राष्ट्रपति पौडेल र जापानका सम्राटबीच इम्पेरियल प्यालेसमा शीष्टाचार भेट
News Desk
Feb-03 तारिख 06:38 बेलुका

जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितो बीच आज यहाँ शीष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितो बीच इम्पेरियल प्यालेस टोकियोमा शीष्टाचार भेटवार्ता भएको हो । 

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुग्नुभएको हो । सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो । 

सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । 

“जापानले नेपाललाई मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नालगायतका क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वीत भएका छन्”, जापानका सम्राट नारुहितोसँग भएको कुराकानीमा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । 
उहाँले दुबै देश गौतम बुद्धको शिक्षा र आर्दशबाट प्रेरित रहेको पनि बताउनुभयो । “बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  

दुबै देशबीच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापनायता अझ निकट र गहिरो मित्रताको साथ अघि बढेको राष्ट्रपति पौडेलको भनाई थियो । “यस वर्ष हामीले मनाउँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव हामी बीच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । 

उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुबै देशबीचको सम्बन्धलाई थप मजबुत बताएको बताउँदै राष्ट्रपति पौडेलले सन् १९८७ मा  राजकुमारका रुपमा सम्राट नारुहितोले गर्नुभएको मैत्रीपूर्ण तथा विशिष्ठ भ्रमणका क्रममा काठमाडौ, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमणको स्मरण गर्नुभयो ।  साथै, उहाँले सन् २०२० मा आफूलाई ग्राण्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सन  (न्चबलम ऋयचमयल या तजभ इचमभच या तजभ च्ष्कष्लन क्गल) बाट विभुषित गरेकोमा सम्राट र जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि आभार प्रकट गर्दै सम्राट र साम्राज्ञीलाई अनुकुल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । 

सो अवसरमा जापानका सम्राट नारुहितोले नेपाल जापान कूटनीतिक सम्बन्धको वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताउँनुभयो । सो अवसरमा उहाँले सन् १९८६ मा आफूले गरेको नेपाल भ्रमणको याद आफूलाई अझै ताजै रहेको उल्लेख गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो । 

सम्राट नारुहितोले पोखरामा सराङ्कोट पदयात्रा गर्दा त्यहाँ महिलाहरूले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा प्राप्त भएको सन्दर्भ उल्लेख गर्नुभयो । 
उहाँले नेपाललाई जापानले सकेसम्म सहयोग गर्ने बताउँदै प्राकृतिक विपद्हरुमा दुवै देशले एक अर्कालाई सहयोग गर्दै आएको स्मरण गर्नुभयो । 

सम्राट नारुहितोले नेपाल जापान सम्बन्ध विकासमा राष्ट्रपति पौडेलले पु¥याउनुभएको योगदानलाई सम्झेर जापानले सम्मान गरेको बताउनुभएको थियो । 

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुग्नुभएको हो । 
उहाँले यसअघि सोमबार नै जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले उहाँसँग शीष्टाचार भेट गर्नुभएको थियो । 
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन गर्नुभयो । साथै, उहाँले यहास्थित नेपाली राजदूतावासको अवलोकन पनि गर्नुभयो । 
आजै उहाँले जापानका प्रधानमन्त्रीसँग शीष्टाचार भेट गर्नुहुनेछ । जापानको चार दिने भ्रमण सकेर राष्ट्रपति पौडेल बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

धेरै पढिएको