नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्री बीच छलफल 
News Desk
Jun-14 , 2021 तारिख 01:10 बेलुका

काठमाडौं-नेपाल घरेलु तथा साना उद्योग महासंघकोतर्फबाट अध्यक्ष श्याम गिरी नेतृत्वको महासंघ  प्रतिनिधिमण्डलले  आज  उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलसँग भेट गरेको छ ।  उक्त भेटका अवसरमा प्रतिनिधिमण्डलले सरकारले आर्थिक बर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको बजेटमा लघु, घरेलु तथा साना उद्योगका लागि गरिएको व्यवस्थाको कार्यान्वयन र कोभिड–१९ का कारणले यस क्षेत्रमा परेको असरबाट लघु, घरेलु तथा साना उद्योगलाई बचाउन लिईनुपर्ने थप कदमका बारे आफ्नो धारणा प्रस्तुत गरेको थियो ।  महासंघबाट प्रस्तुत बिषय उपर अर्थमन्त्रीले टिप्पणी गर्दै अर्थ मन्त्रालयबाट एउटा छुट्टै कार्यदल बनाई छिट्टै अध्ययन गरि कार्य अघि बढाउन आफु सहमत भएको बताएका थिए ।  

कोभिडका कारण अर्थतन्त्रमा पर्न सक्ने असरलाई न्यूनिकरण गर्न चाल्नु पर्ने कदम बारे बजेटमा छुटेका केहि भए आगामी मौद्रिक नीति मार्फत सम्बोधन गर्न प्रयास गरिने पनि अर्थमन्त्रीले आश्वासन दिएको महासंघ अध्यक्ष श्याम गिरीले जानकारी दिए । 

भेटका अवसरमा कोभिडका कारणले विभिन्न जिल्लाका संक्रमित र मृत्यु भएका लघु, घरेलु तथा साना उद्योगीका बारेमा समेत जानकारी गराइएको उनले बताए । 

सो प्रतिनिधिमण्डलमा बरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, उपाध्यक्ष मोहन कटुवाल र महासचिव डम्वर प्रसाद रेग्मी सम्मिलित थिए ।  

धेरै पढिएको