News Desk
जुम्ला | प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय को अवलोकन गरेकी छिन्। मुगुको राराताल भ्रमण सम्पन्न गरी नेपाली सेनाको हेलिकप्टरमार्फत जुम्ला पुगेपछि उनले शिक्षालयको भौतिक पूर्वाधार र समग्र अवस्थाबारे जानकारी लिएकी हुन्।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेल का अनुसार प्रधानमन्त्रीले शिक्षालयका संरचना, सञ्चालन अवस्था तथा व्यवस्थापन पक्षबारे विस्तृत जानकारी लिएकी हुन्। अवलोकनका क्रममा शिक्षालयको वर्तमान अवस्था र सुधारका आवश्यकताबारे पनि छलफल गरिएको थियो।
त्यस्तै, प्रधानमन्त्री कार्कीको शुक्रबार बिहान चन्दननाथ मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ।
कर्णाली प्राविधिक शिक्षालयका निमित्त प्रमुख मुक्ति भण्डारी ले शिक्षालयमा देखिएका विभिन्न समस्या तथा चुनौतीहरू प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको जानकारी दिएका छन्।