News Desk
प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने तयारीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेता चयन प्रक्रियामा प्रवेश गर्ने तयारीमा जुटेको छ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको जनाएको छ।
रास्वपाका नवनिर्वाचित सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ। अब निर्वाचन आयोगबाट औपचारिक रूपमा परिणाम बुझाइएपछि पार्टीले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने रास्वपाका केन्द्रीय सदस्य तथा सांसद प्रकाशचन्द्र परियारले जानकारी दिनुभएको छ।
पार्टी विधानको धारा ६६ अनुसार संसदीय दलको नेता चयनको व्यवस्था गरिएको छ, जसमा साधारण सदस्यहरूलाई समेत मताधिकार दिने प्रावधान रहेको छ। तर, उक्त व्यवस्था व्यवहारिक रूपमा जटिल देखिएकाले यसमा संशोधन गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ।
निर्वाचनअघि रास्वपा र काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह समूहबीच भएको सहमतिअनुसार पार्टी सभापति रवि लामिछाने रहने र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने तय भएको थियो। सोही सहमतिअनुसार शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको बताइएको छ।
निर्वाचन आयोगले प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार सरकार गठन प्रक्रिया सुरु हुने बाटो खुल्नेछ। प्रतिनिधिसभामा कुल २७५ सिटमध्ये रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ।
समानुपातिक प्रणालीअन्तर्गत रास्वपाले ५७ सिट जितेको छ भने नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेकपा (माओवादी केन्द्र) ले ९, श्रम संस्कृति पार्टी र राप्रपाले ४/४ सिट प्राप्त गरेका छन्।
त्यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जित्दा कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। राप्रपा र स्वतन्त्र उम्मेदवारले एक/एक सिटमा विजय हासिल गरेका छन्।
संवैधानिक व्यवस्था अनुसार १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिक प्रणालीमार्फत गरी प्रतिनिधिसभामा कुल २७५ सदस्य रहने व्यवस्था रहेको छ।