world
|| Rajyadainik ||

आजको समाचार

कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षा मापदण्ड पूरा नगरी सिधै घर

विश्व


जाजरकोट - बैशाख १३

जाजरकोट, कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा भारतबाट सर्वसाधारण जाजरकोट पुगेका छन् । प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क लगाऔँ’ जस्ता नारा लगाएर बजार परिक्रमा गरे पनि अन्य कुनै पनि निकायले सतर्कता अपनाएको देखिँदैन ।

जिल्ला अस्पतालमा समेत दुई शय्याको आइसोलेसनबाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन । ठाउँको अभावमा आइसोलेसन बनाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवन भत्काउँदा व्यवस्थापनमा समस्या भएको हो । अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन । दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ । रासस

वीरगन्जमा संक्रमण दर ७० प्रतिशत

विश्व


वीरगन्ज - बैशाख १३

वीरगन्ज, वीरगन्जमा केहि दिन यता कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ। वीरगन्जमा ४ दिन अघिसम्म संक्रमण दर ५० प्रतिशतभन्दा बढी थियो। तर ३ दिन यता भने संक्रमण दर ६० देखि ७० प्रतिशतसम्म पुगेको छ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति परीक्षण गराएका मध्ये ७० प्रतिशतभन्दा बढीमा संक्रमण भेटिएको छ। आइतबार राति १४० जनाको स्वाब नमूना परीक्षण गर्दा ९९ जनामा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटेर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

थपिएका ९९ संक्रमित मध्ये पर्सा जिल्लाको मात्रै ८६ जना छन्। तीमध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ८० जना रहेको डाक्टर दासले जानकारी दिए।
पर्सा जिल्लाकै विन्दवासीनी गाँउपालिकाका ३ जना तथा बहुदरमाइ नगरपालिका, पोखरीया नगरपालिका र छिपहरमाइ गाँउपालिकाका १(१ जनामा पनि संक्रमण भेटिएको हो।

यस्तै बारा जिल्लाका १० जना, रौतहट जिल्लाका २ जना र सर्लाही जिल्लाका १ जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए। यसअघि शनिबार बेलुकी पनि वीरगन्जको नारायाणी अस्पतालमै १४० जनाको परीक्षण गर्दा ६४ प्रतिशतमा अर्थात ९० जनामा संक्रमण पुष्टि भएको थियो।
नारायणी अस्पतालकै प्रयोगशालामा शुक्रबार साँझ पनि १३९ जनाको पीसीआर परीक्षण गर्दा ६२ प्रतिशत अर्थात ८६ जनामा संक्रमण भेटिएको थियो।
वीरगन्जमा केही दिन यता संक्रमण उच्च दरमा बढिरहेकाले यसले अवस्था नियन्त्रण बाहिर गइरहेको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए। अन्नपूर्ण पोस्ट् दैनिकबाट

हजारौं भारतीय काठमाडौं हुँदै तेस्रो मुलुकतर्फ

विश्व


काठमाडौं - बैशाख १३

काठमाडौं, भारतमा कोरोना संक्रमण बढेलगत्तै भारतीय नागरिकहरू नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान थालेका छन्। दुई महिनायता हजारौं नागरिक नेपालको विमानस्थल प्रयोग गरेर हङकङ र साउदी अरब गएका हुन्। कोरोना संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङलगायत मुलुकले भारतबाट हुने सबै उडान रोकेपछि भारतीय नागरिकले नेपालको हवाई मार्ग प्रयोग गरेका हुन्।

नेपाल–भारतका सीमा जोडिएका प्रमुख जिल्ला अधिकारीहरूले भारतीय सीमा नाका बन्द गर्ने प्रस्ताव गरेका बेला विमानस्थलबाट भने निर्वाध रूपमा भारतीय नागरिहरू भित्रिएका हुन्। कोरोना संक्रमण नभएको पिसिआर रिपोर्ट लिएर आएका भारतीयलाई नेपाल प्रवेश गर्न दिइएको अध्यागमन विभागले जनाएको छ। तर भारतीय विमानस्थलबाट नेपाल आएका पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाहलाई समेत कोरोना संक्रमण देखिँदा पनि विमानस्थलमा चेकजाँचलाई कडाइ गरिएको छैन।

प्रहरीका अनुसार कतिपय नागरिकहरूले नक्कली पिसिआर रिपोर्ट पेस गरी नेपाल प्रवेश गरेको र उनीहरू नेपालको गेस्ट हाउसमा बस्दा समेत संक्रमण फैलाउन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले भारतीयहरूमाथि निगरानी बढाएको छ। नेपाल आएकामध्ये ६८ भारतीय नागरिकको पिसिआर रिपोर्ट नक्कली भएको भन्दै विमानस्थलले फर्काएको थियो।

अध्यागमन विभागका अनुसार दुई महिनायता भारतीय नागरिकहरूले नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक बाहिरिएका हुन्। ‘दुई महिना भारतीय नागरिकहरू आउने क्रम बढेको छ उनीहरू नेपालको अध्यागमन कानुनअनुसार आएकाले उनीहरूलाई आउन र जान रोक लगाइएको छैन,’ अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भने।

अध्यागमन विभागका अनुसार दुई महिना अगाडिका तुलनामा अहिले धेरै भारतीय नागरिक आइरहेका छन्। भारतीय नागरिकहरूको संख्या बढेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन गृह मन्त्रालयमा छलफल गरेको भए पनि कुनै निर्णय गरेको छैन। ‘गृह मन्त्रालयमा यो विषयमा छलफल भएको छ तर रोक लगाउने विषयमा कोभिड–१९ व्यवस्थापन केन्द्र ९सिसिएमसी० ले निर्णय गर्नुपर्छ,’ मन्त्रालय स्रोतले भन्यो।

कोरोना संक्रमणका कारण ३ फ्रेबुअरीदेखि साउदी अरबले भारतबाट हुने सीधा उडान रोकेको छ । भारतीय नागरिकहरूलाई साउदीलगायत देश जान रोकेपछि उनीहरू पीसीआर रिपोर्ट लिएर नेपाल आउने र १० दिन नेपाल बसेर पुनः पिसिआर रिपोर्ट बनाएर तेस्रो मुलुक जाने गरेका हुन्। काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ कियरमा नक्कली पिसिआर रिपोर्ट बनाएको भन्दै छापा मारेको थियो। त्यही हेल्थ कियर सेन्टरका नाममा जारी भएको पिआर रिपोर्ट लिएर विमानस्थल पुगेका १ सय ७२ जनालाई अध्यागमन विभागले फिर्ता गरेको थियो।

त्यसमध्ये ६८ जना भारतीय नागरिक रहेको स्रोतको दाबी छ । चारजना प्रहरी आफैं सेवाग्राही बनेर पिसिआर रिपोर्ट लिन सिनामंगलस्थित सुरिया हेल्थ कियरमा पुगेका थिए। ९ हजार रुपैयाँ तिरेपछि स्वाब नदिई नेगेटिभ रिपोर्ट दिएपछि प्रहरीले प्रयोगशालाका ६ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। त्यहाँबाट परीक्षण गरिएका चारजनाको स्वाब संकलन गरी पठाएकोमा चारैजनाको कोरोना संक्रमण देखिएको छ। अध्यागमन स्रोतका अनुसार यही अप्रिल महिनामा ६ हजार भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएका थिए।

मार्च महिनाभरिमा ५ हजार १ सय ९२ जना भारतीय नागरिक गएका थिए। संक्रमण बढेको बेला भारतीय नागरिकहरू आएका छन् तर नेपालको अध्यागमन कानुन र स्वास्थ्य मापदण्ड पूरा गरेपछि उनीहरूलाई नेपाल प्रवेशको अनुमति र बाहिरिने अनुमति दिइएको हो, विमानस्थलमा रोक नलगाउँदासम्म यो प्रक्रिया चल्छ,’ अध्यागमन विभागका प्रवक्ता ढकालले भने । उनका अनुसार कोभिडका कारण अहिले समस्या उत्पन्न भएको छ । नागरिक दैनिकबाट

कोरोना संक्रमितः अस्पताललाई थेग्नै गाह्रो

विश्व


नेपालगञ्ज -  बैशाख १३

नेपालगञ्ज, कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ। अस्पतालका स्वास्थ्यकर्मीले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि बेड संख्या, जनशक्ति र स्रोतसाधन थपिदिन पटक–पटक अनुरोध गर्दा पनि सरकारले सुनुवाइ गरेको छैन।

भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएपछि बिरामीलाई अन्य वार्डमा पनि भर्ना गरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। भेरी अस्पतालसँग १ सय ४२ बेड क्षमताको कोभिड वार्डमध्ये ९५ बेड जनरल (कोभिड), ४० आईसियु र ७ वटा भेन्टिलेटर छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश थापा कोरोना संक्रमणले अवस्था झन् भयावह बनेको बताउँछन्। ‘बिरामीको बिजोग छ, अस्पतालसँग भएको बेड पूरै भरिसकेको छ,’ उनले भने ‘कोभिड वार्ड भरिएपछि अन्य वार्डमा भए पनि बिरामीलाई भर्ना गर्नुपरेको छ।’

अस्पतालमा अहिलेसम्म ९८ जना पुरुष र ८३ महिला गरी १ सय ८१ जना संक्रमित भर्ना भइसकेका छन्। यीमध्ये ५७ जना सिकिस्त छन्। भर्ना भएका संक्रमितको उपचार गर्न अहिलेको जनशक्ति निकै कम भएको भेरी अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार अहिले कोभिड वार्डमा ३९ जना नर्स कार्यरत छन्, यीमध्ये एक दर्जनजति नर्स संक्रमित भइसकेका छन्। कोभिड वार्डमा कार्यरत एकजना नर्सले २० देखि २५ जना बिरामीलाई हेर्नुपरिरहेको छ। जनशक्ति थपिदिन सरकारलाई यसअघि नै अनुरोध पठाइसकेको थापाले बताए।

अस्पतालका वरिष्ठ फिजिसियन डा राजन पाण्डे भन्छन्, ‘अहिले भर्ना भएका कोभिडका बिरामी निकै गम्भीर खालका छन्, उनीहरूलाई धेरै केयर गर्नुपर्ने अवस्था छ, तर कोभिडका बिरामी हेर्ने नर्स छैनन्।’ अस्पतालमा रहेका एकजना एनेस्थेसियन चिकित्सकले धानिरहेको पाण्डेले सुनाए। बाँकेमा ११ दिनमा २७ जना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार ९ सय ३ जनामा संक्रमण पुष्टि भएको छ। नागरिक दैनिकबाट

भयावह बन्दै कोरोनाको दोस्रो लहर

विश्व


काठमाडौं - बैशाख १३

काठमाडौं, नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ ।

नेपालमा दोस्रो लहर शुरू भएपछि आइतवार एकैदिन २८ जनाको मृत्यु भएको छ, जुन नेपालमा कोरोना शुरू भएयताकै उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा मृत्यु भएका १६ सहित २८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको जानकारी दिए । आइतवार कुल १० हजार ७८ को पीसीआर परीक्षण गरिएकोमा ३ हजार १२२ नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने हालसम्म कुल ३ लाख एक सय १९ जनामा संक्रमण पुष्टि भएकोमा ९२ प्रतिशत संक्रमित निको भएका छन् ।

तीनतर्फी खुला नाका भएको भारतमा कोरोना संक्रमण भयावह बन्दै गएकोमा बिस्तारै नेपालमा पनि संक्रमणले भयावहको लक्षण देखाउन थालेको हो । गएको १५ हजार ९८६ मा कोरोना पुष्टि भएकोमा ८१ जनाको मृत्यु भएको छ । आर्थिक अभियान दैनिकबाट

पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक

विश्व


दार्चुला - बैशाख १२

दार्चुला, भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए । उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेश जारी गरेको छ । सोही निर्देशिका अनुसार धार्चुला तहशिलले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आवतजावत गर्ने व्यक्तिकोे कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरिइएको हो ।

पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । भारतमा कोरोना दर उच्च रहेका कारण उसले सीमा प्रवेशमा कडाइ गरेको छ । दार्चुलामा पिसिआर परीक्षण गर्ने उपकरण छैन । यस्तो अवस्थामा दैनिक उपभोग्यका लागि भारतीय बजार धार्चुला पुग्ने नेपाली भने आइतबारदेखि मर्कामा परेका छन् ।

कोरोना सङ्क्रमणको दर उच्च भइरहेका बेला भारतले धार्चुला बजारमा मास्कमा यसअघि नै कडाइ गरेको थियो । मास्कविना यसअघि पनि भारतले प्रवेश दिएको थिएन । यस्तै भारतीय क्षेत्रमा दिउँसो २ बजेदेखि बजार तथा यातायात बन्द गराएको छ । धार्चुला बजार क्षेत्रमा छ जनामा कोरोनाको नयाँ भेरियन्ट भेट्टिएपछि दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको हो ।

भारतीय बजारमा प्रशासनले कडाइ गरे पनि दार्चुलामा भने अझै कडाइ गरिएको छैन । भारतले धार्चुलामा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेपछि नेपालमा के गर्ने भन्नेबारेमा बैठक पछि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । उनले भने, “हामी पनि आज बैठक बसेर सुरक्षामापदण्डबारे छलफल गर्छौं ।” रासस

काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

विश्व


काठमाडौं - बैशाख १२

काठमाडौं, प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।

पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ । केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ । शनिबार मात्रै तीन महिनायताकै १४ संक्रमितको मृत्यु भएको छ ।

संक्रमणदर बढ्दै गए भएका संरचना धान्न सक्ने अवस्था नभएको सरकार आफैंले बताइसकेको छ । मुख्यतः भारतमा संक्रमणदर बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो । हाल, भारतमा दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण देखि“दै आएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

कोरोना कहर : गम्भीर बिरामीलाई बचाउनै मुस्किल

विश्व


काठमाडौं - बैशाख १२

काठमाडौं, कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा।समीरकुमार अधिकारीले बताए।

अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभई धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए। उनले शनिबार साँझ नागरिकसँग कुरा गर्दै भने, ‘अस्पताल भर्ना भएर के गर्नु रु कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरूलाई बचाउनै मुस्किल छ।’ अहिले पनि गम्भीर लक्षण देखिएर आइसियु र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए। ‘गम्भीर लक्षण लिएर पुगेकाहरूलाई निको पार्ने कुरा सामान्य छैन,’ उनले भने। 

अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा। प्रवीण नेपालले बताए। ‘१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,’ उनले भने। उनले अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको कारण पुगेका जति सबैले राम्रो उपचार पाउने स्थिति नरहेको बताए। ‘धेरै संक्रमित हुनु भनेको गम्भीर बिरामीको संख्या बढ्नु पनि हो, गम्भीर हुनु भनेको मृत्यु संख्या बढ्नु पनि हो,’ उनले भने।  यो समाचार नागरिक दैनिकमा छ ।

‘हटस्पट’ बाट अझै निर्बाध प्रवेश

विश्व


काठमाडौं - बैशाख १२

काठमाडौं, कोरोना महामारीको ‘हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्न सरकारी प्रयास अझै प्रभावकारी बन्न सकेको छैन । नेपालमा कोरोना संक्रमित दुई जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो ।

पछिल्लो समय दोस्रो लहरको संक्रमण द्रुत गतिमा फैलिइरहे पनि न सीमा सिल गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित छ । वै​शाख १ यता मात्रै भारतबाट नेपाल छिरेका ६ सय ७० जनामा संक्रमण देखिएको छ । नेपाल प्रवेश गरेका धेरैको परीक्षण नै भएको छैन ।

वैशाखयता भारतबाट करिब १ लाख जना नेपाल प्रवेश गरेकामा ५ हजार ९ सय ७१ को एन्टिजेन र पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये करिब १२ प्रतिशतमा संक्रमण देखियो । यो आँकडाअनुसार सीमाबाट प्रवेश नरोके स्थिति नियन्त्रणबाहिर जाने जोखिम छ ।

बिनापरीक्षण प्रवेश गर्दा भारतमा द्रुत गतिमा फैलिएको महामारी नेपालमा पनि सोही वेगमा सर्न सक्ने जनस्वास्थ्यविद् बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ साताअघि नै उपत्यका र तराई–मधेसका गरी १४ जिल्लालाई संक्रमणको उच्च जोखिममा राखेको थियो । तर, त्यसअनुसार सावधानी अपनाइएको छैन । यो समाचार कान्तिपुर दैनिकमा छ ।

हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि, ४० जनाको मृत्यु

विश्व


काठमाडौं - बैशाख १२

काठमाडौं, नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् । शुक्रबार धादिङको नेत्रावती गाउँपालिका–४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो भने १४ जनामध्ये १० जना विद्यार्थी रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख १० गते १८ वर्षमुनिका २२६ जना बालबालिका सङ्क्रमित भएका छन् । यस्तै वैशाख ९ मा १९६, वैशाख ८ मा २४९, वैशाख ७ गते १६७, वैशाख ६ मा ९१, वैशाख ५ मा १००, वैशाख ४ मा ८२, वैशाख ३ मा ७०, वैशाख २ मा ४५, वैशाख १ गते ६४ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सहप्रवक्ता डा. अधिकारीले १८ वर्षमुनिका ४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिए।

पछिल्लो केही दिनयता बालबालिकामा कोरोना सङ्क्रमण दर उच्च रहेको छ । गत महिना चैत २८ मा ३३७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका थिए । यस्तै चैत २७ मा २८८ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३४ जना बालबालिका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरसँगै धेरैजसो बालबालिका सङ्क्रमित हुन पुगेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।