`रास्वपा नेतृत्वको सरकारले एनआरएनए मन्त्रालय बनाउनु पर्छ´ : पूर्व अध्यक्ष थापा
News Desk
Mar-14 तारिख 04:56 बेलुका

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीहरूको बढ्दो संख्या र उनीहरूका समस्यालाई सम्बोधन गर्न छुट्टै 'एनआरएनए मन्त्रालय' गठन गर्नुपर्ने माग गरेकी छन्।

एनआरएनएको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष थापाले अब गठन हुने रास्वपाको नयाँ सरकारसँग गैरआवासीय नेपालीहरूको मामिला हेर्ने छुट्टै मन्त्रालयको आवश्यकता औंल्याएकी हुन्।

"परराष्ट्र मन्त्रालय भनेको विदेशीहरूको कूटनीति गर्ने मन्त्रालय हो। गैरआवासीय नेपालीहरूलाई समन्वय गर्न र नेपाल आउँदा सानोतिनो कामको लागि पनि झन्झटिलो अवस्था छ," उनले भनिन्, "विमानस्थलको भिड हेर्दा विदेशिने नेपालीको संख्या अझै बढ्ने देखिन्छ। त्यसैले अबको सरकारले एनआरएनए मन्त्रालय छुट्टै राख्नुपर्छ भन्ने मेरो जोडदार माग छ।"

सम्बोधनका क्रममा थापाले विदेशमा बस्ने नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याएर देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिइन्। नेपालमा अवसर नपाएर बिदेसिन बाध्य युवाहरूले विदेशमा सिकेको सीप र गरेको मेहनत पनि नेपालकै लागि ठूलो योगदान भएको उनको भनाइ छ।

"हामी विदेशमा भए पनि बिहान उठ्नेबित्तिकै पहिला नेपालकै समाचार हेर्छौं, यो हाम्रो नेपालीपन हो र हामी नेपाललाई सधैं माया गर्छौं," उनले भनिन्।

नेपालमा जलविद्युत, कृषि र पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै उनले जलविद्युत उत्पादन मात्र नभई निर्यात गरेर देशलाई धनी बनाउन सकिने बताइन्। एनआरएनएले अहिले पनि नेपालका होटल र जलविद्युत क्षेत्रमा लगानी गरिरहेको र उपयुक्त वातावरण बने अझै धेरै लगानी भित्र्याउन सकिने उनले स्पष्ट पारिन्।

त्यसैगरी, एनआरएनएभित्र देखिएका आन्तरिक विवाद र असहमतिप्रति लक्षित गर्दै पूर्वअध्यक्ष थापाले संस्थाको मूल उद्देश्य नै सहमति र एकता रहेको स्मरण गराइन्।

"संस्थामा थुप्रै साथीहरू छुट्नुभएको महसुस भएको छ। हामी जहाँ गए पनि सहमतिमा जानु नै संस्थाको मूल उद्देश्य हो," उनले भनिन्, "अब फेरि पनि ती छुटेका साथीहरूलाई जोड्ने कोसिस गर्नुपर्छ। गैरआवासीय नेपालीहरू एक नभएसम्म देशमा समृद्धि ल्याउन गाह्रो हुन्छ।"

धेरै पढिएको