सुमो सहकारीले निक्षेपकर्ताको रकम फिर्ता गर्ने अध्यक्ष लामाले गरे प्रतिबद्धता
News Desk
Nov-27 , 2022 तारिख 07:52 बिहान

 

काठमाडौं । सुमो बचत तथा ॠण सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञान बहादुर लामाले निक्षेपकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  अध्यक्ष लामाले देशमा चुलिदो वित्तिय संकट माझ पनि सुमो सहकारी संस्था लिमिटेड घाटामा नरहेको जनाउदै  बचतकर्ताहरुको निक्षेप फिर्ता गर्ने बताएका हुन । सुमो सहकारी संस्था लिमिटेड केही दिन यता बन्द रहेपछि बचतकर्ताहरुमा संस्था डुबेको र संचालक भाग्न सक्ने हल्ला  चलेको थियो । त्यस सम्बन्धमा सहकारीका अध्यक्ष ज्ञान बहादुर लामासँग यस संचार गृहले प्रश्न राखेको थियो ।  त्यसको जवाफ दिदै सुमो सहकारी संस्था लिमिटेड समस्याग्रस्त नरहेको उनले बताए । ‘देशमा चुलिदो वित्तिय संकट माझ पनि सुमो सुमो बचत तथा ॠण सहकारी संस्था लिमिटेड नाफामै छ, घाटामा छैन, कर्मचारी व्यवस्थापन गरेर हामी आउने १५ गतेबाट कारोबार गर्नेगरि कार्यालयलाई नियमित संचालनमा ल्याउने छौँ, सुमो सहकारी घाटामा छैन, निक्षेप फिर्ता गर्छौ गर्छौ’ अध्यक्ष लामाले भने ।  

संस्था राम्रो अवस्थामा छ भन्दैगर्दा त्यसमा विश्वास गर्ने आधार  के छ त ? भन्ने प्रश्नमा उनी भन्छन् ‘ॠण प्रवाह, निक्षेप संकलन, चल अचल सम्पत्ति, मासिक आम्दानीलाई हेर्नुभयो भने हामी स्वस्थ अवस्थामा छौँ, संचालकबाट कुनै किसिमको बदमासी भएको छैन ।  सुमो सहकारी सक्षम वित्तिय संस्था हो  तर देशमा देखिएको वित्तिय संकटले गर्दा बैंकहरुले समेत ॠण प्रवाह गर्न नसकिरहेको अवस्थामा त्यसको असर हामीमा पनि परेको छ ।’ उनले भने ‘हामी निक्षेपकर्ताको पैसा फिर्ता गर्न लागि परेका छौँ, तर एकैपटकमा सबैले पैसा चाहियो भनेर आएपछि त्यसको व्यवस्थापन गर्न कठिनाइ भएको छ । निक्षेपकर्ताहरु आवेशमा आएर अफिस घेर्ने, नाराबाजी गर्दै होहल्ला गर्ने, कोहीले धम्की समेत दिने अवस्था रहेपछि कर्मचारी नै अफिस आउन नमान्ने स्थिती पैदा भएको छ ।  हामीमा समेत डर त्रास बढेको छ । यसले झन निक्षेपकर्ताहरुको लगानी डुब्ने खतरा रहन्छ, त्यसैले तमाम निक्षेपकर्ताहरुलाई धैर्य र सम्यम भई रचनात्मक सहयोग गर्न आग्रह गर्दछु ।’ अध्यक्ष लामाले ९ करोड बराबर ॠण प्रवाह भएको र संस्थाले ४२ वटा सटर भाडामा लगाएको र जिमखाना समेत संचालन गरेकाले सोबाट हुन आउने आम्दानीले निक्षेपकर्ताको करिब ११ करोड सहजै फिर्ता गर्न सकिने बताए । 
‘हामी यो साता भित्रमा कार्यालय संचालनमा ल्याउछौ, तर हामीले निर्धक्कका साथ अफिस खोल्ने वातावरण तयार पार्न म सम्बधित सबैमा अनुरोध गर्दछु’ उनले भने ।  

लामाले ६ महिना देखी १ बर्ष बीचमा समस्या समाधान गर्ने  प्रतिबद्धता समेत व्यक्त गरे ।

धेरै पढिएको