News Desk
काठमाडौँ- काठमाडौँ मोडेल कलेजले बीबीए / बीबीएम आठौं सेमेस्टरका विद्यार्थीहरूका लागि दुई दिने “व्यवस्थापन सिमुलेसन” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “Simulate the Strategy, Master the Management” भन्ने मूल नारासहित सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक व्यवस्थापन सीप अभिवृद्धि गर्ने अवसर प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि त्रि वि . ब्यबस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे रहनुभएको थियो । उहाँले आफ्नो मन्तव्यमा व्यवस्थापन शिक्षालाई व्यवहारमा रूपान्तरण गर्न यस्ता सिमुलेसन कार्यक्रमहरूको महत्त्व उल्लेख गर्दै विद्यार्थीहरूलाई निर्णय क्षमता, नेतृत्व र रणनीतिक सोच विकासमा जोड दिन आग्रह गर्नुभयो। कार्यक्रममा कार्यकारी निर्देशक सह - प्रा. अजयप्रसाद ढकाल, कलेज प्रमुख सुरेन्द्र सुवेदी, बिबिए तथा बिबिएम कार्यक्रम प्रमुख सागर खरेल, एमबीएस कार्यक्रम प्रमुख नवीन कुमार पाण्डे, बिए तथा बिबिएस कार्यक्रम प्रमुख एलिस राजराजोपाध्याय, आठौ सत्रान्तमा आध्यापनरत सम्पूर्ण अध्यापकहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै कलेज प्रमुख सुरेन्द्र सुवेदीले अभ्यासमूलक कार्यक्रमहरूले शैक्षिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्ने विश्वास व्यक्त गर्दै काठमाडौं मोडेल कलेजले विद्यार्थीहरुको समग्र विकासमा ध्यान दिएको जानकारी गराउनुभयो । सिमुलेसन कार्यक्रमलाई सायन इनोभेसन्सका संस्थापक रोचक बोहोरा तथा सह-संस्थापक रेखा वाग्लेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले वास्तविक व्यवसायिक परिस्थितिको अनुकरण गर्दै रणनीति निर्माण, निर्णय लिने प्रक्रिया तथा टोलीगत कार्यसम्पादनका विविध पक्षहरूमा अभ्यास गरेका थिए। कार्यक्रमको पहिलो दिन कलेज परिसरमै आयोजना गरिएको थियो भने दोस्रो दिन होटेल काठमाडौं मेरियोटमा सम्पन्न भएको थियो। दोस्रो दिनका केस स्टडीहरू बिग मार्टसँग सम्बन्धित रहेकाले विद्यार्थीहरूले नेपाली बजारको वास्तविक व्यवसायिक परिवेशमा आधारित विश्लेषण र रणनीतिक निर्णय अभ्यास गर्ने अवसर पाएका थिए। बिग मार्टका मार्केटिङ प्रमुख पारस जंग कडेलले व्यवस्थापकीय ज्ञानलाई वास्तविक व्यवसायिक परिवेशमा रूपान्तरण गर्न कलेजले सञ्चालन गर्ने यस्ता अभ्यासमूलक कार्यक्रमहरू विद्यार्थीहरूको व्यावसायिक यात्रामा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो। यस प्रकारका अभ्यासमूलक कार्यक्रमहरूले विद्यार्थीहरूलाई भविष्यको पेशागत जीवनका लागि आवश्यक दक्षता र क्षमता विकास गर्न सहयोग पु-याउने उल्लेख गर्दै आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले कलेजले सञ्चालन गर्ने सम्पूर्ण शैक्षिक गतिविधिहरूलाई गुणस्तरीय, सान्दर्भिक तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउँदै विश्वबजारसँग प्रतिस्पर्धी बनाउने दिशामा निरन्तर सुधार र सुदृढीकरण गर्दै अघि बढाइएको जानकारी दिनुभयो । बिबिए तथा बिबिएम कार्यक्रम प्रमुख सागर खरेलले बिबिए तथा बिबिएममा अध्ययरत विद्यार्थीहरुको लागि कलेजको तर्फबाट पाठ्यक्रम एवं पाठ्यपुस्तकका अलावा बजारको आवश्यकतालाइ मध्यनजर गर्दै विभिन्न कार्यशाला तथा तालिमहरु संचालन गर्दै आइरहेको र यो त्यहि अनुरुपको निरन्तरता भएको जानकारी गराउनुभयो । विद्यार्थीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै बीबीएम आठौं सत्रान्तका विद्यार्थी बिगुल सापकोटाले कलेजले आयोजना गरेका यस्ता व्यवहारमुखी कार्यशालाहरूले आफूहरूलाई विश्वस्तरमा प्रतिस्पर्धी र सक्षम बन्न महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै कलेजप्रति हार्दिक आभार व्यक्त गरे । बीबीए तथा बीबीएम आठौँ सत्रान्तका सम्पूर्ण अध्यापहहरुलेहरूले सिमुलेसन कार्यक्रम अवधिभर मेन्टरको भूमिका निर्वाह गर्नुभएको थियो।
