News Desk
काठमाडौं | हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि बाक्लो बदली रहेको छ। त्यस्तै, अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि मौसम बदली भएको छ भने कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी स्थानमा मौसम सामान्यतया सफा देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने अनुमान गरिएको छ।
आज राति पनि देशका अधिकांश भागमा बदली कायमै रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना महाशाखाले जनाएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै हिमपात तथा वर्षा हुने अनुमान गरिएका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, कृषक, तथा यात्रामा निस्कने र यातायात सञ्चालन गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।