वीरगञ्जमा २२ औँ सशस्त्र प्रहरी दिवस मनाइयो
News Desk
Jan-22 , 2023 तारिख 12:31 बेलुका

 


वीरगञ्ज - वीरगञ्जमा २२ औँ सशस्त्र प्रहरी दिवस मनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले रक्तदान कार्यक्रमको आयोजना गरेर सशस्त्र प्रहरी दिवस मनाएको हो । 

गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिलासहित १ सय १ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतसहित सशस्त्र प्रहरी निरीक्षक सन्दिप थापा, तिर्थराज न्यौपाने, हरेराम सर्राफ, इनरपरी सर्राफ, बबिता पासवान, रमिता चौधरी लगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटीका राजन श्रीवास्तवले जानकारी दिए । 

सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सशस्त्र प्रहरीले शान्ति सुरक्षा, सीमा सुरक्षासँगै सामाजिक कार्यमा पनि सक्रिय भएको बताए । सबै निकायले आफ्नो जिम्मेवारीसँगै समाजप्रतिको उत्तरदायित्व पनि निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । 

 


देशैभर सशस्त्र प्रहरी दिवस मनाउने क्रममा पर्सा जिल्लामा पनि सामाजिक कार्य गर्ने सोचका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको निमित्त गणपति बस्नेतले बताए । सशस्त्र प्रहरीले सीमा सुरक्षा मात्रै नभएर सामाजिक काम पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको बस्नेतेको भनाई छ । उनले भने, ‘रक्तदान जस्तो पुण्य अनि मानवीय काम अरु हुन सक्तैन, हामीले गरेको रगत दानले कोही कसैको ज्यान बच्छ ।’ 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, नेता अर्विन्द सिंह, वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी, सामाजिक अभियानता प्रकाश थारु, युुवा अभियानता कमल चौगाई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीसँगै अलाईड युथ सोसाइटीका सदस्यहरुले प्राविधिक सहयोग गरेका थिए । सशस्त्र प्रहरी दिवस सशस्त्र प्रहरीसँग मनाउन पाउँदा अलाईड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झाले खुशी व्यक्त गरेका छन् ।