News Desk
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गत विभिन्न संसदीय समितिहरूमा रहने आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ । पार्टीले आन्तरिक छलफल तथा योग्यताका आधारमा विभिन्न विषयगत समितिहरूका लागि सांसदहरूको नाम छनोट गरेको जनाएको छ ।
रास्वपाले सार्वजनिक गरेको सूचीअनुसार कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटालाई प्रस्ताव गरिएको छ भने पूर्वाधार विकास समितिमा आशिष गजुरेललाई जिम्मेवारी दिइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाललाई उम्मेदवार बनाइएको छ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचनलाई प्रस्ताव गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका लागि सुम्निमा उदासको नाम तय गरिएको छ भने अर्थ समितिमा कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाइएको छ ।
संसदीय सुनुवाइ समितिका लागि बोधनारायण श्रेष्ठ तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्कीलाई प्रस्ताव गरिएको रास्वपाले जनाएको छ ।
सार्वजनिक लेखा समिति प्रतिपक्ष दलको भागमा परेकाले उक्त समितिमा भने रास्वपाले उम्मेदवार नतोकिएको स्पष्ट गरेको छ । साथै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका लागि नाम भने हालसम्म टुंगो लाग्न बाँकी रहेको जनाइएको छ ।
रास्वपाले संसदीय भूमिकालाई प्रभावकारी बनाउन दक्ष, सक्रिय र विषयगत ज्ञान भएका सांसदहरूलाई प्राथमिकता दिँदै समितिहरूमा प्रतिनिधित्व सुनिश्चित गरिएको जनाएको छ ।