News Desk
कानून दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले न्यायाधीशहरूलाई निर्भीक र निष्पक्ष रूपमा न्याय सम्पादन गर्न आग्रह गरिन् । न्यायपालिकालाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम वा आज्ञाकारी संस्थाका रूपमा प्रयोग गर्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो ।
उनले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनमाथि हस्तक्षेप गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य कमजोर बनाउने चेतावनी दिइन् । विधिको शासनविरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिरोध गर्न सबै पक्षले साहस र प्रतिबद्धता देखाउनुपर्नेमा उनले जोड दिइन् ।
प्रधानन्यायाधीश मल्लले न्याय सम्पादनमा डर र प्रभावको कुनै स्थान नरहेको उल्लेख गर्दै दुई तिहाइ सरकारको दबाब होस् वा महाअभियोगको त्रास, न्यायाधीशहरूले त्यसबाट मुक्त भएर काम गर्नुपर्ने बताइन् ।
उनले भनिन्, “डर र प्रभावमा रहेर निष्पक्ष न्याय सम्भव हुँदैन । त्यसैले सम्पूर्ण न्यायकर्मीहरू अदम्य साहसका साथ अघि बढ्नुपर्छ । विधिको हत्या गर्दै गरिने गतिविधिले अन्ततः निरंकुशता निम्त्याउने खतरा रहन्छ ।”