काठमाडौं। तीनदेखि रोकिएको उदयपुर–१ को मतगणना पुनः सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो।
गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो।
नेकपा एमालेसहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो। त्यहाँ अब १६ वटा मत पेटिका गन्न बाकी रहेको छ। आज साँझसम्म गनिसकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उदयपुर १ मा कांग्रेसका उम्मेदवार एवं परराष्ट्रमन्त्री नारायण खड्काले २१ हजार ८ सय ३३ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार मञ्जुकुमारी चौधरीको २० हजार १ सय २० मत रहेको छ।