interview
||Rajyadainik||

आजको समाचार

गतिशिल महासंघका लागि सबल नेतृत्व : सुबोधकुमार गुप्ता

अन्तर्वार्ता


 नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ हो भनेर सायदै भनि रहनु नपर्ला । किनकी, महासंघको संजाल राष्ट्रव्यापी रुपमा फैलिएको छ । र त्यो भन्दा पनि ठुलो कुरा हाम्रो अर्थात महासंघको संजाल नेपाल सरकार पछि सबै भन्दा ठुलो छ ।अर्थात भनौ संजालका हिसाबले, सदस्य संख्या भनौ वा मानव आवद्धताका हिसाबले हाम्रो संगठन दोस्रो स्थानमा छ । त्यसैले हाम्रो संगठन उपस्थितीगत र पहिचानको हिसाबले निकै अगाडी छ । महासंघ साना, मझौला र ठुला व्यवसायी एवम् उद्योगपतिहरु अर्थात निजी लगानीमा व्यापार व्यवसाय गर्ने वा कलकारखाना चलाउनेहरु सबैको साझा संगठन हो । हामी ग्रामीण दुरदराज देखी शहरोन्मुख नगर क्षेत्र र ठुला शहरसम्म फैलिएर रहेका छौ । सामान्य व्यापार गर्ने देखी दैनिक करोडौमा कारोबार गर्ने कारोबारीहरुलाई महासंघले छहारी दिईरहेको छ । निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ, बोल्नु पर्छ । राज्यले निजी क्षेत्रको धारणा बुझ्नुपर्‍यो भने पहिलो गुहार लगाउनु पर्ने भनेकै महासंघलाई नै हो, कुटनितिक नियोग देखी लिएर नियोगहरु, स्वदेशी एवम् विदेशी संघ संस्था वा व्यक्तीले निजी क्षेत्रको अवस्था बुझ्नु पर्दा र हातेमालो गर्नु पर्दा यही महासंघमा ठोक्किनु पर्छ । अर्थात महासंघ सर्वव्यापी पनि छ भन्ने हो । छ पनि त्यस्तै हामी सरकारमा हुन्छौ, सडकमा हुन्छौ, सदनमा हुन्छौ, घर, चौतारा, पाटीपौवा, चिया पसल, फ्याक्ट्री, पसल जताततै हुन्छौ । गास, बास अनि कपास सर्वत्र हामी छौ ।

यस मानेमा निजी क्षेत्र देशको महत्वपूर्ण हिस्सा हो । देशको व्यवस्था र राज्य भित्र लागु हुने निती नियम कानुन आदीको अधिनमा रहने हुँदा सिमितता र असिमितताको दायरामा तल माथि हुन सक्ला तर हामी फेरि पनि कही न कही अवश्य हुन्छौ । दायित्व पनिसँगै जोडिन्छ तर अधिकार पनि छ हाम्रो । तर हामीले हाम्रो दायित्वलाई पुरा गर्दै गर्दा के हामीले हाम्रो अधिकारलाई निर्वाध रुपमा उपयोग गर्न पाएका छौ त ? कदापी छैन । हामी लगाम लगाएको घोडा झै नियमको परिधीमा बसेर आफ्नो पेशा गर्छौ, रात विहान नभनी कुदछौ, कर तिर्छौ, रोजगारी सिर्जना, अर्थतन्त्र चलायमान गराउछौ । अझ ठुलो कुरा आफ्नो भविस्य दाउमा लगाएर ठुलो जोखिम उठाउछौ । हामीले पनि पाक्दै गरेको खाना छाडेर, मध्यरातमा पनि सुतिरहेको बिस्तारा छाडेर, घर परिवारलाई दिनुपर्ने समय काटेर काममा नै तल्लिन हुन्छौ । आखिर त्यो हामीले के का लागि र किन गरिरहेका छौ ? किन गर्दै आएका छौ ? हामीले आँफै स्वयम् पनि बुझ्नु पर्छ र अरु सबैलाई बुझाउन सक्नुपर्छ । हामीले गर्दै आएको पेशाले हामी मात्रै होईन सिंगो मुलुकको विकासमा योगदान पुगेको छ ।

तर पनि हामी किन राज्यबाट उपेक्षामा छौ, यसको समिक्षा गर्न आवश्यक छ । हामीसँग अपवाद वाहेक सबै चिज छ- बल, बुद्धी, विवेक, स्रोत छ, साधन छ हर चिज छ तर पनि हामी कुईराको काग झै बन्नु परेको छ । हामी बादल भित्रै हराई रहेका छौ । हामीले यसो भनि रहँदा हामी कहाँ नेर चुकिरहेका छौ त, हामीले त्यो बुझ्न, पहिचान गर्न जरुरी छ । मेरो ब्रम्ह, विचारले हामीले सत्ता र सदनमा जानेहरुलाई निजी क्षेत्रको महत्व नै बुझाउन सकेनौ, हामीले उनीहरुसँग हाक्काहाक्की कुरा राख्नै सकेनौ, निजी क्षेत्रको महत्वबोध गराउनमा चुकिरहयौ । हो कुरा त पुर्यायौ होला तर पनि हाम्रो कुरालाई जायज मान्न सक्ने वातावरण तयार पार्नै सकेनौ ।यसो हुनुको पछाडी पक्कै पनि हाम्रा कमी कमजोरीहरु छन् । यस मानेमा विगतलाई केलाउदै समिक्षा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।र निजी क्षेत्रलाई सहि गति दिन सक्ने करिज्मा बोकेको लिडर छनौट गर्न तर्फ हामी केन्द्रित हुनु पर्छ भन्ने मान्यता मेरो छ । म मेरा अग्रजलाई सम्मान गर्छु, उहाँहरु अनुभवका खानि हुनुहुन्छ, यद्यपी विगतका कमी कमजोरीको समिक्षाले महासंघलाई अघि बढन ठुलो मद्धत मिल्ने मेरो विश्वास छ ।

मैले देख्दा मुल नेतृत्वमा बस्नेहरुमा लिडरशिपको अभाव देखिनु हुँदैन । नेपालको निजी क्षेत्रका मुद्धाको सुनुवाइ हुने वातावरण तयार पार्ने दायित्व पनि हाम्रै हो । साना तिना एजेण्डामा रुमल्लिने र आफ्ना व्यक्तिगत स्वार्थका लागि महासंघलाई भर्याङ बनाउने प्रब्रित्तीबाट हामीहरु टाढै बस्नुपर्छ । विगतमा जे भए भए, अब भने हामीले महासंघलाई नयाँ शिराबाट अगाडी बढाउनै पर्छ । दुरगामी सोच बोकेर सार्थक पाईला चाल्न अब कम्मर कसेर लाग्नु पर्छ । कोभिडबाट सिर्जित बिषमता माझ धेरै साथीहरु आहतमा हुनुहुन्छ । उहाँहरुको पिडा, रोदन आदीलाई राज्य स्तरबाट सम्बोधन गर्नलाई महासंघले नेतृत्व लिनुपर्छ । यो दायित्वबाट महासंघ विमुख हुनु हुँदैन । हामीले निजी क्षेत्रका तमाम समस्याहरुलाई हल गर्ने गरि आफु सक्य प्रयास जारी राख्नु पर्छ । यसका लागि आफ्नो व्यवसायलाई भन्दा पनि महासंघलाई माया गर्ने, संगठन भित्र लोकप्रिय र राज्यस्तरमा नीति निर्माताहरुसँग सहजै पहुँच राख्न सक्ने नेतृत्व हामीलाई चाहिन्छ । हाम्रा साझा मुद्धालाई बोकेर हिडने र अहोरात्र खटिने निर्भिक नेतृत्व नै हाम्रो आजको आवश्यकता हो । भोलीको लागि पनि हामीले सोच्नुपर्छ ।

महासंघलाई दिशाबोध गर्न सक्ने करिज्मा बोकेका व्यक्ति बिशेषलाई पहिचान गरि स्व विवेकले अमुल्य मत जायर गर्ने अवसरबाट हामी चुक्नु हुँदैन । यो हाम्रो साझा धारणा बन्नुपर्छ भन्ने मेरो भनाई छ । आसन्न निर्वाचन र नेतृत्व चयन हाल नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा छ । यही बेला हो सहि व्यक्तीहरु चुन्ने । त्यसैले हामीले सोच विचार गरेर नेता छनौट गर्नुपर्छ । निर्वाचनका लागि हाल दुई समुहरु सतहमा छन् । दुवै समुहका उम्मेदवार प्रति मेरो सम्मान छ । सबै जना सक्षम हुनुहुन्छ । निजी क्षेत्रलाई बुझेको हुनुहुन्छ । तर पनि सरसर्ती हेर्दा निजी क्षेत्रका समस्यालाई समाधान गर्दै अघि बढन सक्ने ल्याकत चन्द्र ढकालमा छ भन्ने मेरो मान्यता छ । उहाँले सानो व्यवसाय देखी शुरु गरेर ठुलो व्यवसाय खडा गर्न जुन सफलता हासिल गर्नु भयो त्यो उदाहरणिय र प्रेरणादायी छ । उहाँको बानी व्यवहार उस्तै शालिन र भद्र छ । उहाँलाई उद्योगी व्यापारी सबैले मन पराउँछन् । जनस्तरमा पनि राम्रो छवी छ । सरकारसम्म सहज पहुँच राख्न सक्ने व्यक्तित्व पनि छ । अनुभव छ, भिजन पनि राम्रो छ । राम्रा एजेण्डा अघि सार्दै आउनु भएको छ ।

अरु धेरै गुण उहाँमा छ । लाग्छ पक्कै उहाँले महासंघलाई गति दिनुहुनेछ । यता उपाध्यक्ष तर्फका उम्मेदवारहरु उस्तै उम्दा हुनुहुन्छ । उमेशलाल श्रेष्ठ, गुणनिधी तिवारी र रामचन्द्र साँघाईमा वेजोडको इच्छा शक्ती र संगठन भित्र टिम स्प्रिटमा काम गर्न सक्ने खुवी म देख्छु । मैले वस्तुगत तर्फबाट उम्मेदवारी दिएकाले उमेशलाल श्रेष्ठको बारेमा केही उल्लेख गर्न मनाशिव हुने ठानेको छु । पहिलो कुरा त उहाँको पहुँच निकै माथिसम्म छ । महासंघमा उहाँ जादा उहाँको राजनितिक पहुँचले विगतमा पनि काम गरेको अनुभव हामीसँग छ । बग्रेल्ती घटना छन् त्यस्ता । उल्लेख गरेर साध्य छैन । चाहे स्वदेशी डेरी उद्यो गलाई संरक्षण गर्ने कार्य होस् वा निर्यातका सवाल वा गएको मौद्रिक नितीमा निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्न लगाउने कुरा उहाँको साथ महासंघले सधैं पाउदै आएको छ । उहाँ निर्भिक, स्वतन्त्र, अटल र हक्की स्वभावका हुनुहुन्छ । कसै प्रति आग्रह पुर्वाग्रह नगर्ने उहाँको बानी छ । शायद राजनितीमा त्यही भएर पनि नजानु भएको होला । महान नेता स्व. पुष्पलाल एवम् अग्रज नेतृ स्व. सहाना प्रधानका सुपुत्र भएता पनि उहाँमा कत्ति घमण्ड छैन ।

कुर्सी मोह छैन । उहाँले आफ्नै बलबुताले कम्पनी खडा गरि सानो उद्योगलाई ठुलो बनाउन मै मेहनत गर्नुभयो ।उहाँ भावी अध्यक्ष बन्ने हैसियत र क्षमता राख्नु हुन्छ । अन्य धेरै गुण उहाँमा छ । उहाँ महासंघको तागत हो । त्यसैले उहाँ निर्वाचित हुनुपर्छ भन्ने मान्यता शायद हामी धेरैमा छ । अर्को तर्फ यस समुह समावेशी किसिमको छ । क्षेत्र, जाती, व्यवसायको प्रकृती आदी हिसाबले राम्रो कम्बिनेशन छ । उम्मेदवारहरु अनुभवी हुनुहुन्छ । म जस्ता हामी केही नयाँ अनुहारमा महासंघलाई सहि दिशा दिने प्रबल सोच छ । जोस छ, जाँगर छ । मलाई लाग्छ हामी समुहगत रुपमा निपूर्ण छौ । अनि महासंघ हाँक्न उस्तै सक्षम छौ ।तसर्थ हाम्रो समुहको विकल्प छैन झै लाग्छ । साथीहरुले पक्कै पनि उचित मुल्यांकन गर्दै अमुल्य मत दिएर नेतृत्व चयन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । (लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।)

मोडलिङ क्षेत्रमा क्यारियर बनाउँदै सेलिन

अन्तर्वार्ता


मोडलिङ क्षेत्रमा क्यारियर बनाउँदै सेलिन
–राजु भट्ट
उमेरले भर्खरै १६ वर्षमा टेकेकी सेलिन प्रजापति मोडलिङ क्षेत्रमा उदयमान नाम हो । मध्यपुर थिमी, भक्तपुर निवासी प्रजापति शंखधार मेमोरियल स्कूलबाट एसईई पास गरी +२ को लागि उच्च माध्यमिक विद्यालयमा आफ्नो अध्ययनलाई अगाडि बढाईरहेकी छिन् । 
बुबा, आमा र एक बहिनीको माया पाएकी प्रजापतिलाई सडकका पेटीहरुमा डुलिहिँड्ने कुकुरहरूलाई खाना खुवाउने र कविता लेख्न निकै मन पर्दछ । सधैं सकारात्मक सोच र फराकिलो विचार बोकेकी उनी आफूलाई सामाजिक कार्यकर्ताको रुपमा पहिचान गराई स्वतन्त्र सफल व्यवसायिक मोडल हुने दृढ इच्छा राख्दछिन । सानै उमेरमा मिस टिन इन्टरनेशनल नेपालको बिजेता घोषणा भएसँगै आफ्नो क्यारियरमा जिम्मेवारीसँगै दायित्वबोध भएको उनको भनाई छ । 
हाल उनलाई काठमाण्डौं, पोखरा र चितवन लगायतका विभिन्न स्थानहरुमा सञ्चालन भईरहेका फेशन शो, व्यूटी प्याजेन्टहरुमा निर्णायकको भूमिकामा समेत देख्न सकिन्छ ।
हेर्दा निकै फरासिली देखिने उनी जो कोहीलाई पनि आफ्नो आत्मीय व्यवहारले छिट्टै आफ्नो प्रभावमा पार्छिन् । देशका विभिन्न स्थानमा भएका व्यूटी प्याजेन्टहरुमा सहभागी हुँदै मिस टिन इन्टरनेशनल नेपालको उपाधि समेत हासिल गरेकी प्रजापति भियतनाममा हुने प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दैछिन् । आशा छ प्रजापतिले भियतनाममा हुने प्रतियोगितामा समेत आफ्नो साथै नेपालको शिर उच्च राख्नेछिन् । अग्रिम शुभकामना ।

छोटो समयमा फेशन कोरियोग्राफीमा नाम कमाउन सफल : “कोरियोग्राफर के.डि भट्टराई”

अन्तर्वार्ता


काठमाडौ । मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् , “कोरियोग्राफर के.डि भट्टराई” ।
सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि इण्डियाको मुम्बईमा रहेको “ड्रिम्स इन्स्च्युट अफ फ्लिमबाट फिल्म्स एण्ड जर्नालिज्ममा” ब्याचलर समेत गर्दै आइरहेका के.डि भट्टराई छोटो समयमानै फेशन कोरियोग्राफीमा नाम कमाउन सफल भएका छन् ।
दुई दर्जन भन्दा बेसी “राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिता तथा फेशन शो” हरुमा आफ्नो कुशल कोरियोग्राफी गरेर आफुलाई अब्बल बनाउन सफल मोडल तथा कोरियोग्राफर हुन के.डि भट्टराई ।

अहिले लकडाउनमा उनी के गर्दै छन् ?
लकडाउनले मोडलिङ क्षेत्रमा के कस्ता असर परिरहेको छ?

के.डि भट्टराईसँग  भयको कुराकानी ।

“कोरियोग्राफर के.डि भट्टराई”
१. के गर्दै हुनुन्छ ? यो लकडाउनको समयमा ?
– लकडाउनको नियमको पालना गरिरहेको छु । घरमै बसेर आगामी दिनमा के कस्ता इभेन्टहरु गर्ने भन्ने बिषयमा केही अध्यन गर्दै छु । आफुलाई स्वस्थ र फिट राख्ने कोशिश गर्दै छु ।

२. लकडाउनले मोडलिङ क्षेत्रमा के कस्ता असर परिरहेको छ?
– असर त अहिले सबै क्षेत्रमा परिरहेको छ । मोडिलिङमा पनि तेहि नै हो । इभेन्टहरु गर्न झन भिड्भाडकै आवश्यकता हुन्छ। कुनै पनि हाम्रो काम अन्लाईन मार्फत हुँदैन। तेसैले गाह्रो भएको हो।

३. धेरैले अहिले अनलाईनबाट एभेन्ट गरिरहेको पनि पाइन्छ नि ?
– म यहि भन्छु, कि ! यति बेला अनलल सहि सदुपयोग गरौं ? सामाजिक सन्जालमा आफ्नो इभेन्ट्को बरेमा जानकारी दिन सकिन्छ। एभेन्ट्को प्रचार गर्ने यो सहि समय हो । तर,एभेन्ट नै अन्लाइनबाट गर्दा न ट्यालेन्टको कदर हुन्छ ? न केही। इभेन्ट नै गर्ने भए फोटो कन्टेस्ट, भिडियो कन्टेस्ट , ट्यालेन्ट हन्ट , टिकटक कन्टेस्ट जस्ता केही गर्न सकिन्छ ।
४. लकडाउन पछि तपाईंको बेस्तता के मा रहन्छ ?
– लकडाउन खुल्ना साथ नै हामिहरु एभेन्ट हरु गर्न सक्दैनौ । मोडिलिङमा रुचि रहने १०,११,१२ का सबै बिद्यार्थीहरुको परिक्षाको टुंगो लाग्न जरुरी छ । त्यो पछि पनि कोरोनाको कारण सामाजिक दुरि अप्नाउन जरुरी छ । तेसैले, म भिड्भाड नहुने अनि समाजिक दुरि अपनाउन सक्किने खालका केही एभेन्ट गर्ने सोचमा छु।
५.येदि अहिले लकडाउन नभयेको अनि सबै कुरा सामान्य भएको भए तपाईको बेस्तता के मा रहन्थ्यो ?
-येदि सबै सामान्य भएको भए अहिले एस.ई.ई.को इभेन्ट अनि ११-१२ का लागि हुने केही एभेन्ट हरुको तयारीमा थिए । नेस्ट सुपर टप्स मोडलको ४औं सन्स्करण र एस.ई.ई को केही इभेन्ट को तयारी चल्दै थियो !!
समय र जानकारीको लागि धन्यवाद ।
प्रधानमन्त्री ओलीबारे नेकपाले गर्ने निर्णय

अन्तर्वार्ता


प्रधानमन्त्री केपी ओलीको भविष्यबारे शुक्रबारको मेरो लेख विक्रम सुब्बाको कविताको पंक्ति र केही प्रश्नमा टुंगिएको थियो। आजको लेख सुब्बाका तिनै पंक्तिबाट सुरू गर्छु, ताकि सिलसिला नटुटोस्।

आफ्ना केही सुकिला भारदार हिमालहरू लस्करै राखेर सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छपहाडै पहाडको घुइँचो घारीमा सबैभन्दा माथि उछिट्टिएर फक्रेको हिमालको थुँगा उदांगै देखिन्छ जहाँबाट हेरे पनि सगरमाथा नांगै देखिन्छ!

एउटा कविले सगरमाथालाई वा एउटा बादशाहलाई सजिलै तिमी नांगै छौ भन्न सक्छ। तर, पार्टी नेता र कार्यकर्ताको भीडमा आफूलाई एक्लो सगरमाथा ठान्ने केपी ओलीलाई नेकपा नेताहरूले अब के भन्ने छन्?

तपाईं सही सलामत हुनुहुन्छ, केही गल्ती भा'छैन भन्ने छन्। वा, तपाईं त नांगै हुनुभयो, छिटो छोप्नुहोस् भन्ने छन्। वा, यति नांगिएपछि तपाईं सत्तामा बसिराख्न लायक हुनुहुन्न, छोड्नुस् भन्ने छन्?

अब केपी ओलीको होइन, नेकपाको निर्णयमा उनको भविष्य निर्भर गर्ने छ।

नेकपाले के निर्णय गर्ने छ त?

नेकपा अहिले एउटा भयंकर दुर्घटनापछिको परिवारजस्तै भएको छ। के गर्ने, कसो गर्ने? हस्याङफस्याङ जारी छ।

एउटा कुरा भने फरक छ— दुर्घटनापछिको स्थिति कसरी सम्हाल्ने भन्नेमा परिवारको प्राय: स्वार्थ एउटै हुन्छ। नेकपामा भने स्वार्थहरू विभाजित छन्।

नेकपामा तत्कालको विषय स्थायी समिति बैठक हो। स्थायी समितिका २० सदस्यले बैठक माग गर्दै अध्यक्षलाई लिखित पत्र बुझाएका छन्। पार्टी सचिवालयका बहुसंख्यक सदस्य पनि बैठक चाँडै बोलाउनुपर्ने पक्षमा छन्।

पार्टी अध्यक्ष ओलीले भने बैठक टारिरहेका छन्। उनले शुक्रबार र शनिबार पनि नेताहरूसँको भेटमा अध्यादेश खारेज भइसकेको अवस्थामा स्थायी समिति बैठक आवश्यक नरहेको तर्क गरेका छन्। बाहिर रहेका सदस्यलाई 'लकडाउन' को समय काठमाडौं आउन गाह्रो हुने पनि उनको जिकिर छ।

वास्तवमा प्रधानमन्त्री ओली बैठक डाक्नुअघि स्थायी समितिले केसम्म निर्णय गर्न सक्छ भन्ने जान्न चाहन्छन्। त्यसको निर्क्योल नहुञ्जेल स्थायी समिति टार्ने उनको योजना छ। बाहिर स्थायी समिति बैठक चाँडो बोलाउन माग गरे पनि पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहले पनि आज वा भरे नै बैठक बसाउन चाहेको छैन। किनभने, प्रधानमन्त्री ओलीबारे के निर्णय गर्ने, कुन हदसम्म जाने भन्नेमा प्रचण्ड-नेपाल समूहबीच एकमत बनिसकेको छैन।

अहिलेको अवस्थालाई पहिले प्रधानमन्त्रीको कोणबाट हेरौं।

बिहीबार साँझ वामदेव गौतमको भैंसेपाटी निवासमा नेकपा सचिवालयका छ जना सदस्यबीच राति अबेरसम्म बैठक चल्यो। उक्त बैठक सकिएपछि राति ११ बजे प्रधानमन्त्री ओलीले नै वामदेव गौतमलाई फोन गरेर सोधे, 'तपाईंहरूको बैठकको निष्कर्ष के हो?'

गौतमले भने, 'बैठकको निष्कर्ष तपाईंलाई सुनाउने जिम्मा हामीले कमरेड प्रचण्डलाई दिएका छौं। उहाँ तपाईंलाई भेट्न भोलि बालुवाटार आउनु हुनेछ।'

प्रधानमन्त्री ओलीले गौतमलाई अबेर राति फोन गरेर सोध्नुको कारण छ। साँझ बैठक सुरू हुनुअघि पनि उनी र गौतमबीच कुरा भएको थियो।

गौतमले त्यो बेला प्रधानमन्त्रीलाई तुरुन्त स्थायी समिति बोलाउन सुझाएका थिए। ओलीले नबोलाए प्रचण्डले बोलाउने र त्यसले प्रधानमन्त्री हटाउने स्थिति आउने कुरा गौतमले जानकारी गराएका थिए।

शुक्रबार प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेट भयो। प्रचण्डले फेरि पनि चाँडो स्थायी समिति बोलाउन माग गरे। प्रधानमन्त्रीले कतिपय सदस्य काठमाडौंबाहिर रहेको भन्दै टारे।

प्रधानमन्त्री ओलीलाई प्रचण्ड-नेपाल समूहले के निर्णय गर्छ, कसरी अघि बढ्ने तय गर्छ भन्ने पर्खाइ छ। तर, उनी त्यो मात्र पर्खेर बसेका छैनन्। उनले माधव नेपालसँग संवादको 'च्यानल' खोलेका छन्। अझ भनौं, संवादलाई तीव्रता दिएका छन्।

ओलीका विश्वासपात्र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अहिले राजधानी आएका छन्। उनले नेता नेपालसँग शुक्रबार साँझ दुई घन्टाभन्दा बढी कुरा गरे। नेपाल र पोखरेलको घर कोटेश्वरमा पाँच मिनेट पैदलदुरीमा छ।

शनिबार बिहान फेरि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेपाललाई भेट्न कोटेश्वर गए। शनिबार दिउँसो प्रधानमन्त्री ओलीले आफैं नेपालसँग बालुवाटारमा दुई घन्टा कुरा गरे।

नेपालसँग मिलेर अघि बढ्न संवादको च्यानल खोलेको यो पहिलोपटक होइन। सभामुखको निर्वाचन, अमेरिकी एमसिसी परियोजनाको संसदबाट अनुमोदन र वामदेवलाई राष्ट्रियसभामा लैजानेबारे पार्टीभित्र अल्पमतमा परेदेखि नै ओलीले नेपालसँग संवाद जारी राखेका छन्। जनताको बहुदलीय जनवाद र लोकतन्त्रको रक्षाका लागि सँगै मिलेर जान उनी र उनीनिकटले नेपालसँग अनुरोध गरेका छन्।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु अघिल्लो दिन पनि ओलीले नेता नेपाललाई बालुवाटार बोलाएर कुरा गरेका थिए।

ईश्वर पोखरेल र सुवास नेम्वाङलाई सँगै राखेर उनले नेपाललाई सोधे, 'सँगै मिलेर जान तपाईंलाई मैले के गर्नुपर्यो?'

नेपालले त्यो बेला केही जवाफ फर्काएनन्।

नेपाल के चाहन्छन् भन्ने ओलीलाई त्यतिखेर थाहा नभएको थिएन। ओली र नेपालनिकट नेताहरू दुई नेतालाई मिलाउन निरन्तर छलफलमा थिए। नेपालले उनीहरूमार्फत् प्रस्ट सन्देश पठाएका थिए, 'तपाईं प्रधानमन्त्री मात्र बस्नुहोस्। मलाई पार्टी अध्यक्ष छोड्नुस्। प्रचण्ड दोस्रो अध्यक्ष छँदैछन्। तपाईं सरकारमा बाँकी अवधि रहने कुराको ग्यारेन्टी म गर्छु। मिलेर पार्टी र सरकार चलाऔं।'

जवाफमा अर्को चुनाव र महाधिवेशन नहुञ्जेल आफू नै प्रधानमन्त्री र पार्टी अध्यक्ष कायम रहने, अर्को महाधिवेशनमा नेपाललाई सघाउने सन्देश प्रधानमन्त्रीले पठाए।

त्यसपछि 'अब उधारो आश्वासनले नचल्ने' भन्दै माधव नेपाल पछि हटे।

पछिल्ला दुई दिनमा शंकर र ईश्वर पोखरेलमार्फत् ओलीले नेपालकहाँ के सन्देश पठाए, थाहा छैन। आफूलाई अध्यक्ष बनाउनुपर्ने नेपालको माग ओलीले अहिल्यै माने भने पनि नेपाल-ओलीबीच सुलह हुन्छ वा हुन्न यकिन छैन। पछिल्लो तीन दिनमा राजनीति आनका तान फरक परेको छ। फेरि अहिले माधव नेपाल एक्लै त्यो निर्णय गर्न सक्ने ठाउँमा कति छन्?

अध्यादेश प्रकरणभन्दा केही समयअघि एक साँझ खुमलटारमा प्रचण्ड, नेपाल, गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच छलफल चलेको थियो। श्रेष्ठले प्रश्न गरे, 'माधव कमरेडलाई अध्यक्ष बनाउन प्रधानमन्त्री तयार भए भने के गर्ने?'

वामदेव र झलनाथले तुरुन्तै भने, 'अध्यक्ष बन्ने।'

प्रचण्डले केही बेर सोचेर भने, 'त्यस्तो होला? ओलीले त्यसो गर्लान् र?'

आजको स्थितिमा प्रचण्डको कोणबाट एकछिन सोचौं।

एकछिनका लागि ओलीले राजीखुसी नेपाललाई अध्यक्ष छाडे रे। त्यसले त प्रचण्डलाई झनै सशंकित बनाउने भयो— प्रधानमन्त्री ओली नै छन्। उनले भोलिका दिनमा नेपालसँगको सम्बन्ध झनै कसिलो बनाउने प्रयत्न गर्न सक्छन्। आउने महाधिवेशनमा पनि ओली र नेपाल मिलेर जाने सम्भावना बढ्छ। त्यसैले, प्रचण्ड नेपालले अध्यक्ष पदमा सम्झौता गरून् भन्ने चाहन्नन्। प्रचण्डनिकट सबैको मत ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने नै छ।

अब माधव नेपालको कोणबाट हेरौं।

अहिले निर्णय गर्ने ठाउँमा नेपाल छन्। त्यसैले, सबभन्दा दबाबमा पनि उनी नै छन्। उनको दुबिधाका दुई पाटा छन्।

पहिलो, अहिले पनि ओलीलाई प्रधानमन्त्री कायम राख्यो भने उनले आफ्नो तागत झनै बढाउनेछन्। पछि आफूलाई नै अप्ठ्यारोमा पार्न सक्छन्। त्यसले प्रचण्डसँग पनि आफ्नो दुरी बढाउनेछ। कालान्तरमा गएर ओली र प्रचण्ड नै मिल्ने अवस्था आयो भने आफू एक्लो पर्ने खतरा बढ्छ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा उनले कालान्तरमा पार्टी फुटाउँछन् कि भन्ने चिन्ता पनि उनलाई उत्तिकै छ। ओलीले वामदेव गौतमलाई भनेझैं उनलाई हटाउन खोजे 'म सामना गर्छु' भन्दै अघि बढे भने त्यसले पार्टीभित्र गहिरो मुठभेडको अवस्था ल्याउन सक्छ। ओली समूह एकातिर र प्रचण्ड-नेपाल अर्कातिर उभिने अवस्था आयो भने त्यो प्रधानमन्त्री हटाउने कुरामा मात्र सीमित हुने छैन।

अहिले ओलीनजिकका चार जना नेता मुख्यमन्त्री छन्— प्रदेश एकका शेरधन राई, बागमतीका डोरमणि पौडेल, गण्डकीका पृथ्वीसुब्बा गुरुङ र पाँचका शंकर पोखरेल। उनीहरू ओली पक्षमा खुलमखुल्ला उभिए भने वा नेपाल पक्षका मुख्यमन्त्रीका आकांक्षी नेताहरूले दबाब दिए भने उनीहरूलाई हटाउने अवस्था आउँछ। कर्णाली र सुदूरपश्चिममा भने पूर्वमाओवादी नेताहरू मुख्यमन्त्री छन्।

त्यसपछि राष्ट्रपतिको विषय पनि उठ्नेछ। शितल निवासमा बसेर राष्ट्रपतिले ओलीको पक्षपोषण गरेको र पार्टीभित्रको शक्तिसंघर्षमा प्रधानमन्त्री ओलीलाई साथ दिएको आरोप छ। अहिले ओलीविरूद्ध उभिएका झलनाथ खनाल राष्ट्रपतिका आकांक्षी छन्। वामदेवको व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ।

यो अवस्थामा पुग्नुअघि नै ओलीले बरू आफूलाई प्रधानमन्त्री पद छाडिदिए त्यसपछि मुख्यमन्त्री र राष्ट्रपति चलाउन पर्दैन थियो भन्ने पनि नेपालको अपेक्षा देखिन्छ। त्यसले ओलीलाई अहिले प्रधानमन्त्रीमा कुनै हालतमा जारी राख्नु हुन्न भन्ने प्रचण्ड पक्षको माग पनि पूरा हुन्थ्यो। नेपाललाई सजिलो हुन्थ्यो।

राजनीति मलमलको ओछ्यान हुन्थ्यो भने नेकपा अहिलेको अवस्थामै आइपुग्दैन थियो। ओलीले स्वैच्छिक रूपमा प्रधानमन्त्री छाड्ने कमै सम्भावना रहेकोमा नेपाल नजिकका नेताहरू एकमत छन्।

प्रत्येक राजनीतिकर्मीले आफूलाई नै केन्द्रमा राखेर निर्णय गर्छन्। नेपालले अन्तत: एउटा अप्ठ्यारो छनौट गर्नुपर्ने अवस्था आइपर्नेछ — प्रचण्डलाई लिएर अघि बढ्दा कालान्तरमा आफू नेकपा नेताका रूपमा स्थापित हुन्छु वा ओलीलाई सँगै लिएर जाँदा?

निकासको एउटा बाटो यस्तो हुनसक्ने नेकपाका एक जना नेताले सुझाए— अहिले नेपालले सरकारको नेतृत्व गर्ने, महाधिवेशन र संसदको चुनावपछि नेपालले पार्टी र प्रचण्डले संसदीय दल वा सरकारको नेतृत्व गर्ने गरी दीर्घकालीन सम्झौता गर्ने!

नेपाल के गर्ने भन्ने निर्णयमा अझै पुगेका छैनन्। उनी आफू नजिकका स्थायी समिति सदस्यहरूसँग परामर्शमा छन्। आज र भोलिको परामर्शपछि उनी निर्णयमा पुग्न सक्छन्। उनीसामु ओलीप्रति नरमदेखि निर्मम हुनेसम्मका चार विकल्प छन्।

पहिलो, स्थायी समिति बैठकमा ओलीलाई आत्मालोचना गराउने, पार्टीमा सुलह गरेर अघि बढ्ने।

दोस्रो, आफूले अध्यादेश प्रकरणअघि नै माग राखेको पार्टी अध्यक्ष पद लिएर ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने।

तेस्रो, ओलीसँगको सहमतिमा प्रधानमन्त्री बन्ने, त्यसपछि मुख्यमन्त्री वा राष्ट्रपतिमा कुनै परिवर्तन नगर्ने।

चौथो, प्रचण्डसँगको साझेदारी दीर्घकालका लागि अघि बढाउने। प्रधानमन्त्री, मुख्यमन्त्री, राष्ट्रपति सबै परिवर्तन गर्ने र ओलीलाई पार्टीभित्र प्रतिपक्षमा सीमित गर्ने। वा, उनले भोलि छुट्टै पार्टी खोले भने त्यसको पनि सामना गर्ने।

नेकपा जुन नाजुक मोडमा आइपुगेको छ, त्यसमा निर्णय गर्ने बोझ माधव नेपालको काँधमा छ। उनले जे निर्णय गर्छन्, त्यसले धेरै हदसम्म ओली र नेकपाको भविष्य तय गर्नेछ।

यस्तो हुनुपर्छ लकडाउनको मोडालिटी

अन्तर्वार्ता


नेपालमा वुहानबाट आएका एक व्यक्तिमा पहिलो पटक २३ जनवरीमा कोरोनाको संक्रमण भेटिएको थियो। यसको झन्डै दुई महिना पछि, यसको संक्रमण रोक्न देशलाई लकडाउन गरियो।

लकडाउनको एक महिनाभित्र ५२ जनामा संक्रमण भेटिएको छ भने १६ जना सन्चो भएर घर फर्किसकेका छन्। हामी भाग्यमानी सम्झनु पर्छ, हालसम्म संक्रमित भेटिएकाहरु कसैको मृत्यु भएको छैन र ३६ जना जो उपचारको क्रममा छन्, उनीहरु पनि त्यस्तो सिकिस्त देखिएका छैनन्।

मुख्यतयः विश्वमा दुई प्रकारको विधि कोरोनाको संक्रमण रोक्न अपनाएको देखिएको छ। पहिलो हो- चिनियाँ मोडल। चीन सरकारले अबलम्बन गरेको संक्रमण रोक्ने उपायलाई विश्वका धेरै देशहरुले अपनाएका छन् र नेपालले पनि चाइनिज मोडेललाई अपनाएको छ।

जुन चीन सरकारले महामारीको रुपमा अगाडि बढेको संक्रमण रोक्न पूर्णरुपमा लकडाउन गरेको थियो। नेपालले पनि हालसम्म त्यही मोडालिटी अपनाएको छ र हामी अहिले ३५ औं दिनमा छौँ।

अर्को मोडल हो- ताइवान, हङकङ र दक्षिण कोरियाहरुले अपनाएको मोडालिटी। यी देशहरुले अन्तर्राष्ट्रिय उडानलाई पूर्ण निषेध गरेका छन् तर देशलाई सुरक्षित रुपमा आंशिक खुला गर्ने नीति अपनाएका छन्। अहिले विश्वले प्रसंशा गरेको मोडालिटी भने ताइवान, हङकङ र दक्षिण कोरियाले अपनाएको मोडालिटी देखिएको छ।

नेपालले अब दुवै मोडालिटीलाई मिसाएर पूर्ण-निषेध र खुला क्षेत्रगरी देश र नागरिकलाई विस्तारै समान्य दैनिकीमा अगाडि बढाउनु उपयोगी हुनेछ।

नेपाल जस्तो गरिब र आर्थिक निरर्भरतामा चलिरहेको देशले यस प्रकारको पूर्णलकडाउनलाई धान्न सक्ने देखिदैन। अब अर्को १/२ महिना पूर्ण-लकडाउन हुने हो भने देश आर्थिक रुपमा टाटपल्टन सक्ने, बेरोजगारी अत्यधिक हुने, झन्डै ५० प्रतिशत साना-ठूला उद्योग, व्यवसायहरु पूर्णत बन्द हुने अवस्था नआउला भन्न सकिदैन।

जवकी अर्को १/२ महिनामा लकडाउन खोल्न सकिने पनि कुनै ग्यारेन्टी छैन। यस अवस्थामा कोरोनाबाट बच्नु सँगै हामी आर्थिक मन्दीबाट पनि जोगिनु जरुरी देखिन्छ। हामीले यसमा ध्यान दिन सकेनौं भने रोगबाट जिते पनि भोकसँग अर्को लडाई लड्नु पर्ने हुनसक्छ। रोग र भोक दुवैबाट बच्न अबको हाम्रो लकडाउनको मोडालिटी यस्तो हुन सक्छ।

१. कम्तिमा अर्को ६ महिनाका लागि पूर्ण-प्रतिबन्धित क्षेत्रहरु:

सिमाना र अन्तर्राष्ट्रिय हवाई सेवाहरु:

तल्कालको लागि सम्पूर्ण अन्तर्राष्ट्रिय सिमानाहरु बन्द हुनु जरुरी छ। भारतमा संक्रमणको लेभल नघटेको अवस्थामा सरकारले पूर्णरुपमा भारतिय सिमानाहरु पनि बन्द गर्नु पर्दछ भने तेश्रो विश्वलाई समेत रोक्न अन्तर्राष्ट्रिय हवाई सेवाहरु समेत पूर्णरुपमा बन्द हुनु जरुरी छ।

तर हामीले मुख्यतयः कच्चा पदार्थहरु जो विभिन्न उद्योग संचालनको लागि आवश्यक छ, पूर्णरुपमा आयात गर्न र नेपालबाट निर्यात हुने कुनै वस्तुहरु छन् भने खुल्ला गरी सुरक्षित निर्यातको लागि ती देशहरुसँग वार्ता गर्न सरकारले कुटनैतिक पहल तुरुन्तै गर्न जरुरी छ। देश र यहाँको नागरिकले यस प्रकारको लकडाउनमा महंगी धान्न सक्ने अवस्था छैन।

यस बेरोजगारीको समयमा नागरिकलाई मंहगीबाट राहत दिनु सरकारको दायित्व हो भने नेपालका औषधि लगायत उद्योगहरु कच्चा पदार्थको अभावबाट जोगाउनु पनि राज्यको दायित्व हो। देशमा उत्पादित समानहरुको निर्यातको उचित व्यवस्थापन गर्न ढिलो नै भए जस्तो लाग्छ। नत्र हाम्रो व्यपार घाटा डरलाग्दो हुनेछ भने स्वदेशी उद्योगहरु पनि डुब्नेछ।

यससँगै हामीले तेश्रो देश र भारतबाट नेपाल आउन चाहाने नेपालीहरुको पनि नेपाल प्रवेशको लागि आवश्यक व्यवस्था गर्नु पर्ने देखिन्छ। उनीहरुलाई नेपालले अभिभावकत्व दिन चुक्नु हुँदैन्। यसको लागि उनीहरुलाई १४ दिनको क्वारेन्टाईनमा राखी उनीहरुबाट आउने जोखिम कम गर्न सकिन्छ।

२. अर्को एकदेखि बढीमा दुई महिना पूर्ण-प्रतिबन्धित गर्नु पर्ने क्षेत्रहरु:

नेपाल सरकारले तुरुन्तै नेपाललाई तीन क्षेत्रमा विभाजन गरी अति जोखिम क्षेत्र, जोखिमयुक्त क्षेत्र  र निम्न जोखिम भएको क्षेत्रको रुपमा ती क्षेत्रहरुको जोखिमको आधारमा लकडाउनको व्यवस्थापन गर्ने।

अति जोखीम युक्त क्षेत्रः

उदयपुरजस्तो सबभन्दा बढी संक्रमित रहेका क्षेत्रहरुलाई अर्को एकदेखि बढीमा दुई महिना पूर्ण-लकडाउन गर्ने।

बढी भीड हुने क्षेत्रहरु :

नेपाल भर संचालित बढी भीड हुने अथवा १० जनाभन्दा बढी मानिसहरु भेला हुने क्षेत्रहरु सिनेमा हल, स्कुल, कलेज, ठूला डिपार्टमेन्ट स्टोर, सपिङ सेन्टरहरु, सार्वजनिक सबारी साधनहरु, अन्तरदेशीय हवाई उडानहरु, होटल तथा रिसोर्टहरु, ठूला रेष्टुरेन्टहरु, स्पा तथा पर्लर, विभिन्न उद्योगहरुलाई अति जोखिम क्षेत्रको रुपमा कम्तिमा अर्को एक महिना नेपाल अधिराज्यभरी बन्द राख्ने।

तर अत्यवश्यक समानहरु विक्री गर्ने र काम गर्ने क्षेत्रहरु जस्तो खाध्यान्न, औषधी, तरकारीहरुलाई आंशिक रुपमा खोल्ने र सकेसम्म यी क्षेत्रहरुलाई पनि अनलाइन र फोनबाट संचालन गर्ने गरी उनीहरुलाई प्रोत्साहन गर्न सके राम्रो हुनेछ। यस प्रकारको व्यवसाय संचालनको लागी सरकारले पूर्णरुपमा मापदण्ड बनाउने र स्थानीय निकायको स्वीकृतिमा सुरक्षाको मापदण्ड पूरा गरेको अवस्थामा खोल्न अनुमती दिने।

३. अर्को एक हप्ता लकडाउनमै राख्ने क्षेत्रहरु:

जोखिमयुक्त क्षेत्र:

पहिला संक्रमण भेटिएको र हाल सबै संक्रमितहरु निको भइसकोको र हाल कुनै पनि नयाँ संक्रमण नभेटिएको क्षेत्रलाई जोखिमयुक्त क्षेत्रको रुपमा आउँदो एक हप्ताको लागि लकडाउन जारी गर्ने। यी क्षेत्रमा पनि अति आवश्यक वस्तुहरुको व्यवसायलाई पूर्णसुरक्षित मापदण्ड पूरा गर्ने गरी खुला गर्ने।

४. यही आउँदो हप्ता नै खुला गर्न सक्ने क्षेत्रहरु:

कम जोखिम क्षेत्र:

हालसम्म कुनै पनि संक्रमण नभेटिएको क्षेत्रहरुलाई आउँदो वैशाख १५ गतेबाट अंशिक खुल्ला गर्ने। यस क्षेत्रमा माथि राखिएको बढी भीड हुने क्षेत्र बाहेक अन्य सबै क्षेत्रहरुलाई खुल्ला गर्ने।

यसका लागि आवश्यक मापदण्ड तुरुन्तै जारी गर्ने र मापदण्डले तोकेको सुरक्षा व्यवस्था पूरा गर्ने बाँकी सबै व्यसायहरुलाई खुला गरी विस्तारै नागरिकहरुलाई पुरानो समान्य दैनिकीमा फर्काउन कोशिस गर्ने। यसमा बाहिर निस्कने व्यक्तिहरुले अपनाउनु पर्ने मापदण्ड र व्यवसायीहरुले पालन गर्नु पर्ने मापदण्ड बनाएर यसको पूर्ण-निरीक्षण गरी समान्य दैनिकीको सुरुआत गर्नु पर्ने हुन्छ।

अन्तमा, यस प्रकारको विभाजित लकडाउन गर्दा एक क्षेत्रबाट अर्को क्षेत्रको प्रवेश भने पूर्ण रुपमा रोक्नु जरुरी हुनेछ। एक क्षेत्रबाट अर्को क्षेत्रमा हुने व्यापार तथा ढुवानी गर्दा पनि पूर्णरुपमा सुरक्षित मापदण्ड बनाई गर्नुपर्छ र कृषि उत्पादनलाई निशेध नगरी कृषकहरुबाट उत्पादित वस्तुहरुलाई सरकारले एक क्षेत्रबाट अर्को क्षेत्रमा लैजान आवश्यक व्यवस्था हुनु जरुरी छ।

हामीले कुनै पनि हालतमा आर्थिक क्षेत्रहरुलाई मध्यनजर राखेर योजनाहरु बनाउनु जरुरी छ। नत्र रोगपछिको भोकलाई अर्को महामारीको रुपमा बहन गर्नु पर्ने देखिन्छ।

अर्को महत्वपुर्ण कुरा- यस प्रकारको लकडाउन मोडालिटीलाई प्रत्येक हप्ता देखिने र भेटिने संक्रमणको आधारमा पुर्नविचार गर्ने र यसबीच सबै क्षेत्रहरु जो खुल्ला हुन चाहेको छ, उनीहरुलाई राज्यले मुख्यतयः सेनिटाईजेशनको लागि आवश्यक औषधी तथा अन्य आवश्यक सुरक्षा समाग्रीहरुको सरल र सहज तरिकाबाट उपलब्ध गराउनु अत्यावश्यक छ।

यसरी आंशिक रुपमा खुला गरिएको क्षेत्रहरुलाई सुरक्षित राख्न ताइवान, हङकङ र दक्षिण कोरीयाहरुले अपनाएको विधि हरेक क्षेत्र तथा ठाउँमा प्रवेश गर्दा सेनिटाइज गर्ने र मास्क र पन्जालाई अनिवार्य गर्नु पर्छ।

(लेखक अधिवक्त्ता तथा बाल अधिकारकर्मी हुन्।)

पार्टी एकताबारे राजकिशोर यादव : म जुन कुरा भन्थेँ, त्यो कुरामा अझै अडिग छु

अन्तर्वार्ता


वैशाख १० गते दिउँसोसम्म तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण हुने कुनै चर्चा थिएन । नेताहरुको बीचमा एकीकरणको छलफल ठप्प थियो । लकडाउनअघिसम्म राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले थोरै भए पनि पहल गरिरहेका थिए, तर कुरा अगाडि बढिरहेको थिएन । तर जब वैशाख १० गते काँग्रेस पार्टीले बोलाएको बैठक सकियो अनि एकाएक समाजवादी पार्टी र राजपा नेपालका नेताहरुले एकीकरण गर्ने मुड बनाएर छलफलकै लागि राजपा नेपालका वरिष्ठ नेतृ निर्जला राउतको घरमा पुगे । ६ बजेदेखि बसेको बैठक राति ११ः३० बजे दुई पार्टीबीच एकीकरण हुने सैद्धान्तिक सहमतिपछि मात्र टुङ्गियो । तर त्यो बैठकमा राजपा नेपाल अध्यक्षमण्डलका दुईजना सदस्य राजकिशोर यादव र अनिलकुमार झा उपस्थित थिएनन् । उनीहरु पहिलादेखि एकीकरणप्रति फरकमत राख्दै आएका थिए । उनीहरु बैठकमा उपस्थित नहुँदा विभिन्न आशंकाहरु उब्जियो । प्रस्तुत छ, यही आशंकाको निवारण तथा पार्टी एकीकरण लगायत विषयमा राजपा नेपालका अध्यक्षमण्डलका एकजना सदस्य राजकिशोर यादवसँग  गरेको कुराकानीः

समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणका लागि भएको छलफलमा तपाईको उपस्थिति देखिएन नि, किन ?

–अहिले विश्वमै कोराना भाइरसको महामारीको कारण बिपत्तिको स्थिति छ । मानव सभ्यता नै खतरामा परेको छ । नेपाल सरकारले कोरोना भाइरसको रोकथामका लागि लकडाउनको निर्णय गरेको छ । सबै राजनीतिक दलले त्यसको समर्थन गरेको छ । महामारीबाट बच्ने एकमात्र उपाय लकडाउन भएको हुनाले सबैले यसको पालना गर्नुपर्ने आवश्यकता छ । त्यसैले जुन दिनदेखि लकडाउन घोषणा भयो, त्यो दिनदेखि आफ्नो कम्पाउण्डभन्दा बाहिर म निस्केको छैन ।

यो समयलाई मैले स्वअध्ययन, चिन्तन, आत्मसमीक्षा, ध्यानमा उपयोग गरेँ । यो कोरोनाले आफैलाई पनि समस्या पार्छ र आफ्नो कारणले अरुलाई पनि समस्या पार्छ । त्यसैले सामाजिक सुरक्षा तथा रक्षाका लागि भए पनि म एक महिनादेखि घरबाट निस्केको छैन । त्यही कारणले एकीकरणको लागि भएको बैठकमा म भौतिक रुपमा उपस्थित हुन सकिनँ ।

त्यसो भए राजपा नेपाल र समाजवादी पार्टीका केही नेताहरुले लकडाउन सम्बन्धमा जारी सरकारको निर्देशनलाई उल्लंघन गर्नुभएको हो त ?

–यसले सरकारको निर्देशन उल्लंघन गर्नुभन्दा पनि यो सबैको दायित्वभित्र पर्ने कुरा हो । यो कुनै दल विशेषले हड्ताल गरेको होइन, सरकारले कफ्र्यु लगाएकोजस्तो पनि होइन । यतिबेला सबै नागरिक जिम्मेवार हुनुपर्छ । विश्वमा मै हुँ भन्ने शक्तिहरुको पनि अहिले अवस्था खराब छ । उनीहरु पनि आफूलाई यो बिपत्तिबाट जोगाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

नेपाल पनि यस्तै अवस्थामा जानुपर्छ जस्तो लाग्छ । यद्यपि एउटा घटनाले एकीकरणको अवस्थामा पु¥याएको बैठकमा म जान सकिनँ, केही साथीहरु जानुभयो । मैले यसलाई अन्यथा रुपमा लिएको छैन । अरुले पनि यसलाई अन्यथा बुझ्नुपर्ने कुनै कारण छैन ।

बैठकमा तपाईंको भौतिक उपस्थिति भएन, ठिकै छ । तर यो एकीकरणलाई तपाईंले कुन रुपमा लिनु भएको छ ?

–यो एकीकरणको कुरा एक वर्ष अगाडिदेखि नै उठिरहेको थियो । लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माण गर्ने कुराकानी भइरहेको थियो । सानो सानो शक्ति मिलेर नै राजपा नेपाल बनेको थियो । त्यही बेलादेखि अरु पार्टीलाई पनि मिलाउने योजनामा हामी थियौँ । त्यही सन्दर्भमा समाजवादी पार्टीसँग कुराकानी भइरहेको थियो । छलफलकै क्रममा थियौँ तर यो बीचमा एउटा परिस्थिति निर्माण भयो र एकीकरणका लागि सैद्धान्तिक सहमति भयो । यो एकीकरण विगतमा भएको छलफलकै निरन्तरतास्वरुप भएको भनि बुझ्नुपर्छ ।

यसअघि तपाईले राजपा नेपाललाई व्यवस्थित र बलियो नबनाईकन समाजवादी पार्टीसँग एकीकरण गर्नुहुँदैन भन्नुहुन्थ्यो, राजपा नेपालको पहिला महाधिवेशन हुनुपर्छ अनिमात्र एकीकरण जानुपर्छ भन्नुहुन्थ्यो तर अहिले अचानक एकीकरणको घोषणा भयो, जहाँ तपाईंको उपस्थिति थिएन । यो एकीकरणमा तपाईंको विमति छ कि समर्थन छ ?

–म जुन कुरा पहिले भन्थेँ, त्यो कुरामा अहिले पनि अडिग छु । कुनै पनि शक्ति निर्माण गर्दा पहिला आफू शक्तिशाली हुनुपर्छ । वैकल्पिक शक्ति निर्माण गर्नु एउटा कठिन प्रक्रिया हो । यसलाई टेकेर नै केही गर्नुपर्छ । यो कसैको लहैलहैमा, उत्तेजनामा या जोशमा आएर गर्ने चिज होइन । यसमा धेरै कुरा मिलाउनुपर्ने हुन्छ । राष्ट्रिय अन्तराष्ट्रिय स्थिति, समाजको मनोविज्ञान, समाजको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने हो । भोलिको दिनमा राम्रो रिजल्ट ल्याइयोस् भनेर मैलै सैद्धान्तिक रुपमा, वैचारिक रुपमा यो कुरा उठान गरेकै हो । अहिले पनि म त्यसलाई त्यही रुपमा हेर्छु । तथापि परस्थितिले विषयवस्तुलाई अगाडि बढाएको छ । एउटा परस्थितिले पार्टी एकीकरण भयो, त्यसपछि पनि त्यसलाई सफल बनाउनका लागि धेरै काम गर्नुपर्ने छ । जसरी परस्थितिले नेतृत्वलाई जवर्जस्त रुपमा धक्का दियो । त्यही अवस्थामा अगाडि बढ्नुपर्छ । त्यसमा कुनै असन्तुष्टि देखाउनुपर्ने कुनै कारण छैन ।

यत्रो दिनदेखि प्रयास गर्दा गर्दै पनि एकीकरण हुन सकेको थिएन, के यस्तो आपत आइलाग्यो जसले यो लकडाउनका अवस्थामा पनि रातारात एकीकरणको घोषणा गर्नुप-यो ?

–मैले अघि पनि भनेको थिएँ कि म एक महिनादेखिको लकडाउनमा घरमै थिएँ । एकप्रकारले राजनीतिक गतिविधिहरु पनि ठप्प नै राखेको थिएँ । म सम्पर्कमा पनि थिइनँ । जीवन, जगतलाई बुझ्न चिन्तन मननमा थिएँ । म खासै कसैको सम्पर्कमा थिइनँ । त्यो बैठकमा रहनुभएका साथीहरुले के के कुरा गर्नुभयो, किन यो परस्थिति निर्माण भयो, त्यो कुरा पनि मैले बुझ्न पाएको छैन । त्यो कुरा बाहिर पनि आएको छैन ।

त्यसदिन आज (१० गते) बैठक बस्नुपर्छ भनि फोन गरेर संयोजक (शरतसिंह भण्डारी) ले भन्नुभएको थियो । त्यो दिन बिहान काँग्रेसको पनि बैठक छ, त्यो पनि खबर थियो तर मैले उहाँलाई ‘लकडाउनमा म बाहिर निस्केको छैन । प्राविधिक रुपमा अहिले ड्राइभर पनि छैन । र, जाने मन पनि छैन, तपाईंहरु गर्नुस्, केही भयो भने फोनमा कुरा गर्नुहोला, मेरो सहमति रहन्छ’ भनेको थिएँ । तै पनि उहाँले आउनुस् कि आउनुस् भन्नुभएको थियो । मैले काँग्रेसको बैठकमा जानका लागि असमर्थता जाहेर गरेको थिएँ । काँग्रेसको बैठकबाट निस्केपछि उहाँले पुनः मलाई फोन गरेर समाजवादी पार्टीसँग ६ बजे बैठक छ भन्नुभयो । तर मलाई लाग्यो कि अहिलेको विकसित घटनाक्रमको बारेमा बैठक होला र मैले त्यही रुपमा त्यसलाई बुझेको थिएँ । ‘तपाईंहरु बैठक गर्नुस्, केही कुराकानी भयो भने फोन संवाद गरौँला’ भनेको थिएँ । तर अचानक खबर आयो कि दुई पार्टीबीच एकीकरण नै भयो ।

त्यहाँ के के भयो, कसरी भयो, त्यो कुरा मलाई थाहा भएन । त्यहाँ उपस्थित नेताहरुलाई नै थाहा होला । म अहिले पनि राजनीतिक कुरा गर्ने पक्षमा थिइनँ । म आफ्नो ध्यानलाई अहिले कतै डाइभर्ट गर्ने पक्षमा थिइनँ । यो राजनीति गर्ने बेला होइन तर नेपालमा कस्तो छ भने, अवस्था जस्तोसुकै होस्, नेताहरुलाई राजनीति गर्नैपर्ने जस्तो छ । नानीदेखि लागेको बानी अझै सुधार भएको छैन । अहिले कोरोनाको विरुद्धमा एकजुट भएर लड्नुपर्ने बेलामा राजनीतिक गतिविधिले जुन तीब्रता लिएको छ, त्यो दुःखद् पक्ष हो । अमेरिकामा राष्ट्रपति चुनाव सर्ने अवस्था सिर्जना भएको छ । भारतमा पनि त्यस्तै अवस्था छ । विश्वमा नै अहिले कोरोनाबाट कसरी बच्ने भनेर सारा शक्ति त्यसैमा लगाएको छ तर नेपालमा अहिले पनि दलगत राजनीति, गुटगत राजनीतिभन्दा माथि उठ्न सकेको छैन ।

यो एकीकरणले नेपालको राजनीतिमा कस्तो प्रभाव पार्छ ?

–यो निकै गम्भीर र भविष्य लक्षित प्रश्न हो । यसमा अझै वृहत छलफलको आवश्यकता छ । छलफलबाट निष्कर्षमा पुगेपछि मात्र यी प्रश्नको जवाफ दिन सकिन्छ । जहाँसम्म मैले कल्पना गरेको राजनीतिक शक्तिको कुरो छ, त्यो ढंगले निर्माण गर्न सकियो भने नेपालको राजनीतिक कोर्समा एउटा ऐतिहासिक जिम्मेवारी पुरा गर्न सक्छ । त्यसका लागि सामूहिक चिन्तन, सामूहिक कार्य, सामूहिक शक्तिले मात्र सम्भव छ ।

तपाईंले अहिलेका समकालीन नेताहरुसँग काम गरिसक्नु भएको छ, ११÷१२ वर्षको अनुभव छ तपाईंसँग । जुन नेचरको राजनीतिक दल र त्यसका नेताहरु हुनुहुन्छ, तपाईंलाई के लाग्छ, तपाईंले भनेकोजस्तो सामूहिक रुपमा अगाडि बढ्छ त ?

–यसमा समयले धेरै कुरा निर्धारण गर्छ । मैले विगत र आजको समयलाई नियाल्दा के बुझेको छु भने नेतृत्वपंक्तिमा परस्थितिले गर्दा एक प्रकारको बुझाई भएको छ र यो परस्थिति निर्माण भएर यो कार्य अगाडि बढेको छ । काम गर्दा केही तलमाथि भइरहन्छ तर एउटा बृहत सोचका लागि यस्ता साना मसिना कुरामा अल्झिनु हुँदैनजस्तो लाग्छ । पार्टीका नेतृत्व तहका नेताहरुले पनि सोच साँघुरो बनाउनु हुँदैन, वृहत सोचका साथ अगाडि बढ्नुपर्छ । सबैको भावना र विचारलाई कदर गर्दै अगाडि बढ्नुपर्छ अनिमात्र मिसनमा सफल हुन्छ ।

मधेशवादी दल फुटाउनैका लागि यो अध्यादेश ल्याएको हुँ, मधेशवादी दलहरुले मलाई मधेशमा निषेध गरेकै कारणले यस्तो गरेको हुँ भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको सञ्चारमाध्यममार्फत बाहिर आएको छ, के साँच्चै प्रधानमन्त्री ओलीले भनेका कुरा सही हो ?

–म एकप्रकारले अध्यात्ममा विश्वास गर्ने मान्छे हुँ । एक त अध्यादेशको औचित्य भएन भने भनि फिर्ता भयो । यसमा धेरै गन्थन गर्ने आवश्यकता भएन । मिडियामा आएको कुरा कति सत्य हो÷होइन भन्ने कुरालाई कसरी मापन गर्ने थाहा छैन । तर जसरी, जुन अवस्थामा अध्यादेश ल्याइयो, त्यो ठिक भएन । अहिले त सरकारको पुरै ध्यान कोरोना भाइरसबाट जनतालाई कसरी मुक्ति दिलाउन सकिन्छ, त्यसमा जानुपर्ने हो । तर दुर्भाग्य, राजनीतिभन्दा हामी माथि उठ्न सकेनौँ । अब हामी पुनः त्यही नर्मल अवस्थामा पुग्छौँ भनि कसैले सोचिरहेको छ भने गलत हो । अब परस्थिति धेरै बदलिसकेको छ । कोरोनाबाट मुक्त भए पनि विश्व परिवेश, भौगोलिक राजनीति र सम्बन्ध यस्तै रहने छैन । आउने दिनलाई कसरी सामना गर्ने हो, त्यसका लागि तयार हुनुपर्ने हो । त्यसका बारेमा चर्चा गर्नुपर्ने हो, त्यसको बारेमा अध्ययन गर्नुपर्ने हो । यो कोरोना भाइरसले हाम्रो आर्थिक र सामाजिक जीवन प्रकृयालाई प्रभाव पार्छ । त्यसलै अहिले नेपाल सरकारले सोच्नुपर्ने के हो भने हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड भनेको विदेशबाट आउने रेमिटेन्स हो । यो कोरोनाले गर्दा बाहिरी मुलुकले नेपाली श्रमिकहरुलाई पहिलाको जस्तै लग्ने छैन । ती युवा अर्थात् श्रमिकलाई देशमै कसरी रोजगार दिन सकिन्छ, त्यो कुरामा ख्याल गर्नुपर्छ । हामी हरेक कुरामा परनिर्भर भएको अवस्थामा अब कसरी आत्मनिर्भर हुने कुरामा ध्यान दिनुपर्ने अवस्था आएको छ ।

‘एक दुई जनाले नमान्दैमा बैठक रोकिदैन’

अन्तर्वार्ता


काठमाडौं । अध्यादेश प्रकरणपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेसँगै नेताहरुको कोठे बैठक र दौडधुप जारी छ । आइतबार दिनभरजसो बालुवाटार, खुमलटार र कोटेश्वरमा शीर्ष नेता निकटहरुका बैठकहरु भयो । अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहका फरक–फरक बैठक बस्यो भने एकपक्षले अर्को पक्षलाई मनाउने प्रयासहरु भए । खासगरी पार्टी बैठक बोलाउने या नबोलाउने भन्नेमा मतभेद आएपछि नेकपाभित्र शक्ति सन्तुलनको तीव्र अभ्यास सुरु भएको हो । अध्यादेश खारेज भइसकेपछि पार्टी बैठक आवश्यक नभएको ठान्ने केपी ओली समुह र अध्यादेश कुन नियतले ल्याइयो र किन फिर्ता गरियो भनेर जावफ खोज्नेहरुबीच अन्तरद्वन्द्व चर्किएको छ ।

अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहका नेताहरु स्थायी समिति बैठकमार्फत् आफ्ना गुनासा राख्न चाहन्छन् । त्यसका लागि प्रचण्ड र माधव नेपाललाई बैठक डाक्न दबाब दिइरहेका छन् । शनिबार शीर्ष नेतासँगको छलफलमा आइतबारसम्म सचिवालय बैठक बोलाएर स्थायी समिति बैठकको मिति तोक्ने बताएका अध्यक्ष केपी ओलीले सोमबार बिहानसम्म पनि सचिवालय बोलाउन सहमत भएका छैनन् ।

सोमबार साँझसम्म पनि बैठकको टुङ्गो नलागे ओलीविरुद्ध फरक ढंगले अघि बढ्ने दाहाल र नेपालसमुहको तयारी छ । स्थायी समितिको बैठक माग गर्ने २० जना मध्येका एक नेता युवराज ज्ञवालीलाई नेकपाको आन्तरिक विवाद कहाँ पुग्यो भनेर रातोपाटीले सोधेको छ । प्रस्तुत छ नेता ज्ञवालीसँगको संक्षिप्त टेलिफोन वार्ता :

विगत केही दिनदेखि नेकपामा गुटगत भेला धेरै हुन थाल्यो, कारण के हो ?

पार्टी र सरकारबीच समन्वय नै भएन । यो रोक्नुपर्नेछ । यसका लागि पहिला सचिवालय बैठक बस्नुपर्‍यो । त्यसपछि स्थायी कमिटिको माग गरेका छौ । हामीले भन्नुपर्ने कुरा धेरै छन् । हामी हाम्रा कुरा ति बैठकमा सशक्त उठाउछौ । स्थायी कमिटि डाक भनेर माधव नेपाल र प्रचण्डलाई भनेका हौँ । उहाँहरु त्यसैको तयारी लाग्नुभएको छ । स्थायी कमिटी बैठक बस्यो भने हामी हाम्रा धेरै कुरा राख्छौँ ।

धेरै भन्नुछ भन्नुभयो । के–के भन्नुछ एक, दुई तीन गरेर भन्नु त ?

भन्नलाई त बैठक बस्नुपर्‍यो नि । बैठकबाहिर भन्ने होइन । बाहिर भनेर समस्या हल हुदैन । हल गर्ने ठाउ भनेको पार्टी कमिटि हो । त्यसैले पार्टी कमिटिको बैठक राख्नुपर्‍यो ।

बैठक राख्ने अझै संकेत देखिएको छैन ? अध्यक्षले बैठक नै राख्नुभएन भने के गर्नुहुन्छ ?

हैन, हैन, अनिवार्य बस्नुपर्छ । एक दुई जनाले मानेन भन्दैमा बैठक रोकिदैन ।

नेकपामा सरकार केपी ओलीले चलाउने, पार्टी प्रचण्डले चलाउने भनेर कार्यविभाजन भएको हो । अध्यक्ष प्रचण्डले बैठक बोलाए हुदैन ?

त्यही त हो हामीले भनेको । उहाँहरुले सल्लाह गरेर निर्णय गर्नुपर्‍यो । सचिवालयमा बस्नुभएको छ । एउटा बैठक पनि डाक्नसक्नुहुन्न भने के हुन्छ ?

तर, तपाईंहरु त प्रधानमन्त्री पनि फेर्ने, मुख्यमन्त्री पनि फेर्ने हिसावले अघि बढ्दै हुनुहुन्छ भन्ने छ नि के त्यसै गर्न लाग्नुभएको हो ?

होइन, यो कुरामा कुनै सत्यता छैन । यसबारेमा हाम्रो कुनै छलफल नै भएको छैन ।

गर्न खोजेको के हो त त्यसो भए ?

हामीले गर्न खोजेको भनेको पार्टीलाई संस्थागत रुपले चलाउनुपर्‍यो । सरकारलाई पार्टीले चलाउनुपर्‍यो भनेको हो । संस्थागत निर्णय हुनुपर्‍यो । त्यसैले बैठकको माग गरेको हो । स्थायी कमिटी बैठकको माग त्यसै गरेको होइन । त्यसले निर्णय गर्छ । बैठक बसेर भाषण गर्न मात्र बैठकको माग गरेका होइनौँ । त्यसले निर्णय गर्छ ।

के गर्छ निर्णय ?

छलफल गरेपछि थाहा हुन्छ । छलफल नै नगर्ने, बैठक नै नराख्ने अनि भाषण गरेर मात्र त निर्णय हुदैन । हामीले पनि अन्तरवार्ता दिएर समस्या हल हुनेवाला छैन ।

यसअगाडि बसेको स्थायी समिति र केन्द्रीय समितिले गरेका निर्णयहरु नै कार्यान्वयन नभएको अवस्थामा फेरि बैठक बसेर अरु निर्णय गर्नुको कति अर्थ रहन्छ ?

हो । त्यो पनि समिक्षा गर्नुपर्ने भएकाले बैठक मागेका हौँ । केन्द्रीय कमिटीको बैठक बसेर त्यत्रो निर्णय गरेको छ । त्यसको उहाँहरुले जवाफ दिनुपर्छ । जवाफ दिनुभएन भने त्यसको समाधान केहो खोज्नुपर्छ । नयाँ समाधान खोज्नुपर्छ । या त उहाँहरुले गर्नसक्नुपर्‍यो या त छोड्नुपर्‍यो । यस्ता धेरै कुरा भन्नुपर्नेछन् । बाहिर कति भन्नु कति बोल्नु ? त्यसकारण हामी अब बोल्दैनौ ।

अब कति समय पर्खनुहुन्छ त बैठकका लागि ?

हेर्दै जाउ । हामीले भन्ने कुरा नेतृत्वलाई भनेका छौँ । बैठक बस्दै बसेन भने विधानमा व्यवस्था भएअनुसार अघि बढ्ने कुरा छँदैछ । त्यसपछि अगाडि जाने स्टेप वाई स्टेपका प्रक्रिया छन् ।

पार्टीबाटै सरकारलाई नै घेराबन्दी भयो । काम गर्ने वातावरण नै भएन भन्ने गुनासो छ । के तपाईंहरुले सरकारलाई घेराबन्दी गरेको हो ?

घेराबन्दी, अप्ठेरो केही गरेको छैन । आफै नचाहिने–नचाहिने काम गर्ने, अध्यादेश ल्याउने के गर्ने त्यसपछि हामीलाई दोष दिने ?

आज कुन चरणको छलफल गर्दै हुनुहुन्छ ?

आज हाम्रो छैन । आज सचिवालयमा केही छलफल होला ।