News Desk
गण्डकी । हाइकर्स क्लब नेपालले पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको हाइकिङ कार्यक्रमको ६७औँ शृङ्खला फेवाताल किनारको पदमार्ग ‘राउण्ड फेवा, भ्युफेवा’ क्षेत्रमा सरसफाइ कार्यक्रमसहित सम्पन्न भएको छ।
विगत सात वर्षदेखि प्रत्येक महिनाको तेस्रो शनिबार नियमित रूपमा आयोजना हुँदै आएको यस हाइकिङ शृङ्खलाअन्तर्गत फेवाताल किनारस्थित रानिवन क्षेत्रको पदमार्गमा सरसफाइसमेत गरिएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो।
उहाँका अनुसार हाइकिङमार्फत प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नुका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि निरन्तर रूपमा सञ्चालन गरिँदै आइएको छ। सोही क्रममा पदमार्ग क्षेत्रमा छरिएको प्लास्टिकजन्य फोहर संकलन गरी चार बोरा फोहर व्यवस्थापन गरिएको थियो।
हाइकर्स क्लब नेपालले आयोजना गर्ने मासिक हाइकिङ कार्यक्रममा पोखराका विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरूको सक्रिय सहभागिता रहने गरेको छ। क्लबले यस्तो कार्यक्रमले स्वास्थ्य प्रवर्द्धनसँगै वातावरण संरक्षण र गन्तव्य प्रचारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ।