धादिङ बस दुर्घटनाबारे छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
News Desk
Mar-14 तारिख 06:39 बिहान

काठमाडौं । धादिङमा भएको बस दुर्घटनासम्बन्धी छानबिन प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष पेश गरिएको छ।

गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारतर्फ खसेर दुर्घटना भएपछि सरकारले सो घटनाको अध्ययन तथा छानबिनका लागि कार्यदल गठन गरेको थियो।

घटनाको सत्यतथ्य पत्ता लगाई सडक यातायातलाई सुरक्षित, विश्वसनीय र व्यवस्थित बनाउने उद्देश्यसहित गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले करिब दुई हप्तासम्म अध्ययन तथा अनुसन्धान गरेपछि आज गृहमन्त्री अर्याललाई प्रतिवेदन बुझाएको हो।

कार्यदलमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बलका एसएसपी भरत खनियाँ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सचिव किरणकुमार खड्का, सडक विभागका सिडिई राकेश महर्जन, यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादव र गृह मन्त्रालयका उपसचिव ब्रतराज पौडेल सदस्यसचिवको रूपमा रहेका थिए।

कार्यदलले दुर्घटनाको कारण, सम्भावित कमजोरी तथा जिम्मेवारीका पक्षहरूबारे अध्ययन गर्दै ज्यान गुमाएका यात्रुका परिवारलाई प्रदान गर्न सकिने राहत तथा आगामी दिनमा यस्ता दुर्घटना रोक्न आवश्यक उपायबारे सरकारलाई सुझाव दिएको छ।

प्रतिवेदनअनुसार चालकले कुनै कारणवश सवारीसाधनमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा बस अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको निष्कर्ष निकालिएको छ। चालकको थकान, रात्रिकालीन सवारी सञ्चालन तथा सम्भावित ध्यान विचलनलाई दुर्घटनाका प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ।

यसैगरी कार्यदलले सार्वजनिक सवारी चालकको थकान व्यवस्थापन प्रणाली तत्काल लागू गर्नुपर्ने, राति सञ्चालन हुने बसका चालकका लागि अधिकतम कार्य समय निर्धारण गरी अनिवार्य विश्रामको व्यवस्था गर्नुपर्ने तथा सार्वजनिक सवारीसाधनमा डिजिटल निगरानी प्रविधि अनिवार्य रूपमा लागू गर्नुपर्ने सुझाव दिएको छ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले कार्यदलका सुझावलाई शीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए।

धेरै पढिएको