इनिसा विक हत्या प्रकरणः अनुसन्धान अन्तिम चरणमा, पोलिग्राफ परीक्षण जारी
News Desk
Mar-14 तारिख 06:59 बिहान

सुर्खेत । सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान अहिले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका अभियुक्तहरूको म्याद थप गरी उनीहरूको बयानलाई पोलिग्राफ परीक्षणमार्फत जाँच्ने काम भइरहेको छ।

घटनाको थप अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि शुक्रबार सुर्खेत पुगेको छ। यसअघि नेपालगञ्जबाट आएको पोलिग्राफ विशेषज्ञ टोलीले बिहीबारदेखि नै घटनासम्बन्धी अध्ययन र परीक्षण सुरु गरिसकेको छ।

पक्राउ परेका मुख्य आरोपीले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा इनिसासँग शारीरिक सम्बन्ध राख्ने क्रममा उनको मृत्यु भएको स्वीकार गरेको बताइएको छ। घटनाको निष्पक्ष र गहिरो छानबिनका लागि प्रहरीद्वारा विभिन्न प्रविधि प्रयोग गरिँदै आएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी बिटिएस, बीएलआर परीक्षणका साथै अभियुक्तहरूलाई अलग–अलग राखेर सोधपुछ र अनुसन्धान भइरहेको छ। यस विषयमा प्रहरीले पीडित परिवारलाई पनि जानकारी गराएको छ।

त्यसैगरी घटनाको समयमा भएका मोबाइल फोन संवादहरूको रेकर्डको पनि विश्लेषण गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा एउटा अपरिचित नम्बरबाट सबै अभियुक्तसँग सम्पर्क भएको देखिएको पीडित परिवारले जानकारी दिएको छ।

गत फागुन २३ गते वीरेन्द्रनगरस्थित जनजागृति सामुदायिक वन क्षेत्रमा इनिसामाथि बलात्कार भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। घटनासम्बन्धी प्रमाणहरू संकलन गरी सुर्खेत प्रहरी र सीआईबीको संयुक्त टोलीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

धेरै पढिएको