News Desk
गत शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। १२ गते शनिबार रोशी खोलामा आएको बाढीले बिगारेका डाइभर्सनहरू आइतबार अधिकांश स्थानमा निर्माण गरिए पनि सोही दिन साँझ परेको वर्षाले पुनः ती डाइभर्सन बगाएको हो। राजमार्गको चिउरीबास, नार्के र चारसय बेँसी क्षेत्रमा आइतबार बनाइएका डाइभर्सन फेरि बगाएका छन् ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार रोशी खोलाले बगाएका १३ स्थानमध्ये ८ स्थानमा डाइभर्सन निर्माण गरिएको थियो। तर आइतबार साँझको वर्षाले तीमध्ये धेरै स्थानमा पुनः क्षति पुर्याएको उनले जानकारी दिनुभयो । सोमबार बिहानदेखि पुनः डाइभर्सन निर्माण कार्य सुरु गरिएको उहाँको भनाइ छ।
शनिबार आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्ती क्षेत्रमा डाइभर्सन बगाएको थियो। साथै सिन्धुली खण्डको आँपघारी र नेपालथोकमा समेत क्षति पुगेको छ। प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आएपछि क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।