चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना ठमेलबाट पक्राउ
News Desk
Aug-02 , 2025 तारिख 12:25 बेलुका

काठमाडौं | गुन्डा नाइकेका रूपमा चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलन हिजो राति ठमेलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा प्रहरीको छापामा परेका छन्। पार्टीको क्रममा प्रहरीले अपरेशन चलाएर उनीसहित ४७ जनालाई नियन्त्रणमा लिएको हो। लामो समयदेखि गुण्डागर्दी, असुली र आपराधिक गतिविधिमा संलग्न मानिने चक्रे मिलन प्रहरीको निगरानीमै थिए। ठमेल, चक्रपथ र बसपार्क क्षेत्रमा उनको प्रभाव कायम रहेको बताइन्छ।

यसअघि चक्रे मिलनका केही सहयोगीहरू हतियार प्रदर्शनको अभियोगमा पक्राउ परिसकेका थिए। विशेष गरी उनका सहयोगी गणेशबहादुर बोगटीले एके–४७ जस्तो हतियार देखाएर सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेपछि उनी प्रहरी फन्दामा परेका थिए। त्यसयता चक्रे मिलनको समूहमाथि प्रहरीले निगरानी थप कडा बनाएको थियो।

प्रहरीको पछिल्लो अपरेशनमा जन्मदिनको बहानामा जमघट भइरहेको सूचना पाएपछि ठमेल क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको थियो। सोही क्रममा चक्रे मिलनसहित दर्जनौं व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरी हाल उनीहरूको आपराधिक संलग्नता र गतिविधिबारे थप अनुसन्धान गरिरहेको बताइएको छ। संगठनमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी तथा निगरानी जारी छ।

धेरै पढिएको