News Desk
काठमाडौं, साउन ९ । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरणसँग सम्बन्धित विषयमा विगत केही समयदेखि सञ्चारमाध्यममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै प्रेस सम्मेलनमार्फत आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेकी छन्।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि आफूले सामाजिक, आर्थिक, राजनीतिक र अन्तर्राष्ट्रिय सन्दर्भमा गहन अध्ययन र चिन्तन गरिरहेकी बताउँदै पार्टीमा सक्रिय राजनीतिमा फर्किने निर्णय आफूले गम्भीर ढङ्गले गरेको स्पष्ट पारिन्।
उनले असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा नेकपा (एमाले) को सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको उल्लेख गर्दै यसबारे सञ्चार माध्यममा आएको भ्रम चिर्नुपर्ने आवश्यकता रहेको बताइन्। “सञ्चारमाध्यम, पार्टी कार्यकर्ता र सर्वसाधारणबाट उठेको चासोप्रति जवाफ दिनु मेरो दायित्व हो,” उनले भनिन्।
भण्डारीले पार्टीको केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपूर्ण वातावरणमा भएको भेटघाटमा पनि सदस्यता नवीकरण र पार्टीभित्रको भूमिकाबारे स्पष्ट कुरा भएको जनाइन्। तर, त्यसको भोलिपल्ट केन्द्रीय कमिटीबाट आफ्नो सदस्यता नवीकरण नभएको घोषणा गरिएको विषयले आफूलाई आश्चर्यचकित तुल्याएको उल्लेख गरिन्। “मेरो सदस्यता विधिपूर्वक नवीकरण भइसकेको थियो, यसलाई विवादमा पार्नु उपयुक्त होइन,” उनले जोड दिइन्।
पूर्वराष्ट्रपतिले आफू कुनै पदको लालसा वा महत्वाकांक्षाबाट होइन, विचार र प्रतिबद्धताको नाताले पार्टीमा फर्किएको बताउँदै भनिन्, “मैले राष्ट्रकै सर्वोच्च पद सम्हालेको व्यक्तिका रूपमा आफ्नो बाँकी जीवन राजनीतिमार्फत देश र जनताको सेवामा समर्पित गर्ने संकल्प लिएको छु।”
संविधानले प्रत्याभूत गरेको राजनीतिक दलमा आबद्ध हुने मौलिक हकप्रति सम्मान जनाउँदै उनले भनिन्, “मलाई पार्टी सदस्य हुन नदिने कुनै संवैधानिक वा वैधानिक कारण छैन। जनताको बहुदलीय जनवादले आत्मसात गरेको लोकतान्त्रिक मूल्य र प्रक्रिया विपरित मेरो सदस्यता अस्वीकार गरिनु दुःखद हो।”
भण्डारीले आफ्नो राजनीतिक जीवनको ४५ वर्ष पार्टीमै विताएको उल्लेख गर्दै पार्टी निर्माणका लागि हजारौं कार्यकर्ताले दिएको योगदानको सम्मान गर्दै निर्णयहरू गहिरो छलफलपछि मात्र गर्न आग्रह गरिन्। “पार्टी निर्माणसम्बन्धी जबजको मर्मअनुसार विवेकसम्मत निर्णय लिन जरुरी छ,” उनले भनिन्।
उनले जननेता मदन भण्डारीको विचार, सिद्धान्त र नेपाली माटोमा विकसित जनताको बहुदलीय जनवादप्रतिको आस्थालाई अझ बलियो बनाउँदै पार्टीलाई सांगठनिक र वैचारिक दृष्टिले सशक्त बनाउने अभियानमा सबै कार्यकर्तालाई एकजुट हुन आह्वान गरिन्।
–राज्य दैनिक