो भने कहिले खुम्च्याउने गर्दै आएको थियो । तिहार सकिएपछि भने कोरोना भाइरसको संक्रमण हुनुभन्दा अघिको अवस्थाअनुसार नै मुद्दाको सुनुवाइ हुने क्रममा रहेको छ ।

सर्वोच्चका एक कर्मचारीले उल्लेख गरेका छन्– ‘अब भने मुद्दाको पूर्णरुपमा सुनुवाइ गर्ने अवस्थामा सर्वोच्च अदालत रहेको छ । यही मंसिर तीन र चार गते सुनुवाइ गर्न मुद्दाहरु पूर्णरुपमा पेसीमा चढेका छन् ।’

तर, एउटा मुद्दामा दुई जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्न नपाउने गरी सर्वोच्चले व्यवस्था मिलाएको छ । दुई जनाभन्दा बढी कानुन व्यवसायी भए अन्यले बहस नोट बुझाउन सक्ने गरी यसअघि सर्वोच्चले सूचना जारी गरेको थियो ।
यस सूचनाको भने कानुन व्यवसायीहरुले विरोध गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

धेरै पढिएको