काठमाडौँ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि थापाथलीस्थित वाग्मती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीयसँगको झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।
स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नर्भिक अस्पतालका सुरक्षा अधिकृत रामकृष्ण बलामीका अनुसार १९ जना घाइतेलाई अहिले उपचारका लागि ल्याइएको छ ।