News Desk
काठमाडौं , गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा यूएईबाट सक्रिय अभियन्ता रमेश श्रेष्ठ पुन निर्विरोध निर्वाचित भएका छन । उनको चयनसँगै मध्यपूर्वमा रहेका लाखौँ नेपाली श्रमिकको हकहित संरक्षण, सुरक्षा र सम्मानलाई केन्द्रमा राख्ने अपेक्षा थप बलियो बनेको छ।
लामो समयदेखि यूएईसहित मध्यपूर्व क्षेत्रमा व्यवसायिक तथा सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी, संयमित र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन । उनी जिसिडी ग्रुपका अध्यक्ष हुन । साधारण सदस्यबाट सुरु भएको उनको संगठनात्मक यात्रा एनसीसी यूएईको अध्यक्ष हुँदै मध्यपुर्व डिआरसि हुँदै अन्तर्राष्ट्रिय तहसम्म पुगेको छ, जसले उनलाई व्यवहारिक र जिम्मेवार नेतृत्वको रूपमा स्थापित गरेको छ।
निर्वाचनपछि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हक हितलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे । उनले हाल मध्यपुर्व द्वन्दबाट समस्यामा परेका कामदारको तत्काल उद्धार, राहत तथा सहयोगका लागि आपतकालीन राहत कोष (Emergency Fund) स्थापना गर्ने घोषणा गरेका छन । उक्त कोषमार्फत दुर्घटना, बिरामी, कानुनी जटिलता वा अन्य संकटमा परेका नेपालीलाई छिटो र प्रभावकारी सहायता उपलब्ध गराइनेछ।
त्यसैगरी, मध्यपूर्व क्षेत्रमा देखिएको संस्थागत विभाजन अन्त्य गर्दै हाल रहेका दुईवटा एनसीसी संरचनालाई एकीकृत गरी सुदृढ र प्रभावकारी संगठन निर्माण गर्ने उनको प्रमुख योजना रहेको छ । “एकता नै शक्ति हो” भन्ने मान्यताका साथ उनले मतभिन्नता भएका अभियन्ताहरूबीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्दै साझा लक्ष्यमा जोड्ने पहल गर्ने बताएका छन ।
मध्यपूर्वका विभिन्न देशमा देखिएका द्वन्द्व र अस्थिरताबाट प्रभावित नेपाली श्रमिकको सुरक्षालाई विशेष ध्यान दिँदै श्रेष्ठले उद्धार, राहत तथा पुनःस्थापनाका लागि समन्वयात्मक कार्ययोजना अघि बढाउने बताएका छन । दूतावास, स्थानीय निकाय तथा सम्बन्धित संघ–संस्थासँग सहकार्य गर्दै संकटमा परेका नेपालीको हितमा शिघ्र र प्रभावकारी कदम चालिने उनको भनाइ छ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको आम्दानीलाई सुरक्षित र उत्पादनमुखी लगानीतर्फ उन्मुख गराउने नीति पनि उनले अघि सारेका छन । श्रमिकमैत्री कार्यक्रममार्फत नेपालसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउँदै दीर्घकालीन लाभ सुनिश्चित गर्ने उनको लक्ष्य छ।
श्रेष्ठले भने, “मध्यपूर्वमा रहेका श्रमजीवी नेपालीको पीडा, अनुभव र अपेक्षालाई नजिकबाट बुझेर व्यवहारिक समाधान दिनु मेरो मुख्य जिम्मेवारी हो। संस्थाभित्रको एकता, श्रमिकको सुरक्षा र सम्मान सुनिश्चित गर्न म प्रतिबद्ध छु ।”
एनआरएनएको १२औँ एकता महाधिवेशनमार्फत निर्विरोध चयन भएका श्रेष्ठको नेतृत्वलाई मध्यपूर्वमा श्रमिक केन्द्रित नीति, संगठनात्मक एकता र प्रभावकारी कार्यान्वयनको नयाँ अध्यायको रूपमा हेरिएको छ । श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालमा नसकिएको कार्य यो कार्यकालमा गर्ने बताए ।