निर्वाचन आयोगले राष्ट्रपतिलाई अन्तिम प्रतिवेदन आज बुझाउने
News Desk
Mar-19 तारिख 07:10 बिहान

काठमाडौँमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणामसहितको विस्तृत प्रतिवेदन निर्वाचन आयोगले आज बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। आयोगका अनुसार बिहान ११:३० बजे समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिसकेपछि दिउँसो प्रतिवेदन बुझाइने कार्यक्रम तय गरिएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिँदै प्रतिवेदन बुझाइसकेपछि साँझ ५:३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन आयोजना गरिने बताए। कान्तिपथस्थित बहादुर भवनमा समानुपातिक सांसदहरूलाई ‘क्लस्टर’ अनुसार प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको जनाइएको छ।

निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष बुझाइएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक प्रक्रिया अगाडि बढ्नेछ। यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ।

समानुपातिकतर्फ रास्वपाबाट ५७ सांसद निर्वाचित भएका छन् भने नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राप्रपाले ४/४ सिट प्राप्त गरेका छन्।

त्यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जित्दा कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन्। राप्रपा र स्वतन्त्र उम्मेदवारले एक/एक सिटमा विजय हासिल गरेका छन्।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभामा कुल २७५ सदस्य रहनेछन्, जसमा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ।

धेरै पढिएको