health
|| Rajyadainik ||

आजको समाचार

कोरोना नियन्त्रणका लागि गरिएका योजना कागजमै सीमित

स्वास्थ्य


म्याग्दी - बैशाख १३

म्याग्दी, कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकामा तीनवटै सुरक्षा निकाय र स्थानीय तहका कर्मचारीको उपस्थितिमा होल्डिङ सेन्टर सञ्चालन गरेको बताउन्छन् । तर आइतबार दिउँसो म्याग्दीको प्रमुख नाका कालीपुल पुग्दा त्यस्तो देखिएन ।

कालीपुलको नाकामा एक जना नेपाल प्रहरीका कर्मचारीले मात्र जाँच गरिरहेका थिए । स्थानीय तयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन गरिएको भनिएको होल्डिङ सेन्टर बन्द थियो । बजारमा बढ्दो भिडभाड तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लापरवाहीले म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थालेको हो ।

यही वैशाख ९ गते ११ जनामा कोरोना पुष्टि भएको म्याग्दीमा आइतबार थप छ जनामा कोरोना सङ्क्रमण भएको छ । यही दरमा सङ्क्रमण बढेको अवस्थामा अस्पताल र स्वास्थ्य संस्थाले कोरोनाका बिरामीको उपचारका लागि चाप धान्न नसक्ने चिकित्सकले बताएका छन् ।

बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भएको लापरवाहीले सङ्क्रमण फैलिएको बताए । “हात धुने ठाउँ हटेका, भीडभाड हुन थालेका, मास्क लगाउन छाडेका छन्”, उनले भने, “ओपिडिमा धेरैजसो श्वासप्रश्वासका बिरामी आउन थालेका छन् । भिड नियन्त्रण र अनुशासनमा नरहने हो भने म्याग्दीमा कोरोना भयावह हुने खतरा छ ।”

विदेश, कोरोना फैलिएका जिल्ला तथा शहरमा हुने आवतजावत, पर्यटक, मेला, जात्रा, धार्मिक र सांस्कृतिक कार्यक्रम, राजनीतिक गतिविधिले कोरोना फैलिने जोखिम बढाएको हो । बेनी अस्पतालमा पाँच शय्या क्षमताको सघन उपचार कक्ष सञ्चालन र सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउने व्यवस्था मिलाइएको छ ।

स्थानीय तहले स्थापना गरेका पाँच÷पाँच शय्या क्षमताको कोरोना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको तीन महिनाका लागि गरिएको करार सम्झौताको म्याद सकिएको छ । धौलागिरि गाउँपालिकाले भर्ना गरेका चिकित्सकलाई सेवा करारको अवधि थप गर्न लागेको छ । बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइले सङ्क्रमितको उपचारमा पूर्वाधार अभाव भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

“भवन निर्माण अलपत्र हुँदा पूर्वाधार अभावले नियमित सेवा प्रवाह र उपचार प्रभावित बनेको छ”, उनले भने, “निर्माणाधीन भवनका केही कोठालाई रङरोगन र व्यवस्थापन गरेर कोरोना अस्पताल बनाउने छलफल चलेको छ तर कोरोना अस्पताल राखेको निहुँमा ठेकेदारलाई बाहना खोज्ने वातावरण नबनोस् भनेर सचेत हुनुपर्ने छ ।”

सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालय, बैंक, वित्तीय, शैक्षिक संस्थामा मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने व्यवस्था छैन । जोखिम बढे पनि स्थानीय तह, सुरक्षा निकाय, प्रशासन र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबीच समन्वयमा काम हुन सकेको छैन तर प्रजिअ अधिकारी भने सुरक्षा निकायले पूर्णरूपमा साथ दिएको र स्थानीय तहहरुसँग प्रभावकारी समन्वय भएको जिकिर गरे। होल्डिङ सेन्टरमा बाहिरबाट आउनेको विवरण दर्ता गरेर सम्बन्धित वडा र पालिकासँग समन्वय गरेर पठाउने व्यवस्था मिलाएको प्रजिअ अधिकारीले बताए ।

कोरोना पुष्टि भएकाको पसल बन्द गराएको, सम्पर्कमा रहेकालाई क्वारेन्टिनमा बस्न लगाएको प्रजिअले बताए । सचेतनाका लागि जिसस प्रमुख देवेन्द्र केसीको उपस्थितिमा बजारमा घरदैलो गरे पनि नागरिकले मापदण्ड पालनामा बेवास्ता गरेका उनले भने । रासस

घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, मुलुकभर कोरोना भाइरस संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला मृत्युदर पनि बढेको छ। नेपालमा औसतमा प्रत्येक घण्टामा ज्यान जान थालेको छ। पछिल्लो २४ घण्टामा आइतबार २८ जनाको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी बाँकेका ६ जना छन्।

कोरोनाको दोस्रो लहर सुरु भएयता आइतबार मृत्यु हुनेको संख्या सबैभन्दा उच्च हो। यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो। शनिबार १४ जनाको निधन भएको थियो।

मुलुकभर आइतबार संक्रमित भने ३ हजार १ सय २२ जना थपिएका छन्। ९ हजार २ सय ९२ पीसीआर र ७ सय ६ एन्टिजेन गरी १० हजार ७८ जनाको परीक्षण गरिएको थियो। काठमाडौं उपत्यकामा १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ गरी १ हजार ४ सय ९८ जना संक्रमित छन्। मुलुकभर २ सय ५२ जना सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका छन्। जसमध्ये ६५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। मुलुकभर ६९ जना क्वारेन्टाइनमा छन्।

प्रवक्ता डा। गौतमले पछिल्लो २४ घण्टा (आइतबार)मा ४ सय ५० जना डिस्चार्ज भएको बताए। हालसम्म कोरोनाबाट मुक्त हुने दर ९२.५ प्रतिशत छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट

वीरगन्जमा संक्रमण दर ७० प्रतिशत

स्वास्थ्य


वीरगन्ज - बैशाख १३

वीरगन्ज, वीरगन्जमा केहि दिन यता कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ। वीरगन्जमा ४ दिन अघिसम्म संक्रमण दर ५० प्रतिशतभन्दा बढी थियो। तर ३ दिन यता भने संक्रमण दर ६० देखि ७० प्रतिशतसम्म पुगेको छ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति परीक्षण गराएका मध्ये ७० प्रतिशतभन्दा बढीमा संक्रमण भेटिएको छ। आइतबार राति १४० जनाको स्वाब नमूना परीक्षण गर्दा ९९ जनामा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

थपिएका ९९ संक्रमित मध्ये पर्सा जिल्लाको मात्रै ८६ जना छन्। तीमध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ८० जना रहेको डाक्टर दासले जानकारी दिए।
पर्सा जिल्लाकै विन्दवासीनी गाँउपालिकाका ३ जना तथा बहुदरमाइ नगरपालिका, पोखरीया नगरपालिका र छिपहरमाइ गाँउपालिकाका १(१ जनामा पनि संक्रमण भेटिएको हो।

यस्तै बारा जिल्लाका १० जना, रौतहट जिल्लाका २ जना र सर्लाही जिल्लाका १ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए। यसअघि शनिबार बेलुकी पनि वीरगन्जको नारायाणी अस्पतालमै १४० जनाको परीक्षण गर्दा ६४ प्रतिशतमा अर्थात ९० जनामा संक्रमण पुष्टि भएको थियो।
नारायणी अस्पतालकै प्रयोगशालामा शुक्रबार साँझ पनि १३९ जनाको पीसीआर परीक्षण गर्दा ६२ प्रतिशत अर्थात ८६ जनामा संक्रमण भेटिएको थियो।
वीरगन्जमा केही दिन यता संक्रमण उच्च दरमा बढिरहेकाले यसले अवस्था नियन्त्रण बाहिर गइरहेको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए। अन्नपूर्ण पोस्ट् दैनिकबाट

आवश्यकता अनुसार बन्दाबन्दी गर्न चिकित्सकको सुझाव

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै ह्वात्तै संक्रमण बढेकाले यसले भयावह निम्त्याउने संकेत गरेको बताए ।

‘कोरोना आगामी केही सातामै चुनौतीपूर्ण हुन सक्ने भएकाले बेलैमा यसलाई रोक्न कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउने र भौतिक भेटघाटविनाको जीवनशैली अपनाउनुको विकल्प छैन,’ उनले भने । बन्दाबन्दी विकल्प नभएको बताउँदै उनले सरकारले छोटो समयका लागि आवश्यकताअनुसार बन्दाबन्दी गरी त्यसबीचमा कोरोनासँग लड्न आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि हाल आईसीयू र भेन्टिलेटर लगभग भरिसकेको चिकित्सकहरूले बताउँदै आएकोमा बिरामीले अस्पतालमा बेड नपाएको बताउँदै आएका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खोप लिएकाबाट अरुलाई कोरोना सार्ने सम्भावना उच्च

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् । नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जानले दोस्रो मात्रा पनि लिइसकेका छन् । यो हिसाबले कुल जनसंख्याको ७ प्रतिशत खोप लिएका छन् ।

खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरुबाट अरुलाई सार्ने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीका अनुसार कोरोना भाइरस नयाँ रोग भएको र नयाँ रोगको खोप भएकाले यसको प्रभावकारिता अवधि हेर्न बाँकी छ ।

खोप उत्पादनकर्ताका अनुसार कुनै पनि खोपको रोगसित लड्ने प्रतिरक्षा क्षमता सय प्रतिशत नहुने भएकाले खोप लिएपछि पनि जोखिम कायमै रहन्छ । आजको नागरिक दैनिकमा समाचार छ ।

दुई-तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमै सकिने अवस्था

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, कोरोना महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन् । 

‘पहिले सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राज भण्डारीले भने, ‘अहिले लक्षण कडा खाले छन् र रोगले छिटो च्याप्ने गरेको देखिएको छ ।’

उक्त अस्पतालले भारतबाट तरल अक्सिजन ल्याएर प्लान्टमा राखी पाइपमार्फत सीधै बेडमा पुर्याउने गरेको छ । राजभण्डारीले दुई–तीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमा सकिने अवस्था आएको बताउँदै त्यसपहिले नै भारतबाट आपूर्ति हुने जानकारी दिए ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले गरेको एक अध्ययनअनुसार पहिलो लहरमा ४१.५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पर्थ्यो भने दोस्रो लहरमा ५४.५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक रहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थाल्याे

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भनेको छ ।

मृत्युदरले कोभिडको विस्तार भयावह अवस्थातिर गइरहेको स्पष्ट संकेत गरेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले बताए । ‘नेपालजस्तो थोरै जनसंख्या भएको देशमा एकै दिन २८ जनाको मृत्यु हुनु जटिल अवस्था निम्तिसकेको संकेत हो,’ उनले भने, ‘बढ्दो मृत्युदरले बिरामीले अस्पतालमा राम्रो स्याहार पाउन नसकिरहेको अवस्थासमेत छर्लङ्ग भएको छ ।’

विज्ञहरूले दिनहुँ थपिइरहेका कोरोना संक्रमितको वास्तविक अवस्था अज्ञात रहेको औंल्याएका छन् । उनीहरूका अनुसार परीक्षण प्रक्रियामा नआएका संक्रमितको संख्या उल्लेख्य छ । संक्रमण पुष्टि नभएका कोभिड बिरामीको मृत्यु झन् बढी हुने उनीहरूको अनुमान छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु

स्वास्थ्य


तुलसीपुर - बैशाख १३

तुलसीपुर, झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।

दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए। उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । रासस

हजारौं भारतीय काठमाडौं हुँदै तेस्रो मुलुकतर्फ

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, भारतमा कोरोना संक्रमण बढेलगत्तै भारतीय नागरिकहरू नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान थालेका छन्। दुई महिनायता हजारौं नागरिक नेपालको विमानस्थल प्रयोग गरेर हङकङ र साउदी अरब गएका हुन्। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङलगायत मुलुकले भारतबाट हुने सबै उडान रोकेपछि भारतीय नागरिकले नेपालको हवाई मार्ग प्रयोग गरेका हुन्।

नेपाल–भारतका सीमा जोडिएका प्रमुख जिल्ला अधिकारीहरूले भारतीय सीमा नाका बन्द गर्ने प्रस्ताव गरेका बेला विमानस्थलबाट भने निर्वाध रूपमा भारतीय नागरिहरू भित्रिएका हुन्। कोरोना संक्रमण नभएको पिसिआर रिपोर्ट लिएर आएका भारतीयलाई नेपाल प्रवेश गर्न दिइएको अध्यागमन विभागले जनाएको छ। तर भारतीय विमानस्थलबाट नेपाल आएका पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाहलाई समेत कोरोना संक्रमण देखिँदा पनि विमानस्थलमा चेकजाँचलाई कडाइ गरिएको छैन।

प्रहरीका अनुसार कतिपय नागरिकहरूले नक्कली पिसिआर रिपोर्ट पेस गरी नेपाल प्रवेश गरेको र उनीहरू नेपालको गेस्ट हाउसमा बस्दा समेत संक्रमण फैलाउन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले भारतीयहरूमाथि निगरानी बढाएको छ। नेपाल आएकामध्ये ६८ भारतीय नागरिकको पिसिआर रिपोर्ट नक्कली भएको भन्दै विमानस्थलले फर्काएको थियो।

अध्यागमन विभागका अनुसार दुई महिनायता भारतीय नागरिकहरूले नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक बाहिरिएका हुन्। ‘दुई महिना भारतीय नागरिकहरू आउने क्रम बढेको छ उनीहरू नेपालको अध्यागमन कानुनअनुसार आएकाले उनीहरूलाई आउन र जान रोक लगाइएको छैन,’ अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भने।

अध्यागमन विभागका अनुसार दुई महिना अगाडिका तुलनामा अहिले धेरै भारतीय नागरिक आइरहेका छन्। भारतीय नागरिकहरूको संख्या बढेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन गृह मन्त्रालयमा छलफल गरेको भए पनि कुनै निर्णय गरेको छैन। ‘गृह मन्त्रालयमा यो विषयमा छलफल भएको छ तर रोक लगाउने विषयमा कोभिड–१९ व्यवस्थापन केन्द्र ९सिसिएमसी० ले निर्णय गर्नुपर्छ,’ मन्त्रालय स्रोतले भन्यो।

कोरोना संक्रमणका कारण ३ फ्रेबुअरीदेखि साउदी अरबले भारतबाट हुने सीधा उडान रोकेको छ । भारतीय नागरिकहरूलाई साउदीलगायत देश जान रोकेपछि उनीहरू पीसीआर रिपोर्ट लिएर नेपाल आउने र १० दिन नेपाल बसेर पुनः पिसिआर रिपोर्ट बनाएर तेस्रो मुलुक जाने गरेका हुन्। काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ कियरमा नक्कली पिसिआर रिपोर्ट बनाएको भन्दै छापा मारेको थियो। त्यही हेल्थ कियर सेन्टरका नाममा जारी भएको पिआर रिपोर्ट लिएर विमानस्थल पुगेका १ सय ७२ जनालाई अध्यागमन विभागले फिर्ता गरेको थियो।

त्यसमध्ये ६८ जना भारतीय नागरिक रहेको स्रोतको दाबी छ । चारजना प्रहरी आफैं सेवाग्राही बनेर पिसिआर रिपोर्ट लिन सिनामंगलस्थित सुरिया हेल्थ कियरमा पुगेका थिए। ९ हजार रुपैयाँ तिरेपछि स्वाब नदिई नेगेटिभ रिपोर्ट दिएपछि प्रहरीले प्रयोगशालाका ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। त्यहाँबाट परीक्षण गरिएका चारजनाको स्वाब संकलन गरी पठाएकोमा चारैजनाको कोरोना संक्रमण देखिएको छ। अध्यागमन स्रोतका अनुसार यही अप्रिल महिनामा ६ हजार भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएका थिए।

मार्च महिनाभरिमा ५ हजार १ सय ९२ जना भारतीय नागरिक गएका थिए। संक्रमण बढेको बेला भारतीय नागरिकहरू आएका छन् तर नेपालको अध्यागमन कानुन र स्वास्थ्य मापदण्ड पूरा गरेपछि उनीहरूलाई नेपाल प्रवेशको अनुमति र बाहिरिने अनुमति दिइएको हो, विमानस्थलमा रोक नलगाउँदासम्म यो प्रक्रिया चल्छ,’ अध्यागमन विभागका प्रवक्ता ढकालले भने । उनका अनुसार कोभिडका कारण अहिले समस्या उत्पन्न भएको छ । नागरिक दैनिकबाट

अक्सिजन दिनुपर्ने बिरामी बढे

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, कोरोना महामारीको पहिलो लहरको तुलनामा लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन्। ‘पहिला सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा।सागर राजभण्डारीले भने, ‘अहिले लक्षण कडा खाले छन् र रोगले छिटो च्याप्ने गरेको देखिएको छ।’

उक्त अस्पतालले भारतबाट तरल अक्सिजन ल्याएर प्लान्टमा राखी पाइपमार्फत सीधै बेडमा पुर्‍याउने गरेको छ। राजभण्डारीले दुईतीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमा सकिने अवस्था आएको बताउँदै त्यसपहिले नै भारतबाट आपूर्ति हुने जानकारी दिए। डा। राजभण्डारीले भनेझैं भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले हालै गरेको एक अध्ययनअनुसार पहिलो लहरमा ४१ दशमलव ५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पथ्र्यो भने दोस्रो लहरमा ५४ दशमलव ५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक रहेको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा। विमल पाण्डेले पनि यसपालि अक्सिजन चाहिने बिरामी धेरै भएको बताए। ‘भाइरसमा आएका उत्परिवर्तनले संक्रामकता बढेको देखिन्छ’, उनले भने, ‘यसपटक युवा पनि गम्भीर रूपमा बिरामी परेका छन्।’ त्रिवि टिचिङ अस्पतालका चिकित्सक डा। सुवास आचार्य अहिले संक्रमितको संख्या ह्वात्तै बढेकाले सोही अनुपातमा अक्सिजन पनि बढी आवश्यक देखिएको तर्क गर्छन्।

‘यो बिल्कुल तथ्यांकको कुरा हो। पछिल्ला २ सातामा संक्रमण ह्वात्तै बढेको छ। रोगीको संख्या बढेपछि अक्सिजन चाहिने बिरामीको संख्या पनि स्वाभाविक रुपमा बढ्छ,’ उनले भने। दिनको १० हजारको दरमा १० दिनमा १ लाख संक्रमित भएर त्यो संख्याको १० प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपरे स्थिति ज्यादै चुनौतीपूर्ण हुने र अस्पतालका क्षमताले समेत नथेग्ने उनको तर्क छ।

कोरोनाको पछिल्लो लहरका लागि भाइरसको नयाँ भेरियन्ट जिम्मेवार रहेको तर्क एकातिर छ भने अर्कोतिर आमजनसमुदायले स्वास्थ्य मापदण्ड अवलम्बन नगर्दा यो अत्यधिक हिसाबले फैलिएको दाबी पनि छ। संक्रमितको संख्यामा आएको कमीका कारण सरकारी अधिकारीले कोरोना महामारी रोकथाम भएको ठान्दा प्रतिकार्यका लागि आवश्यक पहल नभएको तर्क पनि छ। नागरिक दैनिकबाट