भदौ २३ र २४ का घटनाको जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप
News Desk
Feb-10 तारिख 06:32 बिहान

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको म्याद फेरि थपिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यअवधि २५ दिन विस्तार गर्ने निर्णय गरेको हो।

अन्तिम प्रतिवेदन तयार हुन नसकेपछि आयोगले सरकारसँग औपचारिक रूपमा म्याद थपको आग्रह गरेको थियो। सोही अनुरोधअनुसार मन्त्रिपरिषद्ले समयसीमा बढाउने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

यसअघि पनि आयोगको म्याद पटक पटक थपिँदै आएको छ। प्रारम्भमा तोकिएको समयभित्र छानबिन कार्य पूरा हुन नसकेपछि सरकारले आयोगलाई निरन्तर थप समय उपलब्ध गराउँदै आएको हो।

आयोगले घटनासँग सम्बन्धित व्यक्तिहरूका बयान संकलन, प्रमाण जुटाउने र सुरक्षा निकाय तथा सरोकारवालासँग छलफल गर्ने काम अझै जारी रहेको जनाएको छ। घटनाका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको यथार्थ विवरण तयार पार्न थप समय आवश्यक परेको आयोगको भनाइ छ।

भदौ २३ र २४ गते भएका आन्दोलन तथा त्यसपछिका झडपका विषयमा निष्पक्ष छानबिन गरी जिम्मेवारी तोक्ने र आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्ने उद्देश्यले आयोग गठन गरिएको थियो। सरकारले तोकिएको नयाँ समयभित्र प्रतिवेदन बुझाउने अपेक्षा गरेको जनाएको छ।