संघीय संसद्को दुवै सदन आज बस्दै, महत्त्वपूर्ण विधेयक छलफलको तयारी
News Desk
Aug-22 , 2025 तारिख 11:54 बिहान

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज (शुक्रबार) बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु हुने छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने मुख्य कार्यसूची रहेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र पारित गराउने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ।

त्यस्तै, गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ। बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकसम्बन्धी प्रतिवेदन, २०८२’ प्रस्तुत गर्नेछन्।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव ल्याउने कार्यसूची छ। त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन्। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।

राष्ट्रिय सभाको बैठकमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफल र पारित गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।

 

धेरै पढिएको