चुनावी मौसमको ‘पारामिटर’ भरतपुर महानगरमा सबैभन्दा उच्च
मतदान भरतपुरमा भए पनि असली प्रतिष्ठाको लडाइँ बालुवाटार–खुमलटार र बालकोटबीच
News Desk
May-10 , 2022 तारिख 08:32 बिहान

काठमाडौँ — वैशाख २७, २०७९।

  • सत्तागठबन्धनको घोषणा किसानलाई पेन्सनदेखि भूमिहीनलाई घरसम्म
  • एमालेको घोषणा क्रिकेट रंगशालालाई पूर्णता, विमानस्थल स्थानान्तरण 

आगामी ३० वैशाखमा देशभरका ६ महानगर, ११ उपमहानगरसहित सात सय ५३ स्थानीय तहमा निर्वाचन हुँदै छ । तर, चुनावी मौसमको ‘पारामिटर’ भरतपुर महानगरमा सबैभन्दा उच्च छ । सत्ता र विपक्षी गठबन्धनका शीर्ष नेताहरूले प्रतिष्ठाको विषय बनाएर गरिरहेको दाउपेचका कारण भरतपुरको निर्वाचन पेचिलो बनेको छ । 

पाँचदलीय सत्तागठबन्धनका तर्फबाट माओवादी नेतृ एवं निवर्तमान मेयर रेनु दाहाल मैदानमा छिन् भने राप्रपासँग तालमेल गरेर एमालेले विजय सुवेदीलाई अगाडि सारेको छ । कांग्रेसका जगन्नाथ पौडेलको बागी उम्मेदवारीले पनि चुनावी मौसम थप तातो बनाइदिएको छ । भरतपुरका वडासम्मै कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच पूर्ण तालमेल छ । 

आफ्नो गृहनगर भएका कारण माओवादी अध्यक्ष प्रचण्डले चुनावलाई प्रतिष्ठा बनाएका छन् । त्यस्तै, आफ्नो सरकारको बहिर्गमनदेखि एमाले विभाजनसम्ममा भूमिका खेलेको भन्दै प्रचण्डसँग रुष्ट एमाले अध्यक्ष केपी ओलीले भरतपुरबाटै बदला लिने गरी सम्पूर्ण शक्ति प्रयोग गरेका छन् । त्यसैले भरतपुरको निर्वाचनमा सिंगो देशको चासो छ । 

बिहीबार पाँचदलीय गठबन्धनको चुनावी सभामा शीर्ष नेताहरूले रेनुको पक्षमा मत मागेका छन् । यसले क्रमशः कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ता गठबन्धनप्रति जवाफदेही हुन थालेका छन् । चुनावी सभामा माओवादी अध्यक्ष प्रचण्डको रेनुले चुनाव हारे देश दुर्घटनामा जान सक्ने अभिव्यक्तिले राजनीतिक तरंग पैदा गरेको छ । भरतपुरले गठबन्धनको भविष्य तय गर्ने उनको अभिव्यक्तिले कांग्रेस सभापति शेरबहादुर देउवामाथि पनि दबाब बढेको छ । 

देउवा, प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतले रेनुका पक्षमा मत माग्दै गठबन्धनको भविष्य भरतपुरको निर्वाचनमा निर्भर रहने बताएका थिए । रेनु नेतृत्वको महानगर बेरुजु शून्य भएको, सडकलगायत पूर्वाधारमा ठूलो फड्को मारेको, स्मार्ट सिटी, अन्तर्राष्ट्रिय क्रिकेट मैदान र अन्तर्राष्ट्रिय सभाहलको अवधारणा अघि सारेको उल्लेख गर्दै सबै वक्ताले रेनुलाई सफल महानगर प्रमुख भइसकेको भन्दै राम्रो काम गर्नेलाई पुनः जिताउनुपर्ने भनेर प्रशंसा गरेका थिए । यद्यपि, मतदातालाई धम्क्याएको भनेर प्रचण्डको अभिव्यक्तिको आलोचना पनि भएको छ । 

शुक्रबार काठमाडौंमा आयोजित सत्तागठबन्धनको चुनावी सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले राम्रो काम गरेकाले रेनुलाई मेयरको उम्मेदवार बनाउन आफूले नै प्रचण्डलाई सुझाएको बताएका थिए । सभामा देउवा र प्रचण्डले काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह र भरतपुरको उम्मेदवार रेनुलाई छोरी–बुहारीका रूपमा प्रचार गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । 

०७४ को नतिजा
०७४ मा एमालेका देवी ज्ञवालीलाई दुई सय तीन मतले पराजित गर्दै रेनु विजयी भएकी थिइन् । ६ महानगरमध्ये महिलाले नेतृत्व गरेको एक मात्र महानगर यही हो । ४३ हजार एक सय २७ मत ल्याएर रेनु मेयर निर्वाचित हुँदा एमालेका ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । राप्रपाबाट मेयर उठेका र हाल माओवादीमा रहेका बद्री तिमिल्सिनाले ६ हजार आठ सय ४२ मत ल्याएका थिए । उपमेयरमा कांग्रेस–माओवादी गठबन्धनबाट पार्वती शाहले ४७ हजार एक सय ९७ मत ल्याएर जितिन् । एमालेकी दिव्या शर्माले ३९ हजार पाँच सय २५ मत ल्याएकी थिइन् भने राप्रपाकी रिना गुरुङको सात हजार दुई सय ५२ मत आएको थियो ।

महानगरपालिकाका २९ वटा वडामध्ये एमालेले १४, कांग्रेसले १२ र माओवादी केन्द्रले तीन वडामा जित हासिल गरे । माओवादीले वडा नं. १३ मा प्यानलसहित जित्यो भने २५ र २६ मा वडाध्यक्ष मात्रै जित्यो, बाँकी सदस्य एमाले र कांग्रेसले जितेका थिए । एमालेले २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बर वडामा जित हासिल गर्दा कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ कब्जा गरेको थियो । 

सबैका उस्तै दाबी 
देशकै मध्य भागमा रहेको भरतपुर काठमाडौंपछिको दोस्रो सहरका रूपमा विकास हुँदै गएको छ । स्थानीय निर्वाचनमा यहाँ जित हासिल गर्दा त्यसको सन्देश केन्द्रीय राजनीतिसहित देशभर नै पर्छ । त्यही कारण गठबन्धन, एमाले र साना दलदेखि स्वतन्त्र उम्मेदवार पनि जित निकाल्ने भरपुर प्रयासमा छन् । सबैले आफ्ना एजेन्डालाई जितको आधार भएको दाबी गरेका छन् । सत्ता र विपक्षी गठबन्धनले आकर्षक विकासका योजनासहित चुनावी प्रतिबद्धतापत्र पनि जारी गरिसकेका छन् ।

गठबन्धनकी मेयर उम्मेदवार रेनु आफ्नो विगतको कामले नै जित सुनिश्चित भएको बताउँछिन् । ‘विगतको कामले नै मेरो जित सुनिश्चित भएको छ । पाँच वर्षको कार्यकालमा भरतपुरमा विकासको बलियो आधार तयार भएको छ । बाँकी काम पूरा गर्न जनताले फेरि विजय बनाउनेछन् । म महिला र युवा प्रतिनिधित्व गर्छु, विगतमा मेरो काम भरतपुरका जनताले देख्नुभएको छ,’ उनले भनिन्, ‘गोन्द्राङदेखि पुल्चोकसम्म ढलसहितको ६ लेन सडक, सिटिहल, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भूमिगत विद्युत् कार्य, नारायणी तटबन्धनलगायत अर्बौँका राष्ट्रिय योजना भरतपुरमा सञ्चालन भएका छन् । मुखले भन्दा पनि विकास पूर्वाधारमा हामीले देखिने गरी काम गरेका छौँ । बेरुजु शून्य बनाउँदै हामीले आर्थिक पारदर्शितामा पनि भरतपुर महानगरपालिकालाई चिनाएका छौँ ।’

उनले आफ्नो कार्यकालमा महानगरपालिकाको अत्याधुनिक प्रशासकीय भवनसँगै नारायणगढ मेट्रो प्लाजा निर्माणको काम भएको बताइन् । सडक पूर्वाधार र यातायातमा त देश नै छक्क पर्ने गरी पाँच वर्षमा मात्र ६ सय २२ किलोमिटर सडक कालोपत्रे भएको छ र भने चार सय ५० किलोमिटर सडक ग्राभेल गरिएको उनको भनाइ छ । 

रेनुले स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले देशको आवश्यकता बुझ्न नसकेको बताइन् । ‘स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले देशको आवश्यकता बुझ्न सकेनन् । कसैको उस्काहट–आवेगमा गठबन्धनको निर्णयलाई आत्मसात् गरेनन् । स्वतन्त्र उठ्दै गर्दा पनि मेरो जितको नतिजालाई उल्लेखनीय प्रभाव पार्दैन । देशको आवश्यकता र गणतन्त्र, संविधान, संघीयता र लोकतन्त्रको रक्षा गर्न बनेको गठबन्धनले चुनाव जित्ने बलियो आधार छ,’ उनले भनिन् । 

एमालेका उम्मेदवार सुवेदीले भरतपुरको योजनाबद्ध विकासका लागि आफ्नो उम्मेदवारी परेको बताए । ‘अहिले विकास र मानिसको दैनिकीसँग जोडिने सरकार भनेको स्थानीय सरकार नै हो । भरतपुर महानगरपालिकाको व्यवस्थित गुरुयोजना बनेको छैन । यहाँको व्यवस्थित गुरुयोजना बनाएर समानुपातिक हिसाबले भरतपुरको योजनाबद्ध विकास गर्न भरतपुरको मेयरमा मेरो उम्मेदवारी हो,’ उनले भने, ‘सम्पूर्ण नागरिकलाई सम्बोधन गरेर विकासलाई अघि बढाउनुपर्ने हुन्छ । नागरिकको अभिलेखीकरण गरेर उनीहरूको आवश्यकताअनुसार सीप दिने र संरक्षण गर्ने काम गर्न मेयरको उम्मेदवार बनेको हुँ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने दिशातर्फ भरतपुरलाई लैजानुपर्नेछ । गुरुयोजना नबनाई काम गरियो भने भोलि यही काम भत्काउनुपर्ने हुन्छ ।’

उनले गत पाँच वर्षमा भरतपुरमा काम नभएको दाबी गरे । ‘निश्चित नियमबाट बजेट आउने र राम्रा योजना बनाएर गएका विषयमा बजेट कसैले पनि रोक्न सक्दैन । भरतपुर महानगरपालिकाले शिलान्यास गरेर आफैँले उद्घाटन गरेको योजना मैले देखेको छैन । यो पाँच वर्षमा भरतपुर महानगरपालिकाले आफ्ना मान्छेलाई पैसा छर्ने र ठेक्कापट्टा दिनेबाहेकका काम गरेको छैन् ।,’ उनले भने, ‘यहाँ प्रदेश र केन्द्रले ठूलो काम गरेको छ । भरतपुरबाट पूर्वाधार विकास मन्त्रालयका डिजी, सचिवहरूले आफ्नो घरगाउँ भएर बजेट ल्याएर भएको विकास हो ।’

विद्रोही उम्मेदवार पौडेलले निष्ठाको राजनीति गरेकाले आफूलाई इमानदारहरूको मत आउने बताए । ‘चुनावमा हारजित दुवै हुन्छ । जनताले आफ्नो विवेक प्रयोग गर्नुभयो भने दुई–तीन मान्छे दायाँबायाँ हुँदा फरक पर्दैन,’ उनले भने ।

शिक्षाविद् रमाकान्त सापकोटा पाँच वर्षमा हुने निर्वाचनमा राम्रो मान्छे छान्नुपर्ने बताउँछन् । ‘स्थानीय तहमा प्रतिपक्ष नहुने भएकाले जोसँग दृष्टिकोण छ, जुन व्यक्तिको आर्थिक र निजी चरित्रका विषयमा सवाल उठेको छैन, सामाजिक रूपले स्थापित छ, सबैलाई राम्रो ठान्छ र चुनावपछि सबै जनताको प्रतिनिधि हुँ भन्छ त्यस्तै मानिसलाई छान्नुपर्छ,’ उनले भने ।

तर, भरतपुर नगरपालिका हुँदा ०४३ मा वडा नं. १० का वडाध्यक्ष भएका र अहिले सामाजिक व्यक्तिका रूपमा परिचय बनाएका चिजकुमार मास्के रेनुको कार्यकाल उनका लागि सहयोगी हुन सक्ने बताउँछन् । ‘चितवनको विकास जनताले नै जबर्जस्ती गरिरहेको अवस्था थियो । रेनुको कार्यकालमा जति विकासका लागि सरकारबाट चितवनमा पैसा आएको थाहा पाएको थिइनँ । उहाँको बुबा प्रचण्ड यही क्षेत्रको सांसद हो, त्यसकारण पनि धेरै बजेट आएको होला,’ उनले भने, ‘पाँच वर्षमा भरतपुरका लागि उहाँले राम्रै काम गर्नुभएको छ । गौरवका योजना भकाभक बनेका छन् ।

विद्रोही पौडेलका पक्षमा कति नेता ?

 चितवनबाट कांग्रेसको केन्द्रीय सदस्य रहेका पाँच र जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका पाँच नेतामध्ये कोही पनि छैनन् पौडेलको पक्षमा

विद्रोही उम्मेदवार जगन्नाथ पौडेलका पक्षमा कांग्रेसका कति नेता–कार्यकर्ता छन् र उनीहरूमध्ये अन्तिमसम्म कति उभिन्छन् ? मतदाता, विश्लेषक र मिडियाको सर्वाधिक चासो छ । चितवनबाट टेकप्रसाद गुरुङ, उमेश श्रेष्ठ, अञ्जनी श्रेष्ठ, दिनेश कोइराला र शान्ति परियार विक गरी पाँचजना कांग्रेसको केन्द्रीय सदस्य छन् । उनीहरूमध्ये कोही पनि पौडेलको पक्षमा छैनन् । सुरुमा माओवादीलाई मेयर दिन नहुने मत राखेका केन्द्रीय सदस्यद्वय गुरुङ र कोइराला पनि पछिल्लो समय गठबन्धनका चुनावी सभामा पुगेर रेनुलाई भोट मागिरहेका छन् ।

त्यस्तै, चितवन कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गरेका पाँच नेता पनि पौडेलको पक्षमा छैनन् । उनीहरू सबै गठबन्धनका उम्मेदवारलाई मत मागिरहेका छन् । चितवन कांग्रेसको अधिवेशनमा राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, प्रा.डा. सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन तय भएको थियो ।

तर, मतदानमा जानुअघि श्रेष्ठले समर्थन गरेपछि खनाल निर्विरोध अध्यक्ष चुनिएका थिए । अहिले विद्रोही उम्मेदवार बनेका पौडेल पनि जिल्ला सभापति बन्ने दौडमा थिए, तर उनी महाधिवेशन प्रतिनिधिमै हारेपछि अगाडिको यात्रा रोकिएको थियो । बिहीबार भरतपुरमा भएको पाँचदलीय गठबन्धनको चुनावी सभापछि कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ता गठबन्धनप्रति जवाफदेही हुन थालेका छन् । सुरुमा पौडेलको पक्षमा उभिएका केही नेता–कार्यकर्ता अहिले गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन् । 

भरतपुर महानगरका सम्भावित परिदृश्य

१. राजनीतिक समीकरणसँगै भरतपुरको निर्वाचनलाई प्रभाव पार्ने एउटा कारण यहाँ बढेको मतदाताको संख्या पनि हो । गएको निर्वाचनमा मतदाता संख्या एक लाख ५० हजार २७४ थियो । यसपटक एक लाख ८५ हजार ७५२ पुगेको छ । पुरुष मतदाताको संख्या ८८ हजार ८८४ र महिलाको संख्या ९६ हजार ८६७ छ । 

२. भरतपुर क्षेत्रमा अन्यत्रबाट बसाइँ सरेर आउने जनसंख्यासँगै नयाँ पुस्ताले कसले जित्छ भन्ने निर्णय गर्न सक्छन् । अहिले विगतको एमाले टुक्रिएको छ । एमालेबाट विजयी बनेका महानगरपालिकाका ७, ९, १०, १२ र २२ का वडाध्यक्ष एकीकृत समाजवादीमा छन् । यद्यपि, माओवादीका केही नेता एमाले प्रवेश गरेका छन् । रामबहादुर थापा चितवनकै भएकाले समाजवादीमा गएको मतभन्दा माओवादीबाट एमालेमा आएको मत धेरै रहेको एमालेको दाबी छ । 

३. भरतपुर प्रचण्डको गृहनगर मात्र नभई पूर्वमन्त्री एवं राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको आधार क्षेत्रसमेत हो । भरतपुरको मेघौली क्षेत्रका केही वडामा राप्रपाको मत राम्रै छ । त्यही कारण ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले चितवन ३ मा प्रचण्डविरुद्ध पाण्डेलाई सहयोग गरेको थियो । राप्रपाबाट ०७४ को निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका बद्री तिमिल्सिना अहिले माओवादीमा छन् । उनी भूमि आयोग चितवनका अध्यक्ष पनि हुन् । उनले पनि केही मत प्रभावित बनाउन सक्ने आकलन छ । 

मेयरका थप उम्मेदवार :  प्रवीण काफ्ले (विवेकशील साझा), गणेश गिरी (लोसपा), लक्ष्मण अधिकारी (राप्रपा नेपाल), हरिप्रसाद दुवाल (नेमकिपा), सूर्यप्रसाद रेग्मी (माले), ज्ञानबहादुर गुरुङ (जनमुक्ति), टेकबहादुर पुनमगर (मंगोल नेसनल अर्गनाइजेसन), पूर्णबहादुर गुरुङ (नागरिक पार्टी), सञ्जयकुमार ठाकुर (जनमत), विनोदकुमार गिरी (मौलिक जरोकिलो), दीपेन्द्र बास्तोला (उन्नत लोकतन्त्र), सुरेन्द्र परिवार (माओवादी समाजवादी), खेम प्रसाईं (सामाजिक एकता) । स्वतन्त्र उम्मेदवार : जगन्नाथ पौडेल, उद्धव अर्याल, रामकृष्ण ओझा, मोहित पाण्डे, कुलराज कँडेल, सुमन अधिकारी, योगलाल श्रेष्ठ, यमकान्त शर्मा कँडेल, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी र हरिश्चन्द्र घिमिरे ।

धेरै पढिएको