News Desk
काठमाडौँ : नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। सोही क्रममा हालसम्म १ हजार २७२ वटा घरटहरा भत्काइएको प्रहरीले जनाएको छ।
शनिबारदेखि सुरु गरिएको यो अभियान निरन्तर जारी रहेको छ। प्रहरीले अझै ३७८ वटा घरटहरा हटाउन बाँकी रहेको जानकारी दिएको छ, जसले अभियान अझ केही दिन जारी रहने संकेत गरेको छ।
प्रहरीका अनुसार थापाथली, गैरीगाउँ–बानेश्वर, मनोहरा जडीबुटी (काठमाडौँ) तथा मनोहरा बस्ती (भक्तपुर) क्षेत्रमा गरी जम्मा १ हजार ६५० घरटहरा पहिचान गरिएको थियो।
थापाथली क्षेत्रमा मात्रै शनिबार १४३ वटा घरटहरा पूर्ण रूपमा हटाइएको छ। त्यहाँका ३४ परिवारका ११५ जनालाई कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा अस्थायी रूपमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
गैरीगाउँ–बानेश्वर क्षेत्रमा ५७८ घरटहरा मध्ये २१५ पक्की र ३६३ कच्ची घर थिए। तीमध्ये शनिबार ५६५ वटा भत्काइसकिएको छ भने अब १५ वटा पक्की घर हटाउन बाँकी रहेको छ।
मनोहरा जडीबुटी क्षेत्रमा आइतबार ११४ वटा घरटहरा पूर्ण रूपमा हटाइएको छ। यस क्षेत्रका करिब ५५० देखि ६०० जना मानिस प्रत्यक्ष रूपमा प्रभावित भएको अनुमान गरिएको छ।
त्यसैगरी भक्तपुरको मनोहरा बस्तीमा रहेका ८१५ घरटहरामध्ये ७७० पक्की र ४५ कच्ची संरचना थिए। तीमध्ये ४५० भन्दा बढी घरटहरा भत्काइसकिएको छ भने करिब ३६५ वटा अझै हटाउन बाँकी रहेको प्रहरीले जनाएको छ।