प्रधानन्यायाधीश प्रकरणमा दल मुछिन हुँदैन : यादव
News Desk
Nov-09 , 2021 तारिख 09:41 बिहान

भैरहवा — जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मुछिन नहुने बताएका छन् । यस विषयको निकास न्यायाधीश र अदालतबाटै हुनु पर्ने तर्क उनको थियो । रुपन्देहीको सूर्यपुरा लगायतका स्थानमा आयोजित पार्टीको कार्यक्रमका क्रममा मंगलबार भैरहवामा पत्रकारहरुसँग कुरा गर्दै यादवले प्रधानन्यायाधीश प्रकरण र सर्वोच्च अदालतमा भइरहेका पछिल्ला घटनाक्रम अशोभनीय भनि टिप्पणी गरे । ‘अहिले देखिएको कार्य राम्रो छैन तर न्यायालयको मामलामा राजनीति गर्नु हुँदैन, यसले झनै सम्हालिन दिँदैन,’ यादवले भने, ‘हामी राजनीतिकर्मी त्यहाँ पस्यौं भने अवस्था झनै जटिल हुन्छ ।’ यस विषयको निकासका लागि न्यायाधीशहरु विद्वान रहेको र समाधानको बाटो अदालत आफैंले खोजेर निरुपण गर्ने उनले बताए ।

न्यायपालिकाभित्रै राजनीति हुन थाल्ने र राजनीतिज्ञले न्याय दिन थाले मुलुक बर्बाद हुने उनले बताए । ‘राजनीति र न्यायिक क्षेत्रको अ-आफ्नै क्षेत्राधिकार छ, यो क्षेत्राधिकारलाई पार गर्न दिन हुँदैन,’ उनले भने, ‘दुवै क्षेत्रलाई अलग राख्नुपर्छ ।’ 'राजनीतिक दलले न्याय दिने र न्यायालयले राजनीति गर्न थाल्ने हो भने मुलुक के हुन्छ ?' भन्दै उनले प्रतिप्रश्न गरे । ‘राजनीति र न्याय तथा अदालतलाई अलग राख्न सकेमामात्रै न्याय विशुद्धरुपले अघि बढ्ने र न्यायालयको स्वतन्त्रता र गरिमा बढ्ने उनले बताए । यसो भएमा राजनीतिपनि ठीक ढंगले अघि बढ्ने तर्क उनले गरे । राजनीतिक मुद्दालाईपनि अदालतबाट भन्दा राजनीतिक तवरबाटै समाधान खोज्नुपर्ने उनको भनाइ छ । ‘हामीकहाँ अदालतले हस्तक्षेप गर्‍यो पनि भन्ने अनि न्यायालय पनि गइरहने परिपाटी छ,’ उनले भने, ‘यो हुनुहुँदैन, रोक्नुपर्छ ।’    

( कान्तिपुर दैनिक )