देउबामाथि बढ्यो दबाब, शेखर–गगन समूहले माग्यो टिकट वितरणमा ४० प्रतिशत भाग
News Desk
Sep-25 तारिख 11:04 बिहान

काठमाडौं – ०९ असोज २०७९

काठमाडौं, पछिल्लो समय गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउबामाथि पार्टी र गठबन्धनबाट दबाब तीब्र भएको छ । सिट बाँफाँडमा गठबन्धन दलहरुबीच सहमति हुन नसकेको समयमै आफ्नै पार्टी भित्रैबाट टिकट बाँडफाँडमा भागबण्डाका लागि दबाब श्रृजना भएको छ । काँग्रेसका नेता शेखर कोइराला समूहले शनिबार बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो । सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उदेश्यले शनिवार भेला आयोजना गरेको स्रोतको भनाइ छ । शेखर–गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ ।
देउवाले गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी
कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् । थापागाँउमा आयोजित कांग्रेस संस्थापन इतर समुहको भेलालाई सम्बोधन गर्दै उनले उनले आन्तरिक एकता बलियो भएको अबस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अबस्था नआउने दाबी गरे । उनले को कार्यक्रममा समाुनपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउन सक्ने चेतवानी पनि दिए । समाुनपातिकको सूची एकपक्षीय रहेको भन्दै उनले सच्याउनु पर्ने बताए । उनले भने, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ ।’ उनले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समुहलाई अन्याय गरिएको जिकिर गरे। प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अबस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खवरदारीसभामा आयोजना गरेको बताए । उनले सभापति शेरबहादुर देउवाले महाधिबेशनलगत्तै आफू सिंगो कांग्रेसको सभापति बन्ने प्रण गरेकोमा व्यवहारमा त्यसको विपरित देखिएको तर्क गरे।
गठबन्धनभित्र सघर्ष जारी छ : उपाध्यक्ष हमाल
नेकपा(एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले आफ्नो दलको अस्तित्वका लागि आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनमा आवश्यक सीटका लागि गठबन्धनभित्र सङ्घर्ष गरिरहेको बताएका छन् । नेकपा(एस) काठमाडौँ क्षेत्र नं ४(२)का आयोजनामा शनिबार भएको ‘प्रशिक्षण कार्यक्रम’ मा उनले सङ्घीय निर्वाचनमा गठबन्धनमा हालसम्म बढीमा ११५ सम्मको सीट मिलेको र प्रदेशसभासमेत गरी आइतबारसम्म सबै सहमति हुने विश्वास व्यक्त गरे । संसद्मा झण्डै दुई तिहाइ प्राप्त गरेको नेकपा हाल छिन्नभिन्न भएर आफ्नो अस्तित्वका लागि सङ्घर्षरत रहनुपरेकामा दुःख व्यक्त गर्दै नेता हमालले तत्कालीन नेतृत्वमा आएको गम्भीर वैचारिक भड्कावले सर्वशक्तिवान् बन्ने चाहना सिर्जना भई कम्युनिष्ट आन्दोलनका लक्ष्य, मूल्यमान्यता र आदर्शबाट च्युत हुनुपरेको विचार राखे । संसद् विघटन गरिएकाले बाध्य भएर लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरूले गठबन्धन गर्नुपरेको जनाउँदै उनले भने, नेकपा(एमाले)ले गल्ती सुधारेर गएमा वामपन्थी गठबन्धन अहिले पनि हुन सक्छ, हाम्रो पार्टीको मुख्य कार्यभार अझै पनि वामपन्थीहरूसँग कार्यगत एकता र एकीकरण गर्ने हो, हामी एक्लैले समाजवादी आन्दोलनमा सफल पाउन सक्दैनौँ ।’

‘दक्षिणपन्थी विसर्जनवादविरुद्धको सङ्घर्ष’ विषयमा प्रशिक्षण दिँदै पार्टी स्कुल विभागका प्रमुख हमालले कम्युनिष्ट आन्दोलन, क्रान्तिका उपलब्धि र समाजवादी कार्यदिशालाई नै प्रहार गर्ने दक्षिणपन्थी विरुद्ध निरन्तर सङ्घर्र्ष गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी उपमहासचिव डा विजयकुमार पौडेलले ‘माक्र्सवादी अर्थशास्त्र र नेपालको सामाजिक आर्थिक रुपान्तरण’ विषयमा प्रशिक्षण दिँदै दलाल पुँजीवादविरुद्ध सङ्घर्ष गर्दै कृषि र औद्योगिक क्रान्तिलाई सँगसँगै लिएर जानुपर्ने बताए भने केन्द्रीय सदस्य तथा स्कुल विभाग सचिव अशेष घिमिरेले ‘पुँजीवादको प्रभुत्त्व र समाजवादी सङ्घर्ष’ विषयमा दिनुभएको प्रशिक्षणमा पुँजीवाद र लोकतन्त्र सँगसँगै जान नसक्ने जनाउँदै समाजवादी पार्टीका नेता–कार्यकर्ताले पुँजीवाद(साम्राज्यवाद), वर्गसङ्घर्ष, लोकतन्त्र र सैद्धान्तिक स्पष्टता जस्ता तत्त्वको ज्ञान राख्नुपर्ने सुझाव दिए ।

पार्टी केन्द्रीय सल्लाहकार सदस्य तथा प्रशिक्षण कार्यक्रमका संयोजक विष्णुप्रसाद शर्माले सङ्गठन चलाउन आवश्यक वैचारिक खुराकका लागि कार्यकर्ताहरूको मागबमोजिम कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । नेकपा(एस)काठमाडौँका सचिव धु्रवराज न्यौपाने, नेकपा(एस) केन्द्रीय परिषद् र वाग्मती प्रदेश कमिटीका सदस्य शान्तिराम ढुङ्गाना तथा नेता ठाकुर खकुरेलले वैचारिक राजनीतिक ज्ञानले मात्र कम्युनिष्ट पार्टी चलाउन सकिने बताए । कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र ४ र ५ का गरी ८० नेता–कार्यकर्ताको सहभागिता थियो । यसैबीच गठबन्धनमा सामेल काठमाडौँ निर्वाचन क्षेत्र ४ का नेपाली कांग्रेस, नेकपा(माओवादी) र नेकपा(एस)को वडा(आठ)स्तरीय छलफल आइतबार साँझ हुँदैछ ।

सिट बाँडफाँटको टुंगोे लागेन
मंसिर ४ गते हुने चुनावमा पनि तालमेल गरेर जाने निणर्य गरे पनि सत्ता गठबन्धन दलहरुले अझै सिट बाँडफाँटको टुङ्गो लगाउन सकेका छैनन् । महिनौंदेखि छलफल भइरहे पनि गठबन्धन दल सिट बाँडफाँटमा सहमति जुट्न असफल रहँदै आएका छन् । शुक्रबारको बैठक पनि सहमतिमा पुग्न नसकेपछि शनिबार बसेको बैठक पनि सहमतिमा पुग्न सकेन । झण्डै १०० सिटमा दलहरूको एकल दाबी रहेको र बाँकी सिटमा एकभन्दा धेरै दलको दाबी हुँदा कुरा मिल्न नसकेको नेताहरुको भनाइ छ । प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० वटै चुनावमा गठबन्धन गर्ने उनीहरुको प्रयास छ । गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले बढी सिट लिन खोजेको भन्दै अरु दल असन्तुष्ट छन् भने आफूभन्दा साना दलले हैसियतभन्दा बढी सिट लिन खोजेको भन्दै कांग्रेस पनि असन्तुष्ट छ । गठबन्धनमा दुई महिना अगाडि नै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुङ्गो लागेको छैन ।