फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक
News Desk
Nov-26 , 2020 तारिख 10:31 बिहान

नियोन — मंसिर ११, २०७७। एजेन्सी

बायर्न म्युनिकलाई गत सिजन तेहोरो उपाधि दिलाएका स्ट्राइकर रोबर्ट लेवान्डोवस्की र प्रशिक्षक हान्सी फ्लिक ‘द बेस्ट फिफा फुटबल अवार्ड’ को मनोननयमा परेको विश्व फुटबल महासंघले बुधबार जनाएको छ । 

बायर्न म्युनिकबाट लेवान्डोवस्कीले गत सिजन च्याम्पियन्स लिगमा १५ र बुन्डेसलिगामा ३४ गोल गरेका थिए । उनी बालोन डी‘ओर उपाधिको पनि दाबेदारमा रहेका थिए । तर कोभिड–१९ का महामारीका कारण ६४ वर्षमा पहिलो पटक उक्त अवार्ड हुन सकेन । तर डिसेम्बर १७ मा हुने फिफा अवार्डमा उनले वर्षको उत्कृष्ट फुटबलरको उपाधि पाउने बलियो सम्भावाना रहेको छ । बायर्नबाट उनीसँगै खेलेका र हाल लिभरपुलका मिडफिल्डर थिएगो अल्कान्टारासहित विगतका नियमित दाबेदार युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसी मनोनयनमा परेका अन्य खेलाडी हुन् । 

लिभरपुललाई गत सिजन प्रिमियर लिगको उपाधि दिलाएका रक्षक भर्जिल भान डाइक तथा स्ट्राइकरद्वय मोहम्मद सलाह र साडियो माने, पेरिस सेन्ट जर्मेनलाई च्याम्पियन्स लिगको फाइनल पुर्याएका स्ट्राइकरद्वय केलियन एमबाप्पे र नेयमर, म्यानचेस्टर सिटीका मिडिफिल्डर केभिन डी ब्रुयन र रिएल म्याड्रिडका कप्तान सर्जियो रामोस वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका छन् ।

वर्षका उत्कृष्ट प्रशिक्षकमा रहेका फ्लिक गत नोभेम्बरमा मात्र बायर्नको प्रशिक्षकमा नियुक्त भएका थिए । उनीसँगै गत वर्षका विजेता लिभरपुलका योर्गन क्लोप, लिड्स युनाइटेडका मार्सेलो बिइल्सा, रिएल म्याड्रिडका जिनेदिन जिदान र सेभियालाई युरोपा लिगको उपाधि दिलाएका जुलेन लोपेटेगुइ प्रशिक्षकको मनोनयनमा छन् ।

महिलातर्फ वर्ष फुटबलरमा युरोपियन र फ्रेन्च च्याम्पियन ओलम्पिक लियोनका वेन्डिइ रेनार्ड र उनको पूर्व टोली सदस्य लुसी ब्रोन्ज मनोनयनमा छन् । ब्रोन्ज लियोनबाट म्यानेचस्टर सिटी लागिसकेकी छन् । आर्सनलबाट नियमत गोल गर्दै आएकी डच फरवार्ड भिभियन मिइडेमा र गत सिजन चेल्सीलाई एफए कप दिलाएकी साम केर मनोनयनमा पर्ने अन्य खेलाडी हुन् । लियोनका जिएन लुक यासेउरसहित चेल्सीका इमा हायेस र गत सिजनमा उपविजेता रहेकी नेदरल्यान्ड्सकी सरिना वेइगमन मनोनयनमा छन् । वेइगमनले २०२१ को सेप्टेम्बरबाट फिल नेभिलको स्थानमा इंग्ल्यान्डको महिला टोलीको प्रशिक्षण सम्हाल्दै छिन् । फिफाको आधिकारिक वेबसाइटमार्फत समर्थकले डिसेम्बरसम्म आफ्नो मत हाल्न पाउने छन् । प्रत्येक विधाको शीर्ष तीनको सूची डिसेम्बर ११ मा घोषणा गरिने छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको