आईपीएलको सट्टाबाजीमा संलग्‍न विराटनगरका ३ जना पक्राउ
News Desk
Sep-30 , 2020 तारिख 08:44 बेलुका

काठमाडौँ  — आश्विन १४, २०७७। 

इन्डियन प्रिमयर लिग (आईपीएल) को अनलाइन बेटिङ (सट्टाबाजी) मा संलग्‍न तीन जनालाई मोरंग प्रहरीले पक्राउ गरेको छ ।

मोरंग प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार पक्राउ पर्नेहरुमा विराटनगर-१५ का ३८ वर्षीय सत्यजीत भन्ने मुन्ना साह, वैजनाथ साह र विराटनगर-१७ का ४२ वर्षीय जगदिश साह छन् । उनीहरुबाट नगद एवं सम्बन्धित कागजात समेत बरामद भएको उनले बताए ।

मोरंगका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले आईपीएल सुरु भएदेखि यस्ता गतिविधिमा निगरानी राखिरहेको बताए ।

सुराकी परिचालन गरेर सूचना संकलन गरी पक्राउ गरिएको उनले बताए । डीएसपी राईले यस सम्बन्धि विस्तृत विवरण सार्वजनिक गर्न लागिएको बताए ।

दुबईमा १९ सेप्टेम्बरदेखि सुरु भएको आईपीएलको १३ औं संस्करणमा ८ टिम सहभागी छन् । अन्तिम खेल १० नोभेम्बरमा हुनेछ ।

जितेको रकम नपाएको भन्दै गत वर्ष मोरंग प्रहरीमा एक भारतीयले विराटनगरका एक सट्टेबाज विरुद्ध सूचना दिएका थिए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको