पाँच महीनापछि चालू खाता फेरि घाटामा



काठमाडौं - माघ १

काठमाडौं, लगातार ४ महीनासम्म बचतमा रहेको चालू खाता चालू आर्थिक वर्षको पाँचौं महीनामा घाटामा गएको छ । गत साउन, भदौ, असोज र कात्तिक महीनामा चालू खाता निरन्तर बचतमा थियो । तर, अहिले आयात बढेसँगै नेपालको मुद्रा बाहिरिएकाले चालू खाता घाटामा गएको हो ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले चालू आर्थिक वर्ष (आव) २०७७।७८ को मङ्सिर महीनामा चालू खाता २५ अर्ब ४१ करोडले घाटामा रहेको छ । अमेरिकी डलरमा १८ करोड २४ लाखले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालू खाता ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो । यसअघि विगतका ४ आवसम्म लगातार घाटामा रहेको चालू खाता गत साउनमा भने बचतमा देखिएको थियो । चालू आव २०७७र७८ को साउन महीनामा चालू खाता २५ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

चालू खाता घाटामा गए पनि शोधनान्तर भने निरन्तर बचतमा छ । देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम बढी हुँदा मङ्सिरमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्षको शुरूमा आयात कम भएको र अहिले आयातमा सुधार भएकाले चालू खाता घाटामा जानु स्वाभाविक भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट बताउँछन् । विप्रेषण आय बढे पनि आयात बढिरहेको र पर्यटन आय नभएका कारण चालू खाता घाटामा देखिएको उनको भनाइ छ । मङ्सिरसम्ममा विप्रेषण १० दशमलव ९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । गतआवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो । आर्थिक अभियान दैनिकबाट