बलात्कारका अपराधीलाई कठघरामा ल्याउन कडा कदम चालिएको छ : गृहमन्त्री थापा
News Desk
Sep-30 , 2020 तारिख 07:58 बेलुका

काठमाडौँ  — आश्विन १४, २०७७। 

बझाङकी सम्झना कामीलगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन सरकारले कडा कदम चालेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

सम्झनाको असोज ७ गते बलात्कारपछि हत्या भएको थियो । हत्यामा संलग्न राजेन्द्र बोहोरालाई पक्राउ गरिएको मन्त्री थापाले बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई जानकारी दिए ।

‘बझाङको घटना होस् कि सिरहा तथा काठमाडौंको, दोषीहरूलाई कानुनको कठघरामा ल्याउन कडा कदम चालिएको छ,’ थापाले बैठकमा भने । बलात्कार र हत्याका घटना न्यूनीकरणका लागि राज्यले कानुन र नियम निर्माण गरे पनि प्रभावकारी हुन नसकेको थापाले बताए । ‘राज्यका तर्फबाट हामीले यस किसिमका घटना रोकथाम र नियन्त्रणका लागि कानुन र नियम बनाएका छौं । यसका साथसाथै जनतामा जागरण ल्याउने अभियान पनि गर्दै आएका छौं । यस्तो हुँदाहुँदै पनि घटना रोक्न सकेका छैनौं,’ उनले भने ।

सप्तरीमा पनि परिवार र पञ्चायतले बलात्कारको घटनाबारे बालिकालाई उजुरी गर्न नदिएपछि उनले आत्महत्या गरेको गृहमन्त्रीले बताए ।

‘झन्डै ६–७ जना प्रत्येक दिन देशमा हाम्रा दिदी–बहिनी, छोरीहरू बलात्कृत भइरहेका छन् । यसलाई रोक्न निष्ठापूर्वक प्रयत्न गरिरहेका छौं । कानुनमा अझ कडाइ गर्नुपर्ने हो कि भन्ने भइरहेको छ । हामीले बनाएका कानुन पर्याप्त छैनन् कि भन्ने प्रश्न उठेको छ,’ उनले भने । पछिल्लो समय यस्ता मुद्दामा मेलमिलाप गराउनेलाई पनि कानुनी कारबाही गर्नुपर्ने कुरा उठेको जनाउँदै गृहमन्त्री थापाले उनीहरूविरुद्ध पनि कारबाही चलाइने बताए ।

बैठकमा प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले पनि पछिल्लो समय बालिकामाथि यौन–दुर्व्यवहारका घटना बढेको बताए । सम्झनाको बलात्कार तथा हत्याका आरोपी राजेन्द्र बोहोराले अपराध स्वीकार गरेको संसदीय समितिलाई उनले जानकारी दिए । ‘सम्झना कामीको घटनामा प्रहरीले पक्राउ गरेका व्यक्तिले अपराध स्विकारेको अवस्था छ,’ थापाले भने, ‘यसअघिको घटना मिलाउने व्यक्तिहरूविरुद्ध पनि मुद्दा चलाइने भएको छ । अघिल्लो घटनामा प्रहरीलाई उजुरी दिएको भए सम्झना कामीमाथि यो घटना हुने थिएन । उक्त व्यक्ति अहिले पुर्पक्षका लागि थुनामा हुने थियो ।’

बलात्कारका घटनामा अधिकांश नजिकका व्यक्ति संलग्न हुने भएकाले रोक्न गाह्रो भएको महानिरीक्षक थापाले बताए । यद्यपि यस्ता घटनामा प्रहरीले अनुसन्धान गरेको र ८० प्रतिशत अपराधी पक्राउ गरिएको उनको भनाइ छ । प्रदेश २ र प्रदेश ५ का सीमावर्ती जिल्लामा हुने घटनाका अपराधी भने भारततिर भाग्ने गरेकाले पक्राउ गर्न नसकिएको थापाले बताए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको