नेपथ्य लाइभ कन्सर्टलाई मध्यनजर गर्दै वीरगञ्जको सुरक्षा व्यवस्था कडा
News Desk
Dec-04 , 2022 तारिख 01:23 बेलुका

 


वीरगञ्ज – वीरगञ्जको आदर्शनगर रंगशालामा सोमबार हुन लागेको नेपथ्य लाइभ कन्सर्टलाई मध्यनजर गर्दै वीरगञ्जको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


कन्सर्टलाई सभ्य र भव्य रुपमा सम्पन्न गराउन ५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

मानवसेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रम (नेपथ्य लाइभ कन्सर्ट)को पूर्व सन्ध्यामा मानव सेवा आश्रम छोटी भन्सारमा नेपथ्य परिवारसँग आयोजित चियापान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले यस्तो जानकारी दिएका हुन् ।

सुरक्षा व्यवस्था दुरुस्त हुने भएकाले कार्यक्रममा सहभागि भएर मानवताका लागि योगदान दिन पनि उनले सबैलाई आग्रह गरे ।

कन्सर्टको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिँदै नेपथ्य व्याण्डका प्रमुख एवं चर्चित गायक अमृत गुरुङले मानवताकै लागि आफू १८ वर्षपछि वीरगञ्ज आउन तयार भएको बताए । नेपथ्यको कन्सर्ट १८ वर्षपछि वीरगञ्जमा हुन लागेको हो ।
सांगितिक मनोरञ्जनसँगै मानव सेवा आश्रमको भवन निर्माण गर्ने मानवीय कार्यमा सबैको साथ आवश्यक रहेको पनि उनले बताए ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मानव सेवा आश्रमलाई व्यवस्थित बनाउँदै लैजान महानगरले आवश्यक सहयोग गरिरहेको र आउँदा दिनमा पनि गर्नु पर्ने सहयोग गर्न सँधै तयार रहेको बताए । उनले वीरगञ्ज शान्त र सुरक्षित रहेकाले सोमबार हुने कार्यक्रममा ढुक्क भएर आउन पनि सबैलाई आग्रह गरे ।

पूर्वसन्ध्यामा आयोजित भेटघाट कार्यक्रमकाबीच मानव सेवा आश्रम निर्माणका लागि वीरगञ्जका मनकारीहरुले लाखौँ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

भवन निर्माणका लागि मधेस प्रदेश सरकारले १ करोड, वीरगञ्ज महानगरपालिकाले २५ लाख, जिराभवानी गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १५ मा महानगरले नै आश्रमलाई जग्गा समेत उपलब्ध गराईसकेको छ ।

विभिन्न व्यक्ति तथा तथा संस्थाले पनि मानव सेवा आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता कार्यक्रमकाबीच जनाएका छन् । डा.दिपक शाक्य, उद्योगी अशोक लाठ, मुरली रुंगटा, नन्दादेवी कलवारले ५/५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अन्य दानवीरहरु पनि यस अभियानमा जोडिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा आश्रमको आफ्नै भवन निर्माणका लागि १५ करोड लाग्ने अनुमान गरिएको छ ।

‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ मानव सेवा आश्रमले मेचीदेखि महाकालीसम्मका १० ठूला शहरमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको हो । १६ गते बिराटनगरबाट शुरु भएको सङ्गीत यात्रा पुष १६ गते अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाण्डौस्थित भृकुटीमण्डपमा पुगेर समापन हुने छ ।

वीरगञ्जको आदर्शनगर रंगशालामा सोमबार साँझ ४ बजेदेखि शुरु हुने कन्सर्टमा कम्तिमा ५ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकले लिएको छ ।

महानगरका मेयर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपथ्य परिवार, पर्साका सुरक्षा प्रमुखहरु, उपमेयर इम्तियाज आलम, यहाँका उद्योगी व्यवसायी, समाजसेवी, विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।