जीवित व्यक्तिको नाममा झुठा मृत्यु दर्ता गर्ने वडाध्यक्षसहित ३ जना जेल चलान
News Desk
May-09 तारिख 06:08 बिहान

जीवित व्यक्तिको नाममा झुठा मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको घटनामा संलग्न रहेको आरोपमा नवलपरासी जिल्ला अदालतले वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ ।

घटना सुस्ता–५ रामनगरका ६६ वर्षीय जमालुद्दिन मुसलमानसँग सम्बन्धित हो । उनी जीवित हुँदाहुँदै उनको मृत्यु दर्ता गरिएपछि ‘झुठा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेको’ अभियोगमा अदालतमा मुद्दा दायर गरिएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालका अनुसार पुर्पक्षका लागि थुनामा पठाइएकामा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी तथा तारिख मिया रहेका छन् । उनीहरूमाथि झुठा विवरणका आधारमा मृत्यु दर्ताको प्रक्रिया अघि बढाएको आरोप लागेको छ ।

यस प्रकरणमा पक्राउ परेका इशानेसा मिया र छोटे खाँ भने जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । घटनामा संलग्न अन्य ६ जना अझै फरार रहेको जनाइएको छ । धरौटीमा छुटेका र फरार व्यक्तिहरू मुचुल्काका साक्षी रहेको बताइएको छ ।

कसरी खुल्यो घटना ?

थुनामा रहेका ३१ वर्षीय तारिख मियाका बाबु जमालुद्दिन अंसारीको २०६० जेठ ३० गते मृत्यु भएको थियो । तर बाबुको नामसँग मिल्ने स्थानीय जीवित व्यक्ति जमालुद्दिन मुसलमानलाई मृत घोषणा गर्दै वडा कार्यालयमा निवेदन दिइएको खुलेको छ ।

मुसलमान समुदायमा अंसारी, मिया, मुसलमानजस्ता थर प्रयोग हुने परम्पराको फाइदा उठाउँदै तारिखले जीवित व्यक्तिको नागरिकता र आफ्नो जन्मदर्ताको प्रतिलिपि संलग्न गरेर २०८२ कात्तिक २३ गते मृत्यु दर्ताका लागि निवेदन दिएका थिए । त्यसपछि सर्जिमनका आधारमा वडा सचिवले मंसिरमा मृत्यु दर्ता प्रमाणपत्र जारी गरेका थिए ।

पछि आफ्नै मृत्यु दर्ता भएको जानकारी पाएपछि जमालुद्दिन मुसलमानले प्रहरीमा उजुरी दिएपछि घटनाको वास्तविकता बाहिर आएको हो । अनुसन्धानका क्रममा तारिखका वास्तविक बाबुको नागरिकता नभएकाले आफ्नो नागरिकता बनाउन सजिलो होस् भन्ने उद्देश्यले उनले यस्तो कदम चालेको खुलासा भएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको