health
|| Rajyadainik ||

आजको समाचार

कोरोना संक्रमणको दोस्रो लहरः तीन दिनमा ७२ जनाको मृत्यु

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, दैनिक तिब्र रूपमा फैलिरहेको कोरोना संक्रमणको कारण तीन दिनभित्रैमा ७२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। तथ्यांकअनुसार गत चौविस घण्टामा १६ जनाको मृत्यु भएको हो।

त्यस्तै शनिबार १४ र शुक्रबार ५ जनाको मृत्यु भएको थियो। यसै गरी यो तीन दिनभित्र थप ३७ जना मृतकमा संक्रमण पुष्टि भएको छ। यीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ। हाल नेपालमा दैनिक मृत्युदर १।०५ प्रतिशत पुगेको छ।

गत २४ घण्टामा संक्रमणदर बढेर ३० दशमलव ९७ प्रतिशत पुगेको छ। यो अघिल्लो दिनको तुलनामा करिब १ प्रतिशत बढी हो। गत २४ घण्टामा १० हजार ७८ वटा नमुना परीक्षण भएका थिए। नेपालमा कुल संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ। देशभरिमा १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित छन्।

तीमध्ये २ सय ५२ जना आइसियुमा, ६५ जना भेन्टिलेटरमा र संस्थागत आइसोलेसनमा १ हजार ५ सय ९४ जनाको उपचार भइरहेको छ। संक्रमित हुनेमा सबैभन्दा बढी युवा उमेरका छन्। मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके, रूपन्देही र पर्सा गरी नौ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

दैनिक संक्रमण दर वृद्धि भएसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजित बजेटअनुसार हाइडिपेन्डेन्सी युनिट तयार गरेनगरेको तस्बिरसहित जानकारी गराउन अस्पतालहरूलाई निर्देशन दिएको छ। काम नभएको अवस्थामा बजेट फिर्ता लैजाने मन्त्रालयले जनाएको छ। नागरिक दैनिकबाट

कोरोना संक्रमितः अस्पताललाई थेग्नै गाह्रो

स्वास्थ्य


नेपालगञ्ज -  बैशाख १३

नेपालगञ्ज, कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ। अस्पतालका स्वास्थ्यकर्मीले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि बेड संख्या, जनशक्ति र स्रोतसाधन थपिदिन पटक–पटक अनुरोध गर्दा पनि सरकारले सुनुवाइ गरेको छैन।

भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएपछि बिरामीलाई अन्य वार्डमा पनि भर्ना गरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। भेरी अस्पतालसँग १ सय ४२ बेड क्षमताको कोभिड वार्डमध्ये ९५ बेड जनरल (कोभिड), ४० आईसियु र ७ वटा भेन्टिलेटर छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश थापा कोरोना संक्रमणले अवस्था झन् भयावह बनेको बताउँछन्। ‘बिरामीको बिजोग छ, अस्पतालसँग भएको बेड पूरै भरिसकेको छ,’ उनले भने ‘कोभिड वार्ड भरिएपछि अन्य वार्डमा भए पनि बिरामीलाई भर्ना गर्नुपरेको छ।’

अस्पतालमा अहिलेसम्म ९८ जना पुरुष र ८३ महिला गरी १ सय ८१ जना संक्रमित भर्ना भइसकेका छन्। यीमध्ये ५७ जना सिकिस्त छन्। भर्ना भएका संक्रमितको उपचार गर्न अहिलेको जनशक्ति निकै कम भएको भेरी अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार अहिले कोभिड वार्डमा ३९ जना नर्स कार्यरत छन्, यीमध्ये एक दर्जनजति नर्स संक्रमित भइसकेका छन्। कोभिड वार्डमा कार्यरत एकजना नर्सले २० देखि २५ जना बिरामीलाई हेर्नुपरिरहेको छ। जनशक्ति थपिदिन सरकारलाई यसअघि नै अनुरोध पठाइसकेको थापाले बताए।

अस्पतालका वरिष्ठ फिजिसियन डा राजन पाण्डे भन्छन्, ‘अहिले भर्ना भएका कोभिडका बिरामी निकै गम्भीर खालका छन्, उनीहरूलाई धेरै केयर गर्नुपर्ने अवस्था छ, तर कोभिडका बिरामी हेर्ने नर्स छैनन्।’ अस्पतालमा रहेका एकजना एनेस्थेसियन चिकित्सकले धानिरहेको पाण्डेले सुनाए। बाँकेमा ११ दिनमा २७ जना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार ९ सय ३ जनामा संक्रमण पुष्टि भएको छ। नागरिक दैनिकबाट

न बेड पाइन्छ, न एम्बुलेन्सः भगवान भरोसामा उपत्यका

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए ।

‘यति कम उमेरका युवकले समेत कोरोनाकै कारण ज्यान गुमाउनुपरेपछि हामी साह्रै चिन्तित छौं,’ अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले भने । यही अस्पतालको भेन्टिलेटरमा उपचाररत सुन्दरीजलका ४३ वर्षीय पुरुषको पनि आइतबार नै मृत्यु भयो ।

अपराह्न साढे ३ बजेतिर उनको मृत्युको खबर थाहा पाएपछि अस्पताल परिसरमा आफन्तको रुवाबासी चलेको थियो । त्यही बेला भेन्टिलेटरमा राख्नुपर्ने बूढानीलकण्ठका ५४ वर्षीय पुरुषका आफन्त भने भगवान् पुकारिरहेका थिए । टेकु अस्पतालमा भेन्टिलेटर नपाएपछि उनीहरू बिरामीलाई निजी अस्पतालमा लैजाने तयारीमा लागे । उनीहरूले एम्बुलेन्स खोजे । बल्ल अपराह्न ५ बजे नेपाल एम्बुलेन्स सेवाको एम्बुलेन्स अस्पताल आइपुग्यो । उनी केही दिनसम्म घरायसी उपचार गर्दै होम आइसोलेसनमा बसेका थिए ।

सास फेर्न गाह्रो भएपछि आफन्तले आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याएका थिए । अस्पतालमा प्राथमिक उपचार त भयो तर उनलाई अक्सिजनको मात्रा बढाएर तत्काल भेन्टिलेटरमा राख्नुपर्ने भयो । अस्पतालमा भेन्टिलेटर खाली थिएन । आजको कान्तिपुर दैनिकमा खवर छ ।

कोरोना संक्रमण बढेपछि व्यापार घट्यो

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै व्यापार व्यवसाय सुस्ताउन थालेको छ । संक्रमणको प्रभावका कारण उपभोक्तामा त्रास बढेपछि बजारमा चहलपहल कम हुँदै गएकाले व्यावसायिक कारोबार घट्न थालेको हो ।

काठमाडौंका मुख्य व्यापारिक केन्द्र न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत ठाउँमा करीब २५ प्रतिशतसम्म व्यापार घटेको बताइएको छ । काठमाडौं बाहिरबाट माल सामान खरीद गर्न आउने थोक व्यापारी समेत संक्रमणको डरले यतिबेला आउन सकेका छैनन् ।

सुध्रिन लागिसकेको व्यापार व्यवसाय कोभिड महामारी बढेपछि पुनः संकटमा पर्न थालेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । ‘व्यापारमा केही सुधार हुन्छ कि जस्तो देखिएको थियो । व्यापारीमा एक किसिमको आशा पलाएको थियो,’ उनले भने, ‘पछिल्लो समय बढ्दो संक्रमणले फेरि निराश बनाएको छ ।’

महासंघका अनुसार काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, विराटनगर लगायत विभिन्न शहरमा व्यापार अवस्था खस्कँदै गएको छ ।

अहिले गर्मी मौसम शुरू भएको छ । वैशाखमा गर्मी मौसमका लत्ताकपडाको व्यापार ठूलो मात्रामा हुनुपर्नेमा कोभिड संक्रमण बढेकाले अपेक्षित व्यापार हुन नसकेको व्यवसायी बताउँछन् । आर्थिक अभियान दैनिकबाट

सीसीएमसीद्वारा कडाइ गर्न सिफारिश

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले प्रमुख शहरहरूमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा बन्दाबन्दी लागू गर्नसक्ने निर्णय गर्ने अधिकार दिन मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ । पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २०० पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा बन्दाबन्दी गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ ।

कोरोना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । भौतिक रूपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरू अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगन गरिएको एक मन्त्रीले जानकारी दिए ।

सीसीएमसीले भारतसँगका सीमा नाकाहरूबाट विदेशी नागरिकहरूलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिश गरेको छ । भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरूमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएपछि उक्त सिफारिश गरिएको हो ।

सीमा नाकामा नेपालीहरूको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमा नाकाबाट भारतीयहरू नेपाल पस्न पाउने छैनन् । यो निर्णयले नेपालमा मालवस्तुको आयात निर्यातलाई भने प्रभाव नपार्ने सरकारी अधिकारीहरूको दाबी छ । आर्थिक अभियान दैनिकबाट

भयावह बन्दै कोरोनाको दोस्रो लहर

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ ।

नेपालमा दोस्रो लहर शुरू भएपछि आइतवार एकैदिन २८ जनाको मृत्यु भएको छ, जुन नेपालमा कोरोना शुरू भएयताकै उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा मृत्यु भएका १६ सहित २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको जानकारी दिए । आइतवार कुल १० हजार ७८ को पीसीआर परीक्षण गरिएकोमा ३ हजार १२२ नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने हालसम्म कुल ३ लाख एक सय १९ जनामा संक्रमण पुष्टि भएकोमा ९२ प्रतिशत संक्रमित निको भएका छन् ।

तीनतर्फी खुला नाका भएको भारतमा कोरोना संक्रमण भयावह बन्दै गएकोमा बिस्तारै नेपालमा पनि संक्रमणले भयावहको लक्षण देखाउन थालेको हो । गएको १५ हजार ९८६ मा कोरोना पुष्टि भएकोमा ८१ जनाको मृत्यु भएको छ । आर्थिक अभियान दैनिकबाट

दाङमा कोरोनाबाट एक पुरुषको मृत्यु

स्वास्थ्य


दाङ - बैशाख १२

दाङ, यहाँ कोरोनाबाट आज एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए। उनका अनुसार ती पुरुषको आज बिहान ११ः१५ बजेतिर मृत्यु भएको हो । उनी अस्पतालमा यही वैशाख २ गतेदेखि सघन उपचार कक्षमा उपचाररत भर्ना भएका थिए ।

उनमा निमोनियासमेत थियो । यसअघि गत शनिबार तुलसीपुर उपमहानगरपालिका– १० निवासी ४२ वर्षीय महिलाको पनि कोरोनाका कारण मृत्यु भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामा वैशाख महीनायता छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सोमा तुलसीपुरमा तीन, घोराहीमा दुई र लमहीमा एक जनाको मृत्यु भएको बताइएको छ ।

यसैबीच शनिबारमात्र दाङमा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १६० को पिसिआर परीक्षण गर्दा ६७ र जिल्ला बाहिर गरिएको परीक्षण २१ जनामा कोराना पुष्टि भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ । रासस

स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनका लागि प्रतिविद्यार्थी २०० रुपैयाँका दरले बजेट निकासा

स्वास्थ्य


महाकाली - बैशाख १२

महाकाली, महाकाली नगरपालिकाले हरेक विद्यालयमा स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री व्यवस्थापनको लागि नगर क्षेत्रभित्रका विद्यालयमा बजेट निकासा गरेको छ । नगरपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै विद्यार्थीको स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनका लागि प्रतिविद्यार्थी २०० रुपैयाँका दरले बजेट निकासा गरेको जनाएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशनसमेत दिएको छ ।

शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने व्यवस्थापन गर्न सूचनामार्फत आग्रह गरिएको छ । महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा विजय भुर्तेलद्वारा जारी सूचनामा विद्यालयमा विद्यार्थीको तापक्रम नाप्ने, कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने नियमलाई पूर्ण पालना गर्न भनिएको छ ।

यस्तै शिक्षण संस्थामा सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्नसमेत नगरपालिकाले पुनः निर्देशन दिएको छ । विद्यालयले दैनिक पठनपाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी गरी सञ्चालन गर्नुपर्ने र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को पूर्णरूपमा कार्यान्वयन गर्न पनि भनिएको छ । रासस

पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक

स्वास्थ्य


दार्चुला - बैशाख १२

दार्चुला, भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए । उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेश जारी गरेको छ । सोही निर्देशिका अनुसार धार्चुला तहशिलले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आवतजावत गर्ने व्यक्तिकोे कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरिइएको हो ।

पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । भारतमा कोरोना दर उच्च रहेका कारण उसले सीमा प्रवेशमा कडाइ गरेको छ । दार्चुलामा पिसिआर परीक्षण गर्ने उपकरण छैन । यस्तो अवस्थामा दैनिक उपभोग्यका लागि भारतीय बजार धार्चुला पुग्ने नेपाली भने आइतबारदेखि मर्कामा परेका छन् ।

कोरोना सङ्क्रमणको दर उच्च भइरहेका बेला भारतले धार्चुला बजारमा मास्कमा यसअघि नै कडाइ गरेको थियो । मास्कविना यसअघि पनि भारतले प्रवेश दिएको थिएन । यस्तै भारतीय क्षेत्रमा दिउँसो २ बजेदेखि बजार तथा यातायात बन्द गराएको छ । धार्चुला बजार क्षेत्रमा छ जनामा कोरोनाको नयाँ भेरियन्ट भेट्टिएपछि दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको हो ।

भारतीय बजारमा प्रशासनले कडाइ गरे पनि दार्चुलामा भने अझै कडाइ गरिएको छैन । भारतले धार्चुलामा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेपछि नेपालमा के गर्ने भन्नेबारेमा बैठक पछि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । उनले भने, “हामी पनि आज बैठक बसेर सुरक्षामापदण्डबारे छलफल गर्छौं ।” रासस

मास्क नलगाएरै हिँडे १०० रुपैयाँ जरिवाना

स्वास्थ्य


दार्चुला - बैशाख १२

दार्चुला,  खुला बजारमा पुग्यो भने मास्क नलगाएको भन्दै प्रहरीले १० रुपैयाँ पर्ने ठाउँमा १०० रुपैयाँ जरिवाना उठाउन थालेको छ । जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गराउन प्रहरीले मास्क नलगाई हिँड्ने व्यक्तिलाई १०० रुपैयाँ जरिवाना उठाउने अधिकार पाएको छ । सङ्क्रमण रोग ऐन २०२० अनुसार प्रहरीले जरिवाना उठाउने अधिकार स्थानीय प्रशासनले प्रहरीलाई दिएको छ ।

छिमेकी भारमा कोरोनाको सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासनले दार्चुलामा पनि स्वास्थ्य मापदण्डलाई कडाइ बनाउने निर्णय गरेको हो । मास्क नलगाई घर बाहिर हिँड्नेलाई कारवाही गर्ने भएको छ । छिमेकी देश भारतमा कोभिड–१९ सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिँड्नेलाई कारवाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको गत बुधबार बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा सङ्क्रामक रोग ऐनबमोजिम कारवाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।प्रशासनले कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भीडभाड नगर्न भनेको छ । सीमानाकाबाट आउने यात्रुको आवतजावतलाई व्यवस्थित गरी उनीहरुको अनिवार्यरुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न पनि आग्रह गरेको छ ।

यस्तै बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्न कार्यालय र पसल जस्ता सार्वजनिकस्थलमा सेनिटाइजर वा हात धुने व्यवस्था र मास्कको प्रयोग अनिवार्य गर्न भनेको छ । यस्तै जिल्लास्थित सम्पूर्ण अन्तरराष्ट्रिय सीमानाकाबाट नेपाल प्रवेश व्यक्तिको अनिवार्यरुपमा एन्टिजेन गर्ने र सोको व्यवस्थापन गर्ने सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी खटाउने तथा मास्क नलगाइ आउनेलाई प्रवेश निषेध गर्ने वा जरिवाना गरी मास्क उपलब्ध गराउने जस्ता निर्णय भएको छ ।

बैठकले जिल्लाभित्र पनि नमूनाका रुपमा एन्टिजेन टेष्ट शुरु गर्नका लागि स्वास्थ्य कार्यालयलाई अनुमति दिने, कोभिड– १९ को रोकथाम नियन्त्रण उपचारका सम्बन्धमा सम्पूर्ण स्थानीय तहको अनुगमन गर्ने जनाएको छ । रासस