generalnews
|| Rajyadainik ||

आजको समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

समाचार


पोखरा-गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा काेभिड १९ लाई प्राथमिकता दिएकाे छ । सोमबार प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा काेभिडका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने, प्रदेशका सबै नागरिकलाई काेराेना विरूद्वकाे खाेप लगाउने, काेराेना संक्रमितकाे उपचार प्रभावकारी बनाउने, काेभिडका कारणा बाबुआमा गुमाएका बालबालिका र काेभिडबाट आफन्त गुमाएका परिवारलाई नगद राहतकाे व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरि नीति तथा कार्यक्रममा सरूवा राेग अस्पताल प्रभावकारी बनाउने र ५० शय्याका सबै अस्पतालमा आँखा उपचारकाे व्यवस्था गरिने, महिलाकाे स्तन, पाठेघर र आङ खस्ने समस्याको पहिचान गरि नि:शुल्क उपचारकाे व्यवस्था गरिने जनाईएको छ । साथै काेभिडका कारण पर्यटन र कृषिमा परेकाे समस्या सम्बाेधन हुने बिषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

गण्डकी प्रदेश सरकारबाट सुविधा थप्ने नभई कानुन बनाएर व्यवस्थित गर्न खोजेको प्रष्टोक्त

समाचार


पोखरा-गण्डकी प्रदेश सरकारले सुविधा थप्ने नभई कानुन बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेको छ । गण्डकी सरकारले पूर्वमुख्यमन्त्रीको सुविधा थपेर खर्च बढाउन नखोजेको गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले बताएका छन्। कानुन बनाएर यसलाई व्यवस्थित गर्न खोजिएको उनको भनाइ छ। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले पद सम्हालेपछि पूर्व मुख्यमन्त्रीको सेवा, सुविधा सम्बन्धमा पहिलो निर्णय गरे । जसले प्रदेश सरकारले थप खर्चको भार थपेको भन्दै सामाजिक सञ्जालदेखि मिडियासम्म विरोध भयो ।

नागरिकमा गलत सन्देश प्रवाह भए पस्चात प्रदेश सरकारका मन्त्री एवं प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन खोजेको नभएर कानुन बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका हुन । पूर्व मुख्यमन्त्रीलाई सुविधा थपेर आर्थिक भार बढाउन खोजिएको भन्ने विभिन्न सामाजिक सञ्जालमा प्रतिक्रिया आएपछि मन्त्री खड्काले भने, “जहाँसम्म नागरिकको चासो छ, हामी उहाँहरुको सम्मान गर्छौँ ।” पूर्व मुख्यमन्त्रीका विषयमा कुनैपनि कानुन नबनेकाले मर्यादाक्रम, सुरक्षा व्यवस्थालगायत विषयलाई कानून बनाएर व्यवस्थित बनाउन खोजिएको प्रवक्ता खड्काको भनाइ छ । उनले राज्यलाई भार थप्ने कुनै निर्णय नभएको प्रष्टोक्ति दिएका छन् । भर्खरै मात्र पृथ्वीसुब्बा गुरुङ निवर्तमान भएपछि बल्ल पूर्व मुख्यमन्त्रीको सुविधा र सम्मानको प्रसङ्ग आएको मन्त्री खड्काले बताए । तर, गुरुङले आफूले पूर्व मुख्यमन्त्रीको हैसियतमा कुनै सेवा सुविधा नलिने प्रष्ट पारिसकेका छन् ।

नयाँ युग सुरु गर्न चाहन्छ स्पेन

समाचार


सेभिया — जेष्ठ ३१, २०७८। 

तीनपल्टको युरोपेली च्याम्पियन स्पेन अब त्यस्तो फुटबल शक्ति रहेन, जुन केही वर्षअगाडि रहेको थियो । सन् २००८ देखि २०१२ बीच स्पेनले लगभग सबै जितेको थियो ।

अहिले त्यो पुस्ताका खेलाडी हराइसके । अब नयाँ अनुहारले टिममा प्रवेश पाइसकेको छ । त्यसैले स्पेनले युरो २०२० मा सोमबार स्विडेनको सामना गर्दा एउटा नयाँ युग सुरु गर्न चाहन्छ । पछिल्ला केही वर्ष स्पेनका लागि खासै सुखद रहेन ।

यो टिम पछिल्ला तीन ठूला प्रतियोगिताको क्वाटरफाइनल पार गर्न असफल रहेको छ । प्रशिक्षक लुइस एनरिकले यसैबीच विवादास्पद तरिकाले टिमबाट सर्जियो रामोसलाई हराएका छन्, उनको खराब फिटनेसलाई कारण देखाए । लामो समयपछि स्पेन रामोसबिना ठूलो प्रतियोगिता खेलिरहेको छ । त्यसको ठीक विपरीत टिममा नयाँ युवा खेलाडी छन्, जसलाई स्पेनी फुटबलको भविष्य भन्न सकिन्छ, जस्तो फेरान टोरेस । जर्मनीलाई नेसन्स लिगमा ६ गोलले हराएका बेला उनले ह्याट्रिक गरेका थिए ।

यो खेल बिल्बाओमा हुनुपर्ने थियो, तर कोरोना भाइरस संक्रमणबीच सेभियामा सारियो । स्पेनले लिग चरणका सबै खेल यहीं खेल्नेछ । यहीं उसको पहिलो प्रतिद्वन्द्वी बलियो स्विडन रहेको छ । संयोगले यो टिममा पनि सबैभन्दा अनुभवी खेलाडी रहेका छैनन् चोटका कारण ज्लाटन इब्राहिमोभिच टिममा छैनन् । स्विडेन आफै पनि नयाँ पुस्ताका खेलाडीमा निर्भर हुनेक्रममा छ । एलेक्जान्डर इसाक र जोर्डन लारासन त्यस्ता दुई युवा खेलाडी हुन्, जसले स्पेनमाथि दबाब सिर्जना गर्न सक्छन् ।

पोल्यान्डविरुद्ध स्लोभाकिया

सेन्ट पिटर्सबर्ग– युरो २०२० को ठीकअगाडि पोल्यान्डले एक प्रकारले लय गुमाएको छ । त्यसैले पोल्यान्डले समूह ‘ई’ को आफ्नो पहिलो खेलमा स्लोभाकियाको सामना गर्दा दबाबमा रहनेछ । स्लोभाकिया आफै उसका लागि बलियो विपक्षी टिम नहुनु सक्छ, तर दबाब चर्को छ । युरोअगाडि पोल्यान्डले कमजोर एन्डोरालाई हराउन पनि कडा संघर्ष गर्नुपरेको थियो । पोलिस प्रशिक्षक पाउलो सौसाले पनि मानेका छन्, आफू एक प्रकारले तनावमा छु भनेर ।

पोल्यान्ड टिमका मुख्य खेलाडी निर्विवाद रूपमा रोबर्ट लेवान्डोस्की रहेका छन् । पूरा टिम उनकै वरिपरि घुम्ने गरेको छ । पछिल्लो समय कम्तीमा उनी आफै भने लयमा छन् । स्लोभाकिया आफै पनि निकै उतारचढावपूर्ण लयबाट गुज्रिरहेको टिम छ । त्यसैले उसले पछिल्ला १३ खेलमध्ये दुईमा मात्र जित निकाल्न सकेको छ । यस्तोमा पोल्यान्डले जित निकाल्ने विश्वास गर्न सकिन्छ, तर स्लोभाकियाले कडा चुनौती पेस गर्ने तय छ ।

स्कटल्यान्डविरुद्ध चेक गणतन्त्र

ग्लास्गो– स्कटल्यान्डले सोमबार युरो २०२० को आफ्नो पहिलो खेलमा चेक गणतन्त्रको सामना गर्नेछ । त्यसअगाडि व्यवस्थापक स्टिभ क्लार्कले टिमको ‘जायन्ट किलर’ को पुरानो छवि कायम राख्न चाहेको बताएका छन् । स्कटल्यान्ड २३ वर्षयता पहिलोपल्ट कुनै ठूलो प्रतियोगिता खेल्दै छ । कुनै समय ठूला प्रतियोगिता नियमित खेल्ने गरेको स्कटल्यान्डले यसपल्ट भने प्लेअफको बाटो भएर युरोमा छनोट भएको हो । इतिहास पल्टाउने हो भने स्कटल्यान्डले नेदरल्यान्ड्स र स्पेनजस्ता टिमलाई हराएको छ ।

यही स्कटल्यान्डले सन् १९९९ मा अन्तिम पटक इंग्ल्यान्डलाई हराएको थियो । अहिले स्कटिस टिमका कप्तान छन्, लिभरपुलका एन्डी रोबर्टसन । व्यवस्थापक क्लार्कले भनेका छन्, ‘केही वर्षअगाडि स्कटल्यान्डले जसरी खेल्ने गर्थ्यो, फेरि त्यस्तै खेल्ने रणनीति छ । हामी ठूला टिममाथि स्तब्धपूर्ण नतिजा निकाल्न सक्षम छौं । विश्वास गरौं, यसपल्टको प्रतियोगिता यस्तै हुनेछ ।’ चेकविरुद्धका पछिल्ला तीन खेलमा स्कटल्यान्ड विजयी रहेको छ । त्यसैले समूह ‘डी’ को खेलअगाडि स्कटल्यान्ड निकै उत्साहित रहनेछ ।

प्लेयर्स टु वाच

आयमेरिक लापोर्ट (स्पेन)

पछिल्लो तीन सिजनको तथ्यांक हेर्ने हो भने विश्व फुटबलका सबैभन्दा स्तरीय सेन्टर ब्याक हुन् आयमेरिक लापोर्ट । उच्च लयमा हुँदाहुँदै पनि फ्रान्सेली टिमबाट पटक पटक बेवास्ता भएपछि उनले राष्ट्रियता परिवर्तन गर्ने निर्णय गर्दै पुगे स्पेन ।

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका यी पर्खालले युरो २०२० को केही समयअघि मात्र स्पेनबाट खेल्न पाउने योग्यता पाएका थिए । प्रशिक्षक लुइस इनरिक स्पेनिस सरकारको त्यही निर्णयको पर्खाइमा थिए । किनभने खराब लय र चोटग्रस्त कप्तान सर्जियो रामोसको भूमिकालाई न्याय गर्न सक्ने लापोर्टमात्र थिए । चतुर्‍याइँपूर्ण ट्याकल र हेडरमा अब्बल लापोर्टले लामो पासमा पनि दक्षता राख्छन् । २७ वर्षीय लापोर्टले क्लबस्तरमा स्पेनिस प्रशिक्षकलाई निकै प्रभावित पारेका छन् । राष्ट्रिय टोलीबाट उनको परीक्षण हुन बाँकी छ ।

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)

कोरोना महामारीका कारण बालोन डी’अर रद्द नभएको भए बायर्न म्युनिकका स्ट्राइकर लेवान्डोस्की निश्चित रूपमा त्यो उपाधिका हकदार हुन्थे । उनी विश्व फुटबलकै मुख्स स्टार हुन् । सन् २०१९/२० को सिजनमा बायर्नका लागि लेवान्डोस्कीले ४७ खेलमा ५५ गोलको सानदार प्रदर्शन गरे । एक क्यालेन्डर वर्षमा यो तथ्यांक अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले मात्र हासिल गर्न सकेका थिए ।

२०२०/२१ को सिजनमा विगतभन्दा कम गोल गरे पनि उनले एकै सिजन ४० गोल गर्ने गर्ड मुलरको कीर्तिमान तोडे । यो सफलता उनले २९ खेलमा पाएका हुन् । आधुनिक फुटबलको पछिल्ला वर्षमा उनलाई उत्कृष्ट ‘नम्बर नाइन’ स्ट्राइकर मानिन्छ । लेवान्डोस्कीले देशका लागि भने अहिलेसम्म उच्च सफलता पाएका छैनन् । उनकै प्रदर्शनमा युरोको अघिल्लो संस्करणमा पोल्यान्ड क्वाटरफाइनल पुगेको थियो । चौथोपल्ट युरो खेल्न लागेको पोल्यान्डको त्यो नै उत्कृष्ट नतिजा हो । ३२ वर्षीय लेवान्डोस्कीले पोल्यान्डबाट १ सय १९ खेलमा ६६ गोल गरेका छन् ।

(एजेन्सी/कान्तिपुर दैनिक)

२० हजारभन्दा बढी एन्टिजेन पोजिटिभको गणना तथ्यांकमा किन हुँदैन ?

समाचार


काठमाडौँ — जेष्ठ ३१, २०७८। 

यदि एन्टिजेन परीक्षणलाई सक्रिय संक्रमितका रुपमा गणना नगर्ने भए सरकारले सो परीक्षणलाई मान्यता नै किन दिएको छ भन्ने पनि प्रश्न उठ्छ । त्यसो भए के त मृतकको संख्यामा गणना गरिएकाहरु सबै पीसीआरबाट मात्रै पोजिटिभ देखिएकाहरु हुन् त ?
 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गर्न एन्टिजेन किटको प्रयोगलाई बढाउँदै लगे पनि त्यसमा पोजिटिभ देखिएकाहरुलाई सक्रिय संक्रमितका रुपमा तथ्यांक विश्लेषणमा भने गणना नगरेको देखिएको छ ।

मन्त्रालयले हालसम्म कुल १ लाख ७ हजार ८ सय २९ जनाको एन्टिजेन परीक्षण गरेको र त्यसमा कुल २० हजार ४ सय ७० जना संक्रमित रहेको पाइएको उल्लेख छ । यद्यपी यो संख्यालाई मन्त्रालयले आफ्नो सक्रिय संक्रमितको संख्यामा राखेर गणना गरेको भने देखिन्न । एन्टिजेन परीक्षणमा संक्रमित देखिनेको दर करिब १९ प्रतिशत रहे पनि त्यसलाई तथ्यांक विश्लेषणमा सामेल नगरिनु उचित भने होइन ।

सक्रिय संक्रमितमा गणना नगरिएसँगै उक्त संख्यालाई निको हुनेको संख्या र मृत्यु हुनेको संख्यामा पनि हिसाब गरिएको छ या छैन यकिनसाथ भन्न सकिने अवस्था छैन । त्यसो भए ती संक्रमित कहाँ गए ? गहन प्रश्न यही नै हो ।

यदि एन्टिजेन परीक्षणलाई सक्रिय संक्रमितका रुपमा गणना नगर्ने भए सरकारले सो परीक्षणलाई मान्यता नै किन दिएको छ भन्ने पनि प्रश्न उठ्छ । त्यसो भए के त मृतकको संख्यामा गणना गरिएकाहरु सबै पीसीआरबाट मात्रै पोजिटिभ देखिएकाहरु हुन् त ?

तथ्यांकमा हराइरहेका २० हजारभन्दा बढी संक्रमितका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलको बुझाइ स्पष्ट छ । उनको भनाइमा एन्टिजेन परीक्षण गरिएका व्यक्तिहरुको पूर्ण विवरण स्थानीय स्तरबाट प्राप्त नभएकोले त्यसलाई तथ्यांकका रुपमा सामेल गर्न नसकिएको हो । त्यसैले गर्दा अहिलेको यो समस्या पनि देखिएको हो । ‘खासमा स्थानीय तहबाट एन्टिजेन पोजिटिभ देखिएकाहरुको पूर्ण विवरण हामीलाई पठाइएको छैन,’ उनले भने, ‘त्यसैले केही दिनयता त्यसलाई छुट्टै राखेर सिचुएसन रिपोर्टमा भने जनाउने गरेका छौं ।’ उनका अनुसार मन्त्रालयले आफ्नो डाटाबेसमा तथ्यांक इन्ट्री गर्नका लागि सबै स्थानीय तहलाई आग्रह गरेको छ । ‘हामीले तथ्यांक इन्ट्री नभएर किट नै दिन्न समेत भनेका छौं,’ उनले भने, ‘काठमाडौं महानगरपालिकाबाट त अब विस्तारै तथ्यांक आउन थालेको छ ।’

स्वास्थ्य आपत्कालीन कार्यसञ्‍चालन केन्द्र (एचईओसी)का प्रमुख डा. समिर अधिकारीका अनुसार मन्त्रालयले संक्रमित पाइएका सबैलाई १० दिनपछि निको भएको ठहर गरेर आफ्नो तथ्यांकमा अपडेट गर्छ । यस्तै विभिन्न स्थानमा कोरोनाका कारण मृत्यु भएको विवरण प्राप्त भएपछि त्यसलाई पनि अपडेट गर्छ । ‘एन्टिजेन वा पीसीआरमा कुनै पनि पोजिटिभ देखिएर मृत्यु भएको छ भने हामी त्यसलाई तथ्यांकमा जोड्छौं । सेनाबाट भए पनि मृतकको विवरण प्राप्त हुन्छ,’ उनले भने, ‘त्यसैले एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएकाहरु हराएका छैनन् । पूर्ण विवरण नभएकाले तथ्यांकमा नदेखिएका मात्रै हुन् ।’

सक्रिय संक्रमित र निको हुनेहरुको तथ्यांकमा एन्टिजेन पोजिटिभलाई नजोडिए पनि मृत्युको संख्यामा भने जोडिएको दाबी गरे पनि वास्तावमा त्यो तथ्यांकमा भने देखिँदैन ।

कोरोनाको पहिलो लहरदेखि नै यससम्बन्धी तथ्यांकको विश्लेषण गरिरहेका विज्ञान विषयका अध्ययता दोर्जे गुरुङका अनुसार भने एन्टिजेन पोजिटिभ देखिएकाहरुको सख्यांलाई कहीँ कतै पनि गणना गरिएको छैन । उनका अनुसार जेठ ३० गतेसम्म नेपालमा पीसीआर गरेर फेला परेका कुल संक्रमितको संख्या ६ लाख ८ हजार ४ सय ७२ रहेको छ । त्यसलाई हालसम्म निको भएका ५ लाख ३१ हजार १ सय ५, सक्रिय संक्रमित रहेका ६८ हजार ९ सय ५५ र मृत्यु भएका ८ हजार ४ सय १२ को योगफललाई कुल संक्रमितबाट घटाउँदा शुन्य हुन आउँछ । त्यसको मतलब सो संख्यामा हालसम्मका करिब २० हजार बढी एन्टिजेन पोजिटिभ देखिएकाहरुलाई गणना गरिएको छैन ।

‘पहिलो कुरा त एन्टिजेन पोजिटिभलाई कतै पनि तथ्यांकमा गणना गरिएको छैन,’ उनले भने, ‘तर यदि मृतकको संख्यामा भने गणना गरिन्छ भनेर मन्त्रालयले दाबी गर्छ भने त्यो गलत हुन्छ । किनभने त्यस्तो गर्दा केस फ्याटालिटी रेट देखि निको हुने दरलाई समेत असर गर्छ ।’

पपुलेसन हेल्थका विज्ञ डा. विशाल भण्डारीका अनुसार एन्टिजेनमा पोजिटिभ देखिएकाहरु सक्रिय संक्रमित हुन् । ती संक्रमितले अरुलाई संक्रमण सार्न सक्ने सम्भावना जति धेरै छ त्यति नै धेरै उनीहरु आफैं गम्भीर हुने सम्भावना पनि बढी हुन्छ । तर, त्यस्ता संक्रमितलाई तथ्यांकमा गणना नगर्नु भनेको ठूलै कमजोरी हो । ‘यदि त्यसलाई गणना नगरिएको हो भने कहाँ संक्रमणको जोखिम कस्तो छ भन्ने यकिनसाथ भन्न नसकिने अवस्था हुन्छ,’ उनले भने, ‘त्यसमाथि पनि एन्टिजेन पोजिटिभ आउनु भनेको संक्रमण सक्रिय अवस्थामा नै छ भन्ने हो ।’

(कान्तिपुर दैनिक)

“अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदै

समाचार


काठमाडौँ — जेष्ठ ३१, २०७८। 

कला प्रेमीहरुको लागि खुशीको खबर र अवसर आएको छ । ग्रेट भिजन मिडियाको प्रस्तुतिमा “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजना हुने भएको छ । 

आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष केडी भट्टराईले दिएको जानकारी अनुसार असार १ गतेबाट प्रतियोगिताको आवेदन फाराम खुल्ला रहने छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको त्रास र खतराको बीचमा पनि मनोरंजन दिने र नया प्रतिभा बाहिर लिएर आउने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजन गरिएको हो ।  आयोजक पक्षले दिएको जानकारी अनुसार यस प्रतियोगितामा भाग लिनको लागि प्रतिस्पर्धीहरुले २ देखि ५ मिनेट सम्मको भिडियो आफ्नै आवाजमा रेकर्ड गराएर पठाउनु पर्ने छ।  

प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक गोबिन्द राई, वरिष्ठ अभिनेत्री मौषमी मल्ल र मोडल तथा एक्टर एसराज गराच रहेका छन । सम्पूर्ण अभिनय प्रेमीहरुलाई लकडाउनको समय सदुपयोग गर्दै प्रतियोगितामा भाग लिन निर्णायकहरुले आव्हान समेत गरेका छन्। 

निर्णायकहरुको निर्णयसंगै ग्लोवल अनलाईन पे मार्फत संचालन हुने अनलाईन भोटिङ मार्फत विजेताको छनौट गरिने छ । प्रतियोगिताका विजेताले नगद पुरस्कार, अवार्ड, ट्रफीको साथै म्युजिक भिडियो, सर्ट मुभि र वेभ सिरिजमा अभिनय गर्ने मौका समेत प्राप्त गर्नेछन। 

कोरोना कहरको अवस्था रहेपनि प्रतियोगितालाई मनोरन्जनात्मक र सफल बनाउन भरपुर कोशिश रहने प्रतिबद्धता आयोजक संस्थाका म्यानेजिङ डिरेक्टर राहुल जयसवालले व्यक्त गरेका छन् । कोरोना कहरको यस्तो अवस्थामा यस किसिमको कार्यक्रम गर्नु र नेपाली कला संस्कृतिलाई जोगाउन गरेका प्रयासले छुट्टै सकारात्मक संदेश पैदा गर्ने उनको भनाई छ। 

ओलीमाथि नेपाल पक्षको दबाबः एकताका लागि तीन प्रदेशमा निसर्त समर्थन

समाचार


काठमाडौँ — जेष्ठ ३१, २०७८। 

निर्वाचन आयोगको फैसलाबाट कार्यकारिणी समितिमा बहुमत जुटाएको उपेन्द्र यादव पक्ष आक्रोशित भएको छ। कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्दागर्दै पनि असफल भएको महन्थ ठाकुर पक्षलाई भने राहत मिलेको छ।

कार्यकारिणी समितिमा बहुमत जुटाएर आइतबार निर्वाचन आयोगमा दस्तावेज बुझाउने ठाकुर पक्षको तयारी थियो। यसका लागि आइतवार ठाकुर पक्षले कार्यकारिणी समितिको बैठक बोलायोे। आइतबार आयोगमा कागजपत्र बुझाउने अन्तिम दिन थियो। जेठ २३ मा निर्वाचन आयोगले भनेअनुसार ढाँचा पुर्‍याई दस्तावेज बुझाउन ठाकुर पक्षले एक साता मागेको थियो। सो समय आइतबार सकिँदै थियो।

उपेन्द्र यादव पक्षले भने निर्वाचन आयोगले भनेको भोलिपल्टै आयोगले भनेअनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७४ को अनुसूची १८ बमोजिम ढाँचा पुर्‍याएर दस्तावेज बुझाएको थियो। ठाकुर पक्षले आइतबार दुईपटक कार्यकारिणी समितिको बैठक राख्यो। पहिलो बैठकमा उद्योगमन्त्री राजकिशोर यादव नै अनुपस्थित भए।

निर्वाचन आयोगको फैसलाबाट आफैंले मागेको समयमा दस्तावेज बुझाउन नसकेर नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको जसपा ठाकुर पक्षले राहत महसुस गरेको छ। यादव पक्ष भने भनेअनुसार दस्तावेज बुझाउँदा पनि फैसला आफू अनुकूल नआएपछि आक्रोशित बन्न पुगेको छ।

ठाकुर पक्षले फेरि दुई घण्टापछि अर्को बैठक राख्यो। अर्को बैठकमा जसपाका १९ जना मात्र कार्यकारिणी समिति सदस्य उपस्थित भए। त्यस बैठकमा राजकिशोर उपस्थित भएका थिए। बहुमत कार्यकारिणी समितिका सदस्य उपस्थित नभएपछि ठाकुर पक्षका नेताहरू निर्वाचन आयोगमा दस्तावेज बुझाउन गएनन्। उनीहरू नयाँ पार्टी दर्ता गर्ने निष्कर्षमा पुगे। यस विषयमा पनि ठाकुर पक्षले बोलाएको कार्यकारिणीको बैठकमा छलफल भएको स्रोतको भनाइ छ। ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्न विधानको मस्यौदासमेत तयार पारेको छ। विधानमा दुईवटा अध्यक्ष राख्ने कि एउटा अध्यक्ष राख्ने भन्नेमा दुईवटा धारणा आएको स्रोतको भनाइ छ।

ठाकुर पक्षले दस्तावेज बुझाउने समय सकिएपछि आयोगले फैसला सुनायो। आयोगको फैसलाबाट ठाकुर पक्षलाई राहत पुगेको छ।  आजको नागरिक  दैनिकमा यो खबर प्रकाशित छ। 

नियुक्ति बदर माग राखी रिट

समाचार


काठमाडौँ — जेष्ठ ३१, २०७८। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसमा टेकेर गरिएका सिफारिस तथा नियुक्ति बदर गर्न माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

दुईपटकसम्म जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश र अध्यादेशलाई आधार मानी गरिएका काम बदरको माग गर्दै आइतबार रिट निवेदन दर्ता भएको हो।

अधिवक्ता ओमप्रकाश अर्यालले गत वैशाख २१ मा जारी गरिएको अध्यादेश प्रथम दृष्टिबाटै असंवैधानिक भएको दाबीसहित रिट निवेदन दर्ता गरेका हुन्। अध्यादेश जारी भएपछि वैशाख २६ मा संवैधानिक परिषद्को बैठक बसेर संवैधानिक निकायका रिक्त पदमा विभिन्न व्यक्तिको नाम सिफारिस गरिएको थियो। अध्यादेशलाई आधार मानेर गरिएका असंवैधानिक सिफारिस र नियुक्तिका काम अमान्य र बदर घोषित गर्न रिट निवेदकको माग छ।

अध्यादेशमा टेकेर संवैधानिक परिषद्मा दुईपटक नियुक्तिको सिफारिस गरिएको थियो। पहिलोपटक राष्ट्रिय मानवअधिकार आयोगलगायतका संवैधानिक समितिमा नियुक्ति गरिएको थियो। दोस्रोपटक अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतमा नियुक्ति गरिएको थियो। संसद्को सार्वजनिक सुनुवाइ समितिमा सुनुवाइपछि नियुक्ति हुने व्यवस्था रहे पनि प्रतिनिधिसभा विघटन भएको बेला सिफारिस गरिएका व्यक्तिले ४५ दिन पुगेपछि स्वतः नियुक्ति पाएका थिए।

अध्यादेशबमोजिम बसेका बैठकका निर्णय, सिफारिस तथा संवैधानिक नियुक्तिहरू संविधानवाद, संवैधानिक सुशासन, संवैधानिक शक्ति सन्तुलन, संविधानको प्रस्तावनाविपरीत भएको रिट निवेदनमा दाबी गरिएको छ।  आजको नागरिक  दैनिकमा यो खबर प्रकाशित छ। 

राजनीतिक दलको विवादको आवेदनः अनिर्णयको बन्दी

समाचार


काठमाडौँ — जेष्ठ ३१, २०७८। 

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहले एकअर्कामाथि गरेको कारबाही विधानसम्मत नदेखिएको भन्दै अभिलेखीकरणका लागि अस्वीकार गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र जानकी तुलाधरको आइतबार बसेको बैठकले यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै शैलीमा राजनीतिक दलभित्रको विवादमा निर्णय दिन अस्वीकार गरेको हो।

यसअघि नेकपामा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले पनि यसैगरी कारबाहीका लागि अनुरोध गर्दा आयोगले अभिलेखीकरण गर्न अस्वीकार गरेको थियो। यसबाट आयोग राजनीतिक दलको विवादलाई लिएर परेका आवेदनमा अनिर्णयको बन्दी बन्न पुगेको छ।

ठाकुर पक्षले यादवलाई र यादव पक्षले ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्णलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको भन्दै आयोगको दर्ता किताबमा अभिलेखीकरणका लागि अनुरोध गरेका थिए। दुवै पक्षको माग राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानसम्मत नभएको भन्दै ठाकुर र यादव अध्यक्ष रहेको जसपाको कमिटी नै आधिकारिक रहेको ठहर आयोगले गरेको हो।

कानुनी प्रावधानका आधारमा अध्ययन गर्दा निष्कासन भनेको दलमा आबद्ध व्यक्तिहरूलाई केही समय या सधैंका लागि निकाल्ने र पदाधिकारी हेरफेर भनेको बदल्ने, दलबाट कुनै पदाधिकारीको सट्टा अर्को पदाधिकारी परिवर्तन गर्ने वा जिम्मेवारी हेरफेर गर्ने कार्य हो,’ आयोगको निर्णयमा भनिएको छ, ‘पदाधिकारी हेरफेर गर्नु, बदल्नु, निष्कासन गर्नु र हटाउनु फरक अर्थ दिने विषय हुन्, ऐनको दफा ५१ मा भएको पदाधिकारी हेरफेर शब्दले निष्कासनसम्मको अर्थ जानिने गरी सो शब्द प्रयोग भएको विधायकी मनशायसमेत कानुन व्याख्याको सन्दर्भमा ग्राह्य र उचित देखिँदैन। त्यसैले दलबाट दुई अध्यक्षले पदाधिकारीलाई दलबाट निष्कासन गरी अद्यावधिकका लागि अनुरोध भई आएको विषयलाई कानुनसम्मत निर्णय मान्न सकिँदैन।’

आयोगको बैठकले जसपाका दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अभिलेखीकरणका लागि पठाएको तर उक्त दफामा पार्टीको पदाधिकारी हेरफेरको अभिलेखीकरण गर्ने व्यवस्था भएकाले दलका पदाधिकारीहरूलाई अनुशासनसम्बन्धी कारबाही गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको विषयलाई हेरफेर मान्न नसकिने ठहर गरेको छ।

‘दुवै पक्षले एकअर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गर्ने निर्णय अध्यावधिक गर्ने भनेकामा हामीले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानअनुसार नमिल्ने निर्णय आयोगले गरेको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ को उपनियम ६ बमोजिम राजपाको पदाधिकारीको विवरण साबिककै कायम रहेको जानकारी दुवै अध्यक्षलाई दिने निर्णयसमेत भएको छ।’  आजको नागरिक  दैनिकमा यो खबर प्रकाशित छ। 

दोहोरो सुविधा बुझ्दै जनप्रतिनिधिहरू

समाचार


काठमाडौँ — जेष्ठ ३१, २०७८। 

सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर,नगर प्रमुखदेखि वडा सदस्यसम्मका जनप्रतिनिधिहरूले दोहोरो सुविधा लिइरहेका भेटिन्छन् ।रामेछापका दुई नगरपालिका र छ गाउँपालिका गरी आठवटा स्थानीयतहमध्ये केही पालिकाका जनप्रतिनिधिले दोहोरो सुविधाबुझ्दै आएको खुलासा भएको छ ।

यसरी,दोहोरो सुविधालिनेमा गोकुल गंगा गाउँपालिका–२ ठोसेका वडा अध्यक्ष शेखर मान श्रेष्ठ र वडा नम्बर ३ रस्नालुका वडा अध्यक्ष नरबहादुर कार्की रहेका छन् । उनीहरूमध्ये ठोसेका वडा अध्यक्ष श्रेष्ठ पूर्वशिक्षक र वडा नं ३ का वडा अध्यक्ष कार्की पूर्वनेपाली सेनाका अवकास प्राप्त कर्मचारी हुन् ।

लिखु तामाकोसी गाउँपालिका–३ बिजुलीकोटका वडा अध्यक्ष यमबहादुर महतले पनि दोहोरो सुविधालिँदै आएका छन् । उनीपूर्व शिक्षकबाट अवकास प्राप्त कर्मचारी हुन । त्यस्तै,मन्थली नगरपालिका–२ कठजोरका वडा अध्यक्ष तरणीशंकर अधिकारी र वडा नं ११ का वडा अध्यक्ष भीमबहादुर मगरले पनिदोहोरो सुविधाबुझ्दै आएका छन् ।

यी दुई मध्ये अधिकारी पूर्व साविकको गाउँविकास समितिका सचिव पदबाट अवकास प्राप्त हुनुहुन्छ भने मगर पूर्वप्रहरी हवल्दार पदवाट अवकास प्राप्त कर्मचारी हुन् । त्यस्तै राज्यबाट दोहोरो सुविधालिने अन्य जनप्रतिनिधिमा खाँडादेवी गाउँपालिका–२ मझुवाका वडा अध्यक्ष इन्द्रलाललामा रहेका छन् ।

त्यसैगरी, सोहीगाउँपालिका–४ पकरवासका वडा अध्यक्ष धनबहादुर मानन्धर रहेका छन् । दुईमध्ये लामा पूर्वशिक्षक पदवाट अवकास प्राप्त कर्मचारी हुन भने मानन्धर पूर्वसशस्त्र प्रहरीबाट अवकास प्राप्त हुन ।यसैगरी, रामेछाप नगरपालिका–६ ओख्रेनीका वडा अध्यक्ष धनबहादुर खड्का वडानम्बर ९ का वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ रहेका छन्। दुवै जना अवकास प्राप्त पूर्वशिक्षक हुन । आजको नेपाल समाचारपत्र  दैनिकमा यो खबर प्रकाशित छ। 

युक्रेनमाथी नेदरल्यान्ड्सको रोमान्चक जित

समाचार


काठमाडौँ — जेष्ठ ३१, २०७८। 

नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । गयराति भएको खेलमा युक्रेनलाई ३-२ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले सुखद सुरुवात गरेको हो ।

आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ५२ औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए । दुई गोलले पछि परेपनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

खेलको ७९ औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । तर, खेलको ८५ औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-२ को जित दिलाए ।

यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ ।