health
||Rajyadainik||

आजको समाचार

जाडो मौसममा गर्नै नहुने ५ गल्ती

स्वास्थ्य


काठमाडौँ — मंसिर १०, २०७७। एजेन्सी

देशभर चिसो बढेको छ । भने देशका विभिन्न स्थानमा हिमपात समेत सुरु भइसकेको छ । तराईमा शीतलहर सुरु हुँदैछ । तापक्रम घट्दै गएको छ । यस्तो अवस्थामा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने हुन्छ । जाडो मौसममा गरिने हेलचेक््रयाइँले शरीरमा गम्भीर असर समेत पार्न सक्छ ।

जाडोको मौसममा साइनस, दम, सास फेर्न गाह्रो हुने जस्ता समस्या आउँछ । जाडोको मौसममा यस्ता समस्या भएका व्यक्तिलाई निकै समस्या बढाउँछ । त्यसैले जाडो मौसममा आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्छ । 

धेरै खाना 
जाडो मौसममा अत्यधिक खाना खाने गर्नुहुँदैन । धेरै खाना खाने र व्यायाम नगर्ने गर्दा शरीरको तौल अचानक बढ्ने र त्यसलाई कम गर्न निकै मेहेनत गर्नुपर्ने हुन्छ । 

कम पानी
जाडोको शुरुवातसँगै मानिसहरु पानी पिउन जोडिदिन्छन् । गर्मीको मौसममा पसिना धेरै आउने भएकाले पानी धेरै पिउने र जाडोमा कम पानी पिउने गर्छन् । त्यसैले जाडोमा पानी कमी हुने र डिहाइड्रेशनको समस्या आउने, ओठ फुट्ने जस्ता समस्या आउँछ । त्यसैले ६ देखि ८ गिलास पानी एक दिनमा पिउने गर्नुपर्छ । 

तातोपानीले नुहाउँने
जाडोमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तातोपानीले नुहाउँदा चिसो कम महसुस भएपनि यसले निकै नोक्सान कम गर्छ । गर्मी पानीले नुहाउँदा छाला सुख्खा र रुखो हुने र कहिलेकाँही तातोपानीले नुहाउँदा स्किन सेल्स ड्यामेज हुन्छ । 

धेरै क्रिमको प्रयोग
छाला सुख्खा हुने भएकाले जाडो मौसममा थुप्रै चिल्लो क्रिमको प्रयोग गर्ने गर्छन् । थरिथरिका क्रिमको प्रयोगले छाला बिग्रिने, छालामा विभिन्न प्रकारका समस्या आउने गर्छ । त्यसैले आफ्नो छालाका लागि उपयुक्त पुर्याउँने क्रिमको प्रयोग गर्नुपर्छ । 

धेरै तातो कपडा 
चिसोबाट बच्नका धेरै तातो कपडा लगाउने गरिन्छ । यसले शरीरलाई नोक्सान पुर्याउँछ । जाडो मौसममा धेरै कपडा लगाउँदा शरीरमा चिसो प्रतिरोधक क्षमता कम हुँदै जान्छ । र जाडो लाग्ने सम्भावना झनै बढी हुन्छ । 

(रातोपाटी)

पार्टनरको मात्रै होइन अन्य व्यक्तिको वीर्यमा पनि आकर्षित हुन्छन् महिलाका अण्डा

स्वास्थ्य


काठमाडौँ — मंसिर १०, २०७७। एजेन्सी

महिलाको अण्डा पार्टनरबाहेक अन्य पुरुषको वीर्यसँग पनि आकर्षित हुने र यसले थप राम्रो परिणाम दिने एक नयाँ अध्ययनले खुलासा गरेको छ । आइभीएफमार्फत् सन्तानको चाहना राख्ने १६ जोडीमाथि गरिएको अध्ययनले यस्तो बताएको हो ।

मंगलबार रोयल सोसाइटीको जर्नलमा प्रकाशित यो अनुसन्धानमा बेलायतको सेन्ट मेरिज अस्पतालमा प्रजनन सम्बन्धि उपचार गराइरहेका १६ जोडीको बढी भएका फोलिकुलर फ्लुड र वीर्यको स्याम्पलमाथि अनुसन्धान गरिएको थियो ।  सेन्ट मेरिज अस्पतालको यो अनुसन्धानका वरिष्ठ लेखक तथा म्यानचेस्टर युनिभर्सिटी एनएचएस फाउन्डेशन ट्रस्टका प्राध्यापक डेनियल ब्रिसनका अनुसार महिलाको अण्डा उनको पार्टनरसँग मात्रै आकर्षित हुने अनुमान गरिन्छ ती अन्य पुरुषको वीर्यतर्फ पनि आकर्षित हुने तथ्य फेला परेको छ ।  

अण्डा र वीर्यको अनुकूलताले आइभीएफमार्फत् बच्चा जन्मने प्रक्रियालाई प्रभावित गर्छ ।

महिलाको अण्डाले केमोट्र्याक्ट्यान्ट्स नामको रसायन श्राव गर्छ जसले वीर्यका लागि सिग्नलको काम गर्दै गर्भ बस्नलाई प्रोत्साहित गर्छ । तर केही महिलामा यहि रसायन पार्टनरको तुलनामा अन्य पुरुषको आकिर्षत भएर राम्रो नतिजा दिने गर्छन् ।

स्विडेनको स्टकहोम युनिभर्सिटीका सह–प्राध्यापक जोन फित्ज्प्याट्रिकका अनुसार महिलाको शरीर आफैंले त्यस्तो वीर्य छान्ने गर्छ जुन सन्तान उत्पादनका लागि अनुकूल हुन्छ, जुन राम्रो गुणस्तरको र भाग्यमानी हुन्छ ।

उनका अनुसार यौनसम्बन्ध स्थापित गरेपछि फ्यालोपियन ट्युबमा मात्र २५० वीर्य प्रवेश गर्छन् । यीमध्ये २५ वटा यस्ता वीर्य हुन्छन् जुन  अण्डासँग मिल्ने गर्छ

यो अनुसन्धानले सन्तान उत्पादन गर्न समस्या भइरहेकाहरुलाई निकै हदसम्म सहयोग गर्ने अनुमान गरिएको छ ।

अनुसन्धानका लागि ६० महिलाको ‘एग फ्लुड’ लिइयो । साथै उनका पार्टनरको स्याम्पल पनि लिइयो । वीर्य ‘एग फ्लुड’ सम्म पुग्नका लागि एक मिनेटभन्दा कम समय लाग्यो ।

साथै विशेषज्ञले एक जोडीको वीर्य र अण्डालाई अर्को जोडीसँग सम्मिलित गरे । यसमार्फत् महिलाको अण्डा अन्य पुरुषको वीर्यतर्फ बढी आकर्षित भएको पत्ता लाग्यो ।

स्रोतः सीएनएन

कोरोना खोप खरिद गर्न ५० अर्ब

स्वास्थ्य


काठमाडौँ — मंसिर १०, २०७७। 

नेपालले विश्व बजारमा कोरोना भाइरसको खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्रयाउन रहेका कानुनी बाधा फुकाइसकेको छ ।

खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले दिए ।

खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ ।

डा गौतमले भने, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु प¥यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ ।”
दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि छिट्टै खोप ल्याउन सहज हुनेछ ।

अहिले नेपाल आउन लागेका खोप त्यही मापदण्डभित्रकै छन् । विश्व स्वास्थ्य सङ्गठनले थालेको कोभ्याक्स अभियान अन्तर्गत आउने खोप र व्यवसायगत हिसाबले विश्व बजारमा आउने जुनसुकै खोप नेपाल ल्याउन सरकारले तयारी गरेकाले नेपालीले कोभिड विरुद्धको खोप छिट्टै लगाउन पाउने आशा पनि बढाएको हो ।

सहुलियतको खोप र व्यावसायिक रूपमा खरिद गर्ने दुवै थरी खोप नेपाल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयले हातेमालो गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।

त्यस अनुसार खोप नेपाल ल्याउन स्वास्थ्य सेवा विभाग खोप शाखाअन्तर्गत डा श्यामराज उप्रेतीको संयोजकत्वमा बनेको विज्ञ समूहले योजना सहितको प्रस्ताव बनाएर स्वास्थ्य मन्त्रालयमा पेस गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

कोरोना संक्रमित मन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

स्वास्थ्य


हेटौंडा — मंसिर ९, २०७७। 

वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण हेटौंडा सिमेन्ट उद्योगस्थित आफ्नै क्वार्टरमा आइसोलेसनमा बसेका मन्त्री लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको सचिवालयले जनाएको छ । ‘उहाँमा खोकी धेरै देखियो ।

हेटौंडामा डाक्टरहरुले थप उपचार काठमाडौं गएर गर्न सुझाएपछि सोही अनुसार गरेका हौं,’ मन्त्रीका स्वकीय सचिव सुरज थपलियाले भने । उनका अनुसार मन्त्री लामामा निरन्तर खोकी बढेका कारण समस्या देखिएको छ । ‘निरन्तर खोकी लागिरह्यो । शरीरमा अक्सिजनको मात्र पर्याप्त नभएको कारण थप उपचार काठमाडौंमै गर्नुपर्ने डाक्टरहरुको समेत सल्लाह रहेको छ,’ उनले भने ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा मंसिर ५ गते गरेको स्वाब परीक्षणमा मन्त्री लामालाई कोरोना संक्रमण देखिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत् मंगलबार बिहान १०:३० बजे उनलाई काठमाडौं लगिएको हो । उनको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा उपचार गरिनेछ ।

यसअघि वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पनि कोरोना संक्रमण भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको थियो । मुख्यमन्त्री पौडेल कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

(कान्तिपुर दैनिक)

उपत्यकाका विद्यालय खोल्ने अवस्था छैन्

स्वास्थ्य


काठमाडौँ — मंसिर ८, २०७७। 

कोरोना भाइरसको हटस्पष्ट बनेको राजधानी उपत्यकामा तत्काल विद्यालय खोल्ने सक्ने अवस्था नरहेको उपत्यका मेयर फोरमले निष्कर्ष निकालेको छ ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेको अवस्थामा विद्यालय खोल्न सक्ने सम्भावना कम रहेको बताएका हुन् ।

चिसो मौसममा कोरोना संक्रमितको संख्या बढ्न सक्ने आकलन गर्दै यो विषयमा तत्काल निर्णय लिनसक्ने अवस्था नभएको मेयर फोरमले निष्कर्ष निकालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको अवस्थाको विश्लेषण गरी विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएपछि फोरमले उक्त निष्कर्ष निकालेको हो । मन्त्रालयले करिब डेढ साताअघि कार्यढाँचा सार्वजनिक गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई सुम्पेको थियो ।

तत्काल विद्यालय खोल्ने वा नखोल्ने विषयमा महानगरले निर्णय गर्ने मेयर शाक्यले बताउनुभयो । उपत्यकाका तीन जिल्लाका विद्यार्थी तीनवटै जिल्लामा रहेका विभिन्न विद्यालयमा पढ्न जाने भएका कारण सबैको एउटै धारणा हुनुपर्ने मेयर शाक्यले बताए ।

‘पहिला उपत्यकाको अवस्थाबारे अध्ययन गर्छौं, त्यसपछि निर्णय गर्ने छौं ।’ उनको भनाई छ । मेयर शाक्यका अनुसार विद्यालय खुला गर्नुअघि कार्यविधि अध्ययन गरी विष्लेषण गर्ने र त्यसपछि सामूहिक निर्णय गर्ने तयारी गरेको छ ।

झन्डै एक लाख हाराहारीमा संक्रमित रहेको उपत्यकामा विद्यालय खोल्नुअघि करिब ३ हजार आइसोलेसन वेड तयार गर्ने, स्वाथ्य मापदण्डको विषयमा अध्ययन गर्ने, विद्यालयहरुको भौतिक अवस्थाबारे जानकारी लिनेलगायत विषयमा विस्तृत अध्ययनपछि मात्रै विद्यालय खोल्ने वा नखोल्ने विषयमा निर्णय गर्ने महानगरले तयारी गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

जोखिम भत्ता नपाउँदा स्वास्थ्यकर्मी निराश

स्वास्थ्य


वीरेन्द्रनगर,दैलेख — मंसिर ७, २०७७।

कोरोना त्रासले सताइरहेका बेला दुल्लु अस्पतालका केही स्वास्थ्यकर्मी र कार्यालय सहयोगी भने आफूलाई आइसोलेसन र क्वारेन्टाइनमा ड्युटीमा खटाउन अस्पताल प्रमुखसँग अनुरोध गर्थे । यसको कारण थियो– सरकारले दिने भनेको कोरोना विशेष भत्ता । तर भत्ताको आसमा जोखिमको समयमा ड्युटी गरेका ती स्वास्थ्यकर्मीहरू अहिलेसम्म भत्ता नपाउँदा निराश छन् ।

‘ड्युटीमा लगाउने मलाई अहिले निकै न्यास्रो लाग्ने गरेको छ,’ अस्पताल प्रमुख पूजा बीसी भन्छिन्, ‘पैसाका लागि जोखिम मोल्न तयार भएका सहकर्मीहरू त झन् निराश भएका छन् । अस्पतालका स्वास्थ्यकर्मीले चैतदेखि कोरोना जोखिम भत्ता पाएका छैनन् । अस्पतालका प्रमुख डा. बीसीले स्थानीय तहले केन्द्र सरकारबाट बजेट आएपछि मात्रै दिने भनेको बताइन् । ‘हामीले त प्रदेश सरकारले दिने भनेको प्रोत्साहन भत्ता पनि पाएका छैनौं,’ उनले भनिन्, ‘जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले पाए, तर हामीले प्रोत्साहन र जोखिम भत्ता पाएका छैनौं ।’ उनका अनुसार क्वारेन्टाइन र आइसोलेसनमा कार्यरत ३५ जना स्वास्थ्यकर्मी भत्ताबाट वञ्चित भएका हुन् ।

दुल्लु नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइनमा ड्युटी गरेबापत डाक्टरलाई दैनिक ३ हजार रुपैयाँ र अन्य स्वास्थ्यकर्मीलाई तहअनुसार २ हजार र १ हजार ५ सयका दरले दिने निर्णय गरेको थियो । सोहीअनुसार नगरपालिकामा ३२ लाख रुपैयाँ माग गरिएकामा अहिलेसम्म नपाइएको उनले बताइन् । ‘जोखिमका बेला ड्युटी गरेका साथीहरूले भत्ता चाहियो भनेर दबाब दिइरहनुभएको छ,’ उनले भनिन्, ‘नगरपालिकाले भने बजेट छैन भन्दै दिन मानेको छैन ।’

अरू स्वास्थ्यकर्मी तथा चिकित्सकले गत आर्थिक वर्षसम्मको जोखिम भत्ता पाए पनि आफूहरूले कुनै भत्ता पनि नपाएको डा. बीसीको गुनासो छ । ‘हामीलाई स्थानीय तहले दिनुपर्ने हो,’ उनले भनिन्, ‘मलाई स्वास्थ्यकर्मी तथा कर्मचारीबाट दबाब आएपछि नगरपालिकामा गत वर्षको मात्रै भए पनि जोखिम भत्ता माग गर्‍यौं तर पाइएन ।’ नगर प्रमुख घनश्याम भण्डारी राजस्व बाँडफाँटको बजेट नआएकाले दिन नसकिएको बताउँछन् ।

दुल्लु अस्पताल मात्र होइन, कर्णालीको सबैभन्दा ठूलो सुर्खेतस्थित प्रदेश अस्पतालमा पनि स्वास्थ्यकर्मी र चिकित्सकले कोरोना विशेष भत्ता पाएका छैनन् । स्वास्थ्यकर्मीले ४ महिनादेखि जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । गत असारसम्म जोखिम भत्ता पाएका स्वास्थ्यकर्मी तथा चिकित्सकले त्यसयताको भत्ता भने नपाएका हुन् । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नवौं तहका एक चिकित्सकले आफूहरू जोखिम मोलेर काम गर्दा पनि सरकारले दुःख नबुझेको गुनासो गरे । ‘हामीले गरेको सेवाअनुसारको सरकारले पनि भत्ता दिनुपर्ने हो,’ उनले भने, ‘भन्न त दिने नै भनेको छ तर खै अब कहिले पाइन्छ ।’ बढी स्वास्थ्यकर्मी र चिकित्सक कोरोना संक्रमित भएका प्रदेश अस्पतालकै स्वास्थ्यकर्मीले कोरोना विशेष भत्ता नपाउनु दुःखद भएको अर्का चिकित्सकले बताए । ‘हामीले अरूको तुलनामा जोखिम बढी मोल्नुपरेको छ,’ उनले भने, ‘हामीले संकटका बेला जोखिमको पनि वास्ता नगरी काम गरिरहेका बेला सरकारले यतिका महिनासम्म पनि भत्ता नदिनु राम्रो होइन ।’

स्वास्थ्य मन्त्रालयले गत वैशाखमा जारी गरेको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिकाअनुसार फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने भनिएको थियो । कोरोना संक्रमणको समयमा फ्रन्टलाइनमा खटिएकामध्ये अहिलेसम्म प्रदेश अस्पतालका मात्रै १ सय ५ जना स्वास्थ्यकर्मी तथा चिकित्सक कोरोना संक्रमित भइसकेका छन् । जोखिम मोलेर कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरू भत्ता नपाउँदा कामप्रतिको ऊर्जा घटेको बताउँछन् । ‘कोरोना संक्रमितको नजिक हुन्छन् भनेर हामीसँग आफन्तै पनि टाढिन्छन्,’ प्रदेश अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘यो महामारीमा आफ्नो ज्यानै जोखिममा राखेर काम गर्ने हामीजस्ता स्वास्थ्यकर्मीमाथि अन्याय गरेको छ ।’

प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार प्रदेश सरकारले दिने प्रोत्साहन भत्ता र केन्द्र सरकारले दिने भनेको कोरोना विशेष भत्ताबीच तालमेल नमिलेकाले स्वास्थ्यकर्मीले भत्ता नपाएका हुन् । ‘प्रदेश र केन्द्र दुवैबाट भत्ता लिन नपाउने भनिएको छ,’ उनले भने, ‘कोरोना भत्ता पाउनेले प्रदेश सरकारले दिने भत्ता नलिने र प्रदेश सरकारले दिने भत्ता पाएकाले कोरोना भत्ता पाउने छैनन् ।’

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले सरकारसँग बजेट माग गरेर भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए । उनका अनुसार मंसिरदेखि फ्रन्टलाइनरबाहेक अरूलाई भत्ता नदिने भनिएको छ । कर्णालीका स्वास्थ्यकर्मीले साउनदेखि नपाएको भत्ता भने उपलब्ध गराइने शाखा प्रमुख शाहीको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले पनि गत वर्ष माघदेखि लागू हुने गरी कर्णालीमा कार्यरत चिकित्सकका लागि भौगोलिक विभाजनका अतिरिक्त तह तथा पदका आधारमा विशेष प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । ११ औं तहका विशेषज्ञ चिकित्सक सुर्खेतमा कार्यरत भए तलबको ७५ प्रतिशत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा मासिक ९० प्रतिशत सुविधा दिने भनिएको छ । यस्तै, कालीकोट र जुम्लामा मासिक सय प्रतिशत तथा मुगु, डोल्पा र हुम्लामा १ सय ३५ प्रतिशत थप सुविधा दिइने उल्लेख थियो  ।

नवौं र दसौं तहका विशेषज्ञ चिकित्सक सुर्खेतमा भए तलबको ७५ प्रतिशत सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा ८० प्रतिशत प्रोत्साहन भत्ता दिने भनिएको थियो । चिकित्सकलाई कालीकोट र जुम्लामा मासिक ९० प्रतिशत तथा मुगु, डोल्पा र हुम्लामा मासिक १ सय २५ प्रतिशत सुविधा थप्ने निर्णय गरिएको कार्यालयले जनाएको छ । आठौं तहका चिकित्सक सुर्खेतमा कार्यरत भए तलबको ५० प्रतिशत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेखमा ६० प्रतिशत, कालीकोट र जुम्लामा मासिक ७५ प्रतिशत अतिरिक्त सुविधा पाउने भनिएको छ । मुगु, डोल्पा र हुम्लामा मासिक एक सय प्रतिशतले विशेष सुविधा दिइने भएको हो ।

जागिर जाने चिन्ता
प्रदेश अस्पतालमा ‘चौबीस घण्टे प्रसुति कार्यक्रम’ (सीईओएलटी) मा कार्यरत तीन जना स्टाफ नर्स सामाजिक विकास मन्त्रालयबाट बजेट नआएपछि तनावमा परेका छन् । साउनमा नियुक्ति पाएका उनीहरूलाई अस्पताल प्रशासनले माघ मसान्तसम्मका लागि मात्र बजेट आएको जवाफ दिएको छ । ‘हामीसँगै नियुक्ति पाएका अन्य स्वास्थ्यकर्मीले असार मसान्तसम्मकै नियुक्ति पाएका छन्, हामीलाई भने बजेट छैन भनेर फागुनसम्मको मात्र नियुक्ति दिइएको छ,’ तीमध्येकी एक स्टाफ नर्सले भनिन्, ‘कोरोनाको बेलासमेत रात–दिन नभनी ड्युटी गर्‍यौं, अहिले जागिरै जाने अवस्थाले चिन्तित बनाएको छ ।’ यस वर्षको दसैं भत्तासमेत नपाएको उनले बताइन् ।

(कान्तिपुर दैनिक)

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

स्वास्थ्य


सिरहा —   मंसिर ७, २०७७।

लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड गरेका छन् ।

प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकहरू बेपत्ता भएको महिलाका आफन्तले बताएका छन् । साहको मृत्युपछि उनीहरूले रातिदेखि नै प्रदर्शन गरिरहेका छन् । ‘डाक्टरले लापरबाही गरेकैले मेरी पत्नीको मृत्यु भएको हो,’ पति प्रमोद साहले भने । लापरबाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ । आक्रोशित स्थानीयले आइतबार बिहान ८ देखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित अस्पताल चौक खण्डमा यातायातसमेत अवरुद्ध गरेका थिए ।

स्थानीय प्रशासनले अस्पतालअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ । नवजात शिशु भने सकुशल छन् । उनलाई त्यहाँबाट सप्तऋषि अस्पताल लगिएको छ ।

(कान्तिपुर दैनिक)

कोरोना कोषको २ अर्ब ४५ करोड सकियो

स्वास्थ्य


काठमाडौं —  मंसिर ७, २०७७।

कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गठन गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम अभाव भएको छ ।

कोरोना महामारी सुरु भएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग पु(याउने उद्देश्यले प्रधानमन्त्री कार्यालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्दै रकम संकलन गरेको थियो ।

कोषमा रकम अभाव भएपछि कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलको अध्यक्षतामा हालै बसेको १२औं बैठकले कोषका लागि सरकारसँग थप १ अर्ब रुपैयाँ माग गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रहेको रकमबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष सञ्चालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार सहायता कोषमा अहिले झन्डै ४ अर्ब रुपैयाँ रहेको छ । सो ४ अर्बबाट कोषले १ अर्ब रुपैयाँ माग गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सो कोषमा जम्मा भएको २ अर्ब ७७ करोड रुपैयाँमध्ये हालसम्म २ अर्ब ४५ करोडभन्दा बढी रकम सकिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न तथा संक्रमितको उपचारका लागि भन्दै सरकारी कर्मचारी तथा विभिन्न संघसंस्थाले सो कोषमा रकम सहयोग गरेका थिए । पछिल्लो समयमा कोषमा सहयोग गर्ने दाताहरूको संख्यामा कमी आएपछि कोषमा रकम अभाव भएको हो । हाल कोषमा झन्डै ३० करोड रुपैयाँ मात्रै मौज्दात रहेको आजको राजधानी दैनिकमा खवर छ ।

खोपलाई ७० अर्ब

स्वास्थ्य


काठमाडौं —  मंसिर ७, २०७७।

सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ। त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ।

‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले भने, ‘सबैभन्दा पहिला कुन खोप आउँछ रु त्यो खोप कति महँगो हुन्छ रु त्यसका आधारमा पनि बजेट भर पर्छ।’ प्रवक्ता गौतमका अनुसार अमेरिका, बेलायत, चीन, रुसलगायत मुलुकमा परीक्षण भइरहेका खोपमध्ये प्रभावकारिता र गुणस्तरका आधारमा खरिद गरिने आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

खोप परीक्षणको नतिजाले जगायो आशा

स्वास्थ्य


लन्डन — मंसिर ५, २०७७। 

कोभिड–१९ विरुद्ध खोप विकास गरिरहेका वैज्ञानिकहरू सफलताको नजिक पुगेका खबर आउने क्रम जारी छ । खोपको प्रभावकारिताबारे गरिएको तेस्रो तथा अन्तिम चरणको मानव परीक्षणको नतिजा सकारात्मक देखिएसँगै विश्वभर आशा जागेको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको कोभिड—१९ विरुद्धको खोपले ६० देखि ७९ वर्ष उमेर समूहका मानिसमा बलियो रोगप्रतिरोधी प्रतिक्रिया देखाएको बिहीबार अनुसन्धानकर्ताले जनाएका छन् । उक्त उमेरसमूह भाइरस संक्रमणबाट सबैभन्दा बढी जोखिममा रहेको समूह हो ।

बीबीसीका अनुसार खोप परीक्षण क्रममा सहभागीलाई १८ देखि ५५ वर्ष, ५६ देखि ६९ वर्ष र ७० वर्षमाथि उमेर समूहमा विभाजन गरिएको थियो तर ७० वर्षमाथिका वृद्धवृद्धामा पनि १८ देखि ५५ वर्ष उमेर समूहका जस्तै भाइरस प्रतिरोधी क्षमताको विकास भएको पाइएको छ । परीक्षणमा सहभागी ९९ प्रतिशतमा खोपको दोस्रो डोज लगाएको दुई सातामा एन्टीबडी विकास भएको थियो । अनुसन्धानकर्ताले ५ सय ६० जना स्वस्थ वयस्कमा गरिएको खोप परीक्षणको नतिजा ‘उत्साहजनक’ भएको पनि जनाएका छन् ।

उक्त खोपको तेस्रो चरणको परीक्षण अझै जारी छ । तेस्रो चरणको खोप परीक्षण गरिसकेका कम्पनीहरू फाइजर र बायोएनटेक, स्पुतनिक, सिनोभ्याक बायोटेक र मोडेर्नाले राम्रो प्रारम्भिक नतिजा देखाएको बताएका छन् । अमेरिकी फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले विकसित गरेको कोभिड–१९ विरुद्धको खोपले ६५ वर्षमाथिका ९४ प्रतिशत बिरामीलाई जोगाउने बताइएको छ । अन्तिम चरणमा रहेको उक्त खोप परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी थिए । तीमध्ये आधालाई खोप र आधालाई ‘प्लेसबो’ दिइएको थियो ।

तेस्रो चरणमा जारी परीक्षणले सबै उमेरसमूह र जातीय पृष्ठभूमिका मानिसमा बराबर काम गरेको पनि ती कम्पनीको दाबी छ । उनीहरूले आपत्कालीन प्रयोगका लागि अमेरिकामा छिट्टै अनुमति लिइने जनाएका छन् ।

कोभिडविरुद्धको खोप उत्पादनमा अग्रमोर्चामा रहेको अमेरिकी कम्पनी मोडेर्नाले विकसित गरेको खोपले ९५ प्रतिशत बिरामी निको हुने जनाइएको छ । सो खोप भण्डारण र ओसारपसार गर्न फाइजरभन्दा सजिलोसमेत देखिएको छ । मोडेर्नाको खोप घरायसी वा क्लिनिकको फ्रिजमा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रममा ६ महिनासम्म राख्न सकिनेछ । बेलायतले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप १० करोड डोज, फाइजर र बायोएनटेकको ४ करोड डोज र मोडेर्नाको ५० लाख डोज अग्रिम अर्डर गरिसकेको छ ।

उता चीनको सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोगप्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ जनामा गरिएको थियो । उक्त खोप मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताको दाबी छ । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोप तयार गरिरहेको छ ।

बेलायतको बर्नमाउथ विश्वविद्यालयमा आबद्ध जनस्वास्थ्यविद् डा. निर्मल अर्याल पछिल्ला समाचारमा विश्वास गर्न सकिने प्रशस्त आधार देख्छन् । ’अन्तरिम समीक्षाको नतिजामा शुभ संकेत छ तर सबै उमेर समूह, लिंग वा जाति विशेषलाई काम गर्छ, गर्दैन हेर्नुपर्ने हुन्छ,’ अर्यालले भने ।

(कान्तिपुर दैनिक)