social
||Rajyadainik||

आजको समाचार

युरोप पठाउने भन्दै अवैध रुपमा पैसा उठाउने मुनलाइट म्यानपावर सिल

सामाजिक


काठमाडौँ — मंसिर १०, २०७७। 

वैदेशिक रोजगार विभागले ललितपुरस्थित म्यानपावर कम्पनी मुनलाइट इन्टरनेसनल प्रालिमा सिलबन्दी गरेको छ । उक्त म्यानपावरले विभागबाट स्वीकृतिबिना युरोपलगायतका विभिन्न मुलुक पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा असुलेको विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अवैध रुपमा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाइरहेको भन्ने सूचना पाएपछि विभागको टोली कात्तिक ४ गते आकस्मिक अनुगमनमा गएको थियो । अनुगमनमा जाँदा कार्यालय बन्द रहेको र सञ्चालकलाई बारम्बार सम्पर्क गर्दा पनि विभागमा उपस्थित नभएकाले मंगलबार मुनलाइट म्यानपावरको कार्यालय सिल गरिएको विभागले बताएको छ ।

साथै वैदेशिक रोजगारीमा जान भनी रकम बुझाएका व्यक्तिलाई १५ दिनभित्र विभाग वा श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन पनि आग्रह गरिएको छ ।

विभागले मुनलाइट म्यानपावरको सम्पूर्ण कारोबार रोक्का गरिएको र अर्को सूचना प्रकाशित नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानका लागि पैसा र राहदानी नबुझाउनसमेत विभागले आग्रह गरेको छ ।

(कान्तिपुर दैनिक)

भ्रष्टाचार बढेको बताउनेमा नेपालीहरू अगाडि : सर्वेक्षण

सामाजिक


ट्रान्स्परेन्सी इन्टरनेसनलले एसियाली १७ मुलुकमा गरेको सर्वेक्षणका सहभागीमध्ये ५८ प्रतिशत नेपालीले देशमा भ्रष्टाचार बढेको जनाएका छन् ।  

काठमाडौँ — मंसिर १०, २०७७। 

आफ्नो मुलुकमा भ्रष्टाचार बढेको बताउनेमा नेपालीहरू अग्रपंक्तिमा देखिएका छन् । ‘ट्रान्सपरेन्सी इन्टरनेसनल’ले सार्वजनिक गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर’ प्रतिवेदनले यस्तो औंल्याएको हो ।

उक्त संस्थाले सन् २०२० का लागि एसियाका १७ देशमाथि सर्वेक्षण गरेको थियो । सर्वेक्षणका सहभागीलाई ‘तपाईंलाई पछिल्लो एक वर्षमा मुलुकमा भ्रष्टाचारको स्थिति कस्तो छ भन्ने लाग्छ ?’ भनी सोधिएको थियो । सहभागीमध्ये ५८ प्रतिशत नेपालीले पछिल्लो एक वर्षमा भ्रष्टाचार बढ्दो क्रममा रहेको जवाफ दिएका छन् । जुन उक्त प्रश्नमा यस्तै जवाफ दिने अन्य मुलुकका सहभागीको तुलनामा सबैभन्दा बढी हो ।

सर्वेक्षणको नतिजाअनुसार थाइल्यान्ड, माल्दिभ्स र श्रीलंकामा पनि भ्रष्टाचार बढेको भनी ती मुलुकका नागरिकले चिन्ता जनाएका छन् । भारतमा यो दर ४७ प्रतिशत मात्रै छ । सबैभन्दा कम कम्बोडियामा १२ प्रतिशतले मुलुकमा भ्रष्टाचार बढ्दो रहेको उल्लेख गरेका छन् । १७ मुलुकका औसतमा ३८ प्रतिशत नागरिकले भ्रष्टाचार बढेको महसुस गरे पनि नेपालमा यो दर सबैभन्दा बढी देखिएको हो ।

नेपालमा खास गरी सार्वजनिक खरिदमा हुने भ्रष्टाचारलाई समस्याका रूपमा औंल्याइएको छ । सहभागीले राजनीतिज्ञ र प्रशासकहरूको संलग्नतामै यस्तो भ्रष्टाचार फैलँदो क्रममा रहेको जनाएका छन् । प्रतिवेदनअनुसार सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचार अर्को समस्या हो । नेपालीहरूले संघीयदेखि स्थानीय सरकारसम्मै भ्रष्टाचार रहेको प्रतिक्रिया दिएका छन् । सार्वजनिक जग्गाको दोहन, मन्त्रिपरिषद्मै विवादास्पद व्यक्तिहरूको सहभागितालाई समस्याका रूपमा औंल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भ्रष्टाचार नियन्त्रणका भाषण गरे पनि व्यवहारमा त्यो नदेखिएको प्रतिवेदनमा उल्लेख छ । अख्तियारमाथि ठूला भ्रष्टाचारका उजुरीमा छानबिन गर्न र मुद्दा चलाउन नसकेको आरोप छ । अभियन्ता गोविन्द केसी र इनफ इज इनफ अभियानको उदाहरण दिँदै प्रतिवेदनमा भ्रष्टाचारविरुद्धको अभियानलाई सरकारले नै सम्बोधन नगरेको जनाइएको छ ।

सर्वेक्षणका सहभागी नेपालीमध्ये ८४ प्रतिशतले सरकार नै भ्रष्ट रहेको ठानेका छन् । १७ मुलुकमध्ये यो दर पनि सबैभन्दा बढी हो । उनीहरूका अनुसार नेपालमा सरकारमा हुने भ्रष्टाचार नै मुख्य समस्या हो । सहभागी नेपालीमध्ये १२ प्रतिशतले पछिल्लो एक वर्षमा कुनै न कुनै काममा घुस बुझाएको जनाएका छन् । भारतमा यो दर ३९ प्रतिशत छ ।

सहभागी नेपालीमध्ये २८ प्रतिशतले प्रहरीमा र २४ प्रतिशतले न्यायालयमा पनि भ्रष्टाचार व्यापक रहेको उल्लेख गरेका छन् । नातावाद र प्रभाव चल्ने निकायमा पनि सुरक्षा निकाय र अदालत अग्रपंक्तिमा छन् । प्रतिवेदनअनुसार नेपालका सहभागीमध्ये २९ प्रतिशतले सरकारी काम लिँदा नातावाद र पहुँचलाई प्रयोग गरेको जनाएका छन् ।

एसियाली मुलुकहरूको मूल्यांकन गर्दै ट्रान्स्परेन्सीले सरकारमा संलग्नबाटै हुने भ्रष्टाचारलाई मुलुकको प्रमुख समस्याका रूपमा औंल्याएको छ । करिब ७४ प्रतिशत सहभागी उनीहरूका मुलुकमा सरकार भ्रष्टाचारको प्रमुख कारक हो भन्ने ठान्छन् । उनीहरूमध्ये एक तिहाइले सांसदलाई पनि भ्रष्ट मानेका छन् । प्रतिवेदनअनुसार यस्ता मुलुकमा राजनीतिक नैतिकताको अभाव छ । निर्वाचनका दौरान त्यो समस्या अझै ह्वात्तै बढ्न पुग्छ ।

ट्रान्सपरेन्सीले नागरिकको सशक्तीकरण, सूचनाको हकको प्रयोग, राजनीतिक लोकतान्त्रिक प्रक्रियामा नैतिकताको प्रयोग, घुस र नातावाद नियन्त्रणबाट भ्रष्टाचार नियन्त्रण गर्न सकिने सुझाएको छ । सर्वेक्षणमा १७ मुलुकका २० हजार जना नागरिक सहभागी थिए । नेपालबाट एक हजार जना सहभागी भएको प्रतिवेदनमा उल्लेख छ ।

(कान्तिपुर दैनिक)

बालिकाको हत्या : प्रदर्शन रोक्न बर्दिबासमा निषेधाज्ञा

सामाजिक


काठमाडौँ — मंसिर १०, २०७७। 

बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको हो ।

पूर्वमा बर्दिवास नगरपालिका–१ रातुखोला, पश्चिममा वडा नम्बर ५ माईस्थान, उत्तरमा वडा नं ३ पाटुचोक र दक्षिणमा वडा नं ८ क्वाटर चोकलाई चार किल्ला कायम गरी निषेधाज्ञा लगाइएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा जारी निषेधाज्ञामा आदेश पालना नगर्नेलाई कारबाही गरिने उल्लेख छ ।निषेधाज्ञा भए पनि पूर्व–पश्चिम राजमार्गमा भने गाडी चल्न दिइने प्रशासनले जनाएको छ ।

मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृत्यु भएको हो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै न्यौपानेको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बासिन्दा बिस्नु बम्जनले जानकारी दिए । बालिकाको हत्या गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।

(कान्तिपुर दैनिक)

स्याबास सपना !!

सामाजिक


काठमाडौँ — मंसिर १०, २०७७। 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा पहिलो पटक पुग्दा निकै अत्तालिएकी थिइन् उनी। बाहिर मान्छेको भीडजस्तै त्यहाँ शवको थुप्रो थियो। कति बीभत्स १ कति भयानक १ कसैको टाउको थिएन, कसैको खुट्टा त कसैको आँखा। तर, त्यसको एक वर्षपछि भने उनलाई शवहरूसँग डर लाग्न छाडेको छ।

उनी हुन्, १९ वर्षीया सपना रोका मगर। उनी हरेक दिन पशुपति आर्यघाटमा बेवारिस शव जलाउँछिन्। यो काम उनले कुनै चर्चाका लागि गरेकी होइनन्। तर, यही कर्मले उनलाई संसारमै चिनाइदिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्वका प्रेरणादायी र प्रभावशाली सय महिलाको सूचीमा सपना पनि परेकी छन्।

यो बेला सपना म्याग्दीस्थित घर पुगेकी छन्। काठमाडौंबाट एक जना पत्रकारले झिसमिसेमै फोन गरी यो खबर उनलाई सुनाए। तब उनी निःशब्द भइन्।

‘निरन्तर आँसु मात्रै आयो। केही भन्नै सकिनँ। हामीले गरेको काम देख्ने कोही त रैछ जस्तो लाग्यो’, सपनाले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘फेसबुक खोलेर हेरें जताततै मेरै समाचार थियो। अत्यन्तै खुसी लाग्यो। म्यासेज, फोन र बधाई त थामिनसक्नु पाइरहेकी रहेछु। नेपालका अग्रज, वरिष्ठ व्यक्तिहरूले पनि मेरो कामलाई बधाई दिँदै हौसला पठाउनु भएको रैछ।’

उनले यो जिम्मवारी र सफलताले अरू कर्म गर्न थप प्रेरणा मिलेको बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी

सामाजिक


काठमाडौँ — मंसिर १०, २०७७। 

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ । हिजो मंगलबार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले एक महिनात्रित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको हो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले २२ गतेभित्र सबै केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरी बोर्डमा पठाउन निर्देशन दिइसकेको जानकारी दिए । यो वर्ष विद्यालय आफैले उत्तरपुस्तिका परीक्षण गरी पठाउनुपर्ने व्यवस्था गरेको छ ।

४० पूर्णाङ्कको लिखित परीक्षा भएको र विद्यालयबाटै उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था भएका कारण एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न सकिने अड्कल गरिएको अध्यक्ष प्राडा पौडेलको भनाई छ। उनले भने– ‘तोकिएको समयमा उत्तरपुस्तिका प्राप्त भए एक महिनाभित्र सजिलै परीक्षाफल प्रकाशित गर्न सक्छौं ।’ तर प्राविधिक र उत्तरपुस्तिका ढिलो आए केही ढिला हुन सक्ने बोर्डको आकलन छ ।

अध्यक्ष पौडेलले फरक जिल्लाका करिब १८ हजार विद्यार्थीको उत्तरपुस्तिका बोर्डले परीक्षण गर्नुपर्ने भएकाले केही ढिला हुन सक्ने बताए।

बोर्डले फरक जिल्लाबाट परीक्षा दिएका विद्यार्थीको हकमा प्रदेश र शाखा कार्यालयबाट परीक्षा सकेको केही दिनमा उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ । तीबाहेक होम सेन्टरबाट परीक्षा दिएका विद्यार्थीको समस्या नपर्ने अड्कल बोर्डले गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

कतार पठाउन अवैध अन्तर्वार्ता

सामाजिक


काठमाडौँ — मंसिर १०, २०७७। 

कतारमा नेपाली श्रमिक पठाउने विषयमा मागपत्रको पूर्वस्वीकृति बिना नै केही वैदेशिक रोजगार कम्पनीले विदेश पठाउने भन्दै सयौँ सङ्ख्याका युवालाई धमाधम अन्तर्वार्ता लिएको अवस्थामा वैदेशिक रोजगार विभागको अनुगमन टोलीले फेला पारेको छ । होप इन्टरनेसनल, एसओएस म्यानपावर सर्भिस र डीडी ह्युमन रिसोर्स कम्पनीले त्यसरी अन्तर्वार्ता लिएको पाइएको हो ।

यससँगै वैदेशिक रोजगारीका नाममा डरलाग्दो बेथिति रहेको उजागर भएको छ ।विभागको टोलीले सोमबार धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रालिमा र मङ्गलबार रानीबारीस्थित होप इन्टरनेसनल म्यानपावरमा अनुगमन गर्ने क्रममा कतारमा सुरक्षा गार्डका लागि मागको पूर्वस्वीकृति बिना अन्तर्वार्ता लिएको अवस्थामा फेला पारेको हो ।

ती कम्पनीले सुरक्षा गार्डका लागि अन्तर्वार्ता लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा विभागको टोली आकस्मिक अनुगमनमा पुगेको थियो । विभागको टोली ती कम्पनीमा पुग्दा अन्तर्वार्ताका लागि सयौँ सङ्ख्याका युवालाई गेटबाहिर लाइनमा लामबद्ध गरेको फेला परेको विभागले जनाएको छ । अनुगमनपछि विभागको टोलीले आवश्यक कागजातसहित वैदेशिक रोजगार कम्पनीका सञ्चालकलाई विभागमा उपस्थित हुन पत्र काटेको जनाएको छ ।

विदेशबाट नेपाली श्रमिकको माग आएको हो भने त विभागबाट पूर्वस्वीकृति नै नलिइकन कसरी विदेश पठाउन सम्भव छ भन्ने प्रश्न गर्दै विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कानुनअनुसार कारबाही गर्ने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

कोरोना खोप खरिद गर्न ५० अर्ब

सामाजिक


काठमाडौँ — मंसिर १०, २०७७। 

नेपालले विश्व बजारमा कोरोना भाइरसको खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्रयाउन रहेका कानुनी बाधा फुकाइसकेको छ ।

खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले दिए ।

खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ ।

डा गौतमले भने, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु प¥यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ ।”
दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि छिट्टै खोप ल्याउन सहज हुनेछ ।

अहिले नेपाल आउन लागेका खोप त्यही मापदण्डभित्रकै छन् । विश्व स्वास्थ्य सङ्गठनले थालेको कोभ्याक्स अभियान अन्तर्गत आउने खोप र व्यवसायगत हिसाबले विश्व बजारमा आउने जुनसुकै खोप नेपाल ल्याउन सरकारले तयारी गरेकाले नेपालीले कोभिड विरुद्धको खोप छिट्टै लगाउन पाउने आशा पनि बढाएको हो ।

सहुलियतको खोप र व्यावसायिक रूपमा खरिद गर्ने दुवै थरी खोप नेपाल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयले हातेमालो गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।

त्यस अनुसार खोप नेपाल ल्याउन स्वास्थ्य सेवा विभाग खोप शाखाअन्तर्गत डा श्यामराज उप्रेतीको संयोजकत्वमा बनेको विज्ञ समूहले योजना सहितको प्रस्ताव बनाएर स्वास्थ्य मन्त्रालयमा पेस गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

पुसदेखि सुरुङ खनिँदै

सामाजिक


काठमाडौँ — मंसिर १०, २०७७। 

कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यले भने “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको सुरुङ खन्ने काम सुरु गरिनेछ ।” मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९ का कारण पूरा हुन नसकेको उनले स्पष्ट गरे । सुरुङमार्गको मुखमा राखिने स्टिलको फ्रेम अहिले निर्माण भइरहेको बताउँदै आयोजना प्रमुख शाक्यले भने, “सुरुङ खन्न अब कुनै तयारी बाँकी छैन ।

फ्रेम निर्माण गरिरहेको बुटबलस्थित कम्पनीका कामदारमा कोभिड–१९ को सङ्क्रमण देखिँदा कम्पनी केही समय बन्द भएकाले समयमा फ्रेम निर्माण हुन सकेन । पहिलो फ्रेम हाल्नुपर्छ, फ्रेम हालेको ८र१० दिनपछि सुरुङ खन्ने काम सुरु हुन्छ ।’’

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको मुलुककै पहिलो आधुनिक उक्त सुरुङमार्ग निर्माणका लागि अहिले आवश्यक जनशक्ति र उपकरण पूरा भइसकेकाले अब आयोजनाको काम बिनाअवरोध अगाडि बढ्ने र निर्धारित समयमै काम सम्पन्न हुने लक्ष्य लिइएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले गएको कात्तिक ४ गते उक्त सुरुङमार्ग शिलान्यास गरेका थिए ।। आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेका छन् भने जापानबाट थप १५ जना प्राविधिक आउने तयारीमा छन् ।

सुरुङमार्ग निर्माण गर्न नौ सय टन विस्फोटक पदार्थ आवश्यक रहेकोमा निर्माण स्थलको भण्डारण क्षमताअनुसार अहिले ६० टन आयात गरिएको समेत आजको गोरखापत्र दैनिकमा खवर छ ।

बर्दिबास प्रदर्शनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

सामाजिक


महोत्तरी — मंसिर १०, २०७७। 

बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृत्यु भएको हो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बालिका दुई दिनदेखि बेपत्ता थिइन् । उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

उनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको बर्दिवासका बासिन्दा बिस्नु बम्जनले जानकारी दिए ।

बालिकाको हत्या गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।

(कान्तिपुर दैनिक)

बालिका हत्या प्रकरण : प्रहरीले बल प्रयोग गरेर खुलायो राजमार्ग

सामाजिक


काठमाडौँ — मंसिर ९, २०७७। 

महोत्तरीको बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै भएको तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिएर प्रहरीले राजमार्ग खुलाएको छ ।

लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको थियो ।

प्रहरीको गोली लागि बर्दिवास–१ का ४५ वर्षीय सञ्जय न्यौपाने गम्भीर घाइते भएका छन् । उनलाई प्रहरीले चलाएको २ राउण्ड गोली लागेको छ ।

उनको बर्दिवासस्थित पिनाकल अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडाैं लैजाने तयारी भइरहेको बर्दिवास नगरपालिका-१ का अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए ।

(कान्तिपुर दैनिक)