News Desk
प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० कार्यान्वयनमा आएपछि विसं २०८१ देखि हरेक वर्ष वैशाख २४ गते प्रदेश भाषा दिवस मनाउन सुरु गरेको थियो । उक्त ऐन २०८० कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।
ऐनको व्यवस्था अनुसार राजपत्रमा प्रकाशन भएको १८० दिनपछि कार्यान्वयनमा आउने प्रावधान रहेकाले २०८१ वैशाख २४ गतेदेखि ऐन लागू भएको मानिएको थियो । त्यसैको सम्झनामा पहिलो पटक प्रदेश भाषा दिवस मनाइएको वाग्मती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।
यस वर्षको दिवसका अवसरमा भक्तपुरमा विशेष र्याली आयोजना गरिएको छ । पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलका अनुसार बिहान दूधपाटीबाट सुरु हुने र्याली भक्तपुर दरबार क्षेत्र, दत्तात्रेय र कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीमा पुगेर समापन हुनेछ ।
र्यालीपछि लन्चा फल्चा भत्क्यापाटीमा मूल समारोह आयोजना गरी विविध सांस्कृतिक तथा भाषासम्बन्धी कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ ।
प्रदेश भाषा दिवसको अवसरमा वाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ।