ललितपुर चेम्बरद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान 
News Desk
Dec-04 , 2022 तारिख 02:20 बेलुका

ललितपुर ।ललितपुर चेम्बर अफ कमर्सले ललितपुर जिल्लाबाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई स्वागत गर्दै बधाई ज्ञापनसहित सम्मान गरेको छ । सो अवसर कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल एवम् कार्यक्रमका सभापति ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुर क्षेत्र नं  २ का प्रतिनिधि सभा सदस्य प्रेम महर्जन, ललितपुर  क्षेत्र नं  ३ का प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की, ललितपुर क्षेत्र नं १ (१) का नवनिर्वाचित प्रदेश सभा सदस्य मधुसुदन पौडेल,  ललितपुर क्षेत्र नं  २ (१) का प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठ, ललितपुर क्षेत्र नं  २ (२) का प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार, ललितपुर क्षेत्र नं ३ (१) का नवनिर्वाचित प्रदेश सभा सदस्य रघुनाथ महर्जनलाई सगुन दिनुहुँदै खादा ओढाएर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्नुभएको हो ।  

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै हाल कायम सरकारी नीति आर्थिक विकासको बाधक रहेको उल्लेख गर्नुहुँदै सुधारको खाँचो औंल्याउनुभयो । उहाँले आर्थिक समृद्धीका निम्ती राजनीतिक दलहरुले आपसी समन्वयका आधारमा काम गर्नुपर्ने बताउनुहुँदै सार्वजनिक निजी साझेदारितालाई प्राथमिकतामा राख्दै अघि बढन सके त्यसबाट देशले लाभ हासिल गर्न सक्ने उल्लेख गर्नुभयो ।  अध्यक्ष मल्लले बैंकको बेस रेट प्रिमियम निकै अधिक रहेको र साना तथा ठुला व्यवसायीलाई विभेद भएको जिकिर गर्नुहुँदै बैंकले गर्दा हाल उद्योग व्यापार ठप्प भएकाले यस समस्यालाई नीति निर्माताले गम्भिरतापुर्वक लिनुपर्नेमा जोड दिनुभयो ।  

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले मुलुकको समग्र विकासका निम्ती आर्थिक विकास पहिलो एजेण्डा बन्नुपर्ने जिकिर पेश गर्नुहुँदै सोका निम्ती राजनीतिक स्थिरता आजको आवश्यकता रहेको औल्याउनु भयो । अध्यक्ष शाक्यले ७७ जिल्ला मध्ये ललितपुरलाई उत्कृष्ट जिल्ला बनाउन जननिर्वाचित प्रतिनिधिले हातेमालो गर्नुको विकल्प नरहेको उल्लेख गर्नुहुँदै हाल देशको आर्थिक स्थिती खस्कदै गईरहेको अवस्था माझ व्यवसाय मैत्री आर्थिक नीति पस्कन सकेमात्रै देशको समृद्धी संभव हुने बताउनु भयो । साथै उहाँले  ललितपुर जिल्ला सांस्कृतिक रुपमा सम्पन रहेकाले यहाँ स्थित मुर्त संस्कृतिको जगेर्ना गर्न होस्टेमा हैसे गर्दै नागरिक र उद्योगी व्यवसायीलाई सँगसँगै लैजान सक्नुपर्नेमा जोड दिनुभयो ।  

ललितपुर क्षेत्र नं  २ का प्रतिनिधि सभा सदस्य प्रेम महर्जनले स्वागत, बधाई तथा सम्मानका निम्ती ललितपुर चेम्बरलाई धन्यवाद ज्ञापन गर्नुहुँदै ललितपुरलाई माथि उठाउन ललितपुरबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु एकै ठाउँमा उभिनुपर्ने उल्लेख गर्नुभयो । साथै, उहाँले जनताले भोगेका समस्या समाधान र नीति निर्माणमा पनि भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यसैगरि, ललितपुर  क्षेत्र नं  ३ का प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले निर्वाचित गराउनु भएकोमा सम्पूर्ण मतदातामा कृतज्ञता व्यक्त गर्नुहुँदै आफुले भुई मान्छे भएर स्वास्थ्य, शिक्षा, रोजगारी, सडक, खानेपानी लगायतका बिषयलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गर्नुभयो । साथै, उहाँले         नागरिक सचेत हुनु भनेको देश सबल हुनु हो भन्नुहुँदै नागरिकहरुलाई जागरुक रहदै जनप्रतिनिधिलाई खबरदारी गर्न आग्रह समेत गर्नुभयो ।  

सो अवसरमा ललितपुर क्षेत्र नं  २ २ का प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले राजनीतिक स्थिरताको अभावका कारण आर्थिक एजेण्डा सधैं ओझेलमा पर्दै आएको उल्लेख गर्नुहुँदै जनता र राष्ट्रहितका निम्ती आफुले आफ्नो तर्फबाट सक्दो प्रयास जारी राख्ने बताउनुभयो ।  

त्यसैगरि,ललितपुर क्षेत्र नं  २ १ का प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले राजनीतिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रता एक आपसका परिपुरक रहेकाले दुवै बिषयलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुहुँदै आफुले उद्यमशिलता विकास र रोजगारी सिर्जना जस्ता बिषयलाई प्राथमिकता दिने बताउनुभयो ।  
ललितपुर ३ ख का सांसद प्रेमभक्त महर्जनले देशलाई समृद्ध बनाउन आर्थिक गतिविधिमुलक कार्यक्रमहरुलाई बढवा दिदै जानुपर्ने धारणा व्यक्त गर्नुहुँदै आफुले काष्ठकला लगायतका हस्तकलाजन्य व्यवसाय, पर्यटन, कृषि, रोजगारी जस्ता बिषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।  

सो अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्नुहुँदै ललितपुरले बृहद क्षेत्र समेटेको र यसको विकासका निम्ती आपसी सहकार्यको लागि संघ एवम् प्रदेश सभाहरुसँग हातेमालो गर्दै अघि  बढने बताउनुभयो ।  

कार्यक्रममा ललितपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष हरिहर अधिकारीले उपस्थितीका लागि सबैमा धन्यवाद ज्ञापन गर्नुहुँदै ललितपुर चेम्बर तीनै तहका जनप्रतिनिधि एवम् सरकारसँग समन्वय र सहकार्य गर्न सदैव तत्पर रहने उल्लेख गर्नुभयो ।  

मुक्तिनाथ विकास बैंकको सहयोग तथा ललितपुर महिला चेम्बर एवम् ललितपुर युथ चेम्बरको सहकार्य माझ आयोजित उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाकी उप प्रमुख मंजली शाक्य, स्थानिय जनप्रतिनिधि, ललितपुर चेम्बरका पदाधिकारी एवम् कार्यसमिति सदस्य आदीको उपस्थिती रहेको थियो ।

धेरै पढिएको